दाहाललाई बैठक सञ्चालनको जिम्मा दिएर बैठकस्थलबाट निस्किए ओली
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा जारी नेकपाको स्थायी कमिटी बैठकस्थलबाट बाहिरिएका छन्। करीब २० मिनेट बैठकमा बसेका ओली अर्का अध्यक्ष पुष्पकमल दाहाललाई बैठक सञ्चालनको जिम्मा दिएर हलबाट निस्किएका बैठकमा सहभागी एक नेताले बताए।
गएको १३ साउनदेखि अनिश्चित बनेको स्थायी कमिटी बैठक आज बसेको हो। बैठक अहिले दाहालको अध्यक्षतामा चलिरहेको छ। बैठकमा विवाद समाधान सुझाव कार्यदलले बुझाएको प्रतिवेदन परिमार्जनसहित पेश गर्ने तयारी छ। महासचिव बिष्णुप्रसाद पौडेल संयोजकत्वको कार्यदलले गएको ६ भदौमा १६ पृष्ठ लामो पार्टी विवाद समाधानको प्रस्ताव पेश गरेको थियो।
प्रस्ताव प्रतिवेदनलाई दुई अध्यक्ष ओली र दाहालले परिमार्जन गरी १५ पृष्ठमा झारेका छन् भने दुई अध्यक्षको भूमिका थप प्रष्ट पारिएको छ। पाँच वर्ष ओली प्रधानमन्त्री र दाहाल मुलतः कार्यकारी अध्यक्ष भन्ने कार्यदलको प्रस्ताव परिमार्जन गर्दै मुलतः शब्द हटाइएको छ।
१० असारदेखि १६ असारसम्म चलेर बस्न नसकेको स्थायी कमिटी बैठक आजै टुंग्याउने तयारी छ। बैठक छोट्याउनकै लागि दुई अध्यक्षले परिमार्जन गरेको प्रतिवेदनमाथि हिजो साँझ ५ बजेसम्म स्थायी कमिटीका सदस्यहरुको सुझाव मागिएको थियो।
“बैठकमा प्रतिवेदन पेश नहुने संभावना छ, किनभने हिजो साँझसम्म नै सुझाव मागिसकिएको छ”, एक स्थायी कमिटी सदस्यले भने। उनका अनुसार, प्रतिवेदनमाथि बोल्न चाहने स्थायी कमिटी सदस्यलाई समय दिएर बैठक आजै टुंग्याउने सम्भावना छ।
स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र अध्यक्षबाट ओलीको राजीनामा मागिएपछि नेकपा विभाजनकै नजिक पुगेको थियो। तर, ओली, दाहाल र अर्का खेमाका नेता माधवकुमार नेपाल पक्षबाट दुई–दुुई जना संलग्न कार्यदल गठन गरी पार्टी विवाद समाधानको प्रयास गरिएको छ।