हिरासतमा भइरहेका मृत्युबारे छानबिन गर्ने संसदीय समितिको निर्णय
प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिले हिरासतमा भएका मृत्युका घटनाबारे अध्ययन गर्ने भएको छ। समितिको बिहीबारको बैठकले हिरासतमा मृत्यु भएका घटनाको अध्ययन गर्न उपसमिति गठन गर्ने निर्णय गरेको समिति सदस्य लालबहादुर थापाले बताए।
पाँच सदस्यीय अध्ययन समितिमा सदस्यको नाम भने पछि टुङ्गो लगाइने उनले जानकारी दिए। उपसमितिले पछिल्लोपटक मृत्यु भएका सर्लाही, रौतहट, कैलाली लगायत जिल्लाका प्रहरी हिरासतको अवलोकन पनि गर्नेछ।
पछिल्लो समय तराईका जिल्लामा हिरासतमा मृत्युका घटना बढिरहेका छन्। रौतहटमा प्रहरी यातनाबाट मारिएका व्यक्तिको घटना सेलाउन नपाउँदै कैलालीमा अर्का एक थुनुवाले आत्महत्या गरेपछि त्यहाँ अहिले आन्दोलन चर्किएको छ।