हुम्लास्थित नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर स्तम्भ भेटियो
हुम्लास्थित चिनियाँ सीमामा राखिएको ११ नम्बर स्तम्भ भेटिएको छ। सदुरमुकाम सिमकोटबाट लिमी उपत्यका पुगेका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीलगायत सुरक्षा अधिकारीको टोलीले सीमास्तम्भ फेला पारेको हो।
उक्त स्तम्भ नाम्खा गाउँपालिका वडा नम्बर ६, टाकुलेमा भेटिएको सुरक्षा अधिकारीलाई उद्धृत गर्दै नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले जानकारी दिए। तामाङका अनुसार ११ नम्बर सीमास्तम्भ सीमा प्रहरी चौकी, हिल्साभन्दा माथि करीब पाँचहजार २०० मिटर उचाइमा भेटिएको छ।
हुम्लाको नाम्खा गाउँपालिका–६ मा पर्ने लिमी उपत्यकाको लाप्चास्थित लोलुङजोङ क्षेत्रमा चीनले निर्माण गरेका भवन नेपाली भूमिमा रहेको चर्चा चलेपछि यो सीमास्तम्भको खोजी हुन थालेको थियो। सीमास्तम्भ भेटिएपछि अब चीनले भवन बनाएको क्षेत्र कता पर्छ भन्ने निक्र्योल गर्न सजिलो हुनेछ। परराष्ट्र मन्त्रालयले बुधबार साँझ विज्ञप्तिमार्फत् सो क्षेत्र चीनकै भएको जनाएको थियो।
यसअघि प्रजिअ गिरीले ११ नम्बर स्तम्भ फेला नपरेकाले लोलुङजोङमा भवन निर्मााण भएको क्षेत्र कता पर्छ भन्ने भन्ने टुंगो लाग्न नसकेको बताएका थिए। लोलुङजोङमा चिनियाँ अधिकारीसँगको वार्ता सफल नभएपछि प्रमुख जिल्ला अधिकारी गिरी नेतृत्वको टोली ट्याक्टरमा हिल्सा गएको थियो।
सीमास्तम्भ हराएपछि नेपाल र चीनबीच सिमानामा पटकपटक विवाद दोहोरिएपछि प्रजिअ गिरी सुरक्षा अधिकारीहरुको टोलीसहित खोजीमा गएका थिए। सीमास्तम्भ खोज्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीलाई दुई टोली बनाएर खटाइएको थियो।
अहिले सीमा प्रहरी चौकी हिल्सा पुगेका एक सुरक्षा अधिकारीले चारवटै निकायका सुरक्षाकर्मी, नाम्खा गाउँपालिकाका जनप्रतिनिधि र केही स्थानीयको प्रयासमा तीन दिनको खेजविनपछि हराएको सीमास्तम्भ फेला परेको बताए। उक्त स्तम्भ प्रहरी चौकी हिल्सादेखि सात घण्टाको पैदल दूरीमा पर्छ। “खोज्दै जाँदा टाकुले लेकको खोंचमा हिउँसँगै दबेर रहेको ढुंगाजस्तो देखियो”, ती सुरक्षा अधिकारीले भने, “नजिक गएर राम्रोसँग माटो र हिउँ पन्छाएर हेर्दा पो सीमास्तम्भ भएको पत्ता लाग्यो।”
२०१९ सालमा त्यहाँ सीमास्तम्भ राखिएपछि कसैले खोजी गरेको थिएन। नेपाल र चीनबीच कहिले सीमा विवाद नभएकाले पनि त्यसबारे चासो भएको थिएन। ५८ वर्षपछि पहिलो पटक यो सीमास्तम्भ फेला परेको खोजीमा संलग्न एक सुरक्षा अधिकृतले बताए।
यो पनि पढ्नुस्- के चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको हो ? यस्तो छ लिमी भ्यालीको कथा