नेकपा स्थायी कमिटी बैठक एकै दिनमा टुंग्याउने अध्यक्षद्वयकाे तयारी
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ। बैठक अहिले एघार बजे बोलाइएको छ।
गएको १३ साउनदेखि अनिश्चित बनेको स्थायी कमिटी बैठक आज बोलाइएको हो। बैठकमा विवाद समाधान सुझाव कार्यदलले बुझाएको प्रतिवेदन परिमार्जन सहित पेश गर्ने तयारी छ। महासचिव बिष्णुप्रसाद पौडेल संयोजकत्वको कार्यदलले गएको ६ भदौमा १६ पृष्ठ लामो पार्टी विवाद समाधानको प्रस्ताव पेश गरेको थियो।
उक्त प्रस्ताव प्रतिवेदनलाई दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले परिमार्जन गरी १५ पृष्ठमा झारेका छन् भने दुई अध्यक्षको भूमिका थप प्रष्ट पारिएको छ। पाँच वर्ष ओली प्रधानमन्त्री र दाहाल मुलतः कार्यकारी अध्यक्ष भन्ने कार्यदलको प्रस्ताव परिमार्जन गर्दै मुलतः शब्द हटाइएको छ।
१० असारदेखि १६ असारसम्म चलेर बस्न नसकेको स्थायी कमिटी बैठक आजै टुंग्याउने तयारी दुई अध्यक्षले गरेका छन्। बैठक छोट्याउनकै लागि दुई अध्यक्षले परिमार्जन गरेको प्रतिवेदनमाथि हिजो साँझ ५ बजेसम्म स्थायी कमिटीका सदस्यहरुको सुझाव मागिएको थियो। “बैठकमा प्रतिवेदन पेश नहुने संभावना छ, किनभने हिजो साँझसम्म नै सुझाव मागिसकिएको छ”, एक स्थायी कमिटी सदस्यले भने। उनका अनुसार, प्रतिवेदनमाथि बोल्न चाहने स्थायी कमिटी सदस्यलाई समय दिएर बैठक आजै टुंग्याउने संभावना छ।
“बैठक शुरु भएपछि परिस्थिति कस्तो हुन्छ, त्यसैबाट बैठक कति चल्ने भन्ने निर्धारण हुन्छ”, उच्च स्रोतले भन्यो। स्थायी कमिटीका नेताहरुले बोल्ने क्रम लम्बिए भोलिसम्म बैठक चल्ने संभावना छ।
तर, दुई अध्यक्षबीच सहमति जुटेकाले त्यसलाई अनुमोदन गराउनेगरी मात्रै बैठक चलाउने तयारी गरिएको स्रोतले बतायो। ओलीले सरकार चलाउने र दाहालले पार्टी महाधिवेशनको तयारी थाल्नेगरी बैठक सक्ने तयारी अनुरुप नै प्रतिवेदन अध्ययनका लागि स्थायी कमिटी सदस्यहरुलाई पठाइएको बताइएको छ।
स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र अध्यक्षबाट ओलीको राजीनामा मागिएपछि नेकपा विभाजनकै नजिक पुगेको थियो। तर, ओली, दाहाल र अर्का खेमाका नेता माधवकुमार नेपाल पक्षबाट दुई–दुुई जना संलग्न कार्यदल गठन गरी पार्टी विवाद समाधानको प्रयास गरिएको छ।
दुई अध्यक्षले परिमार्जन गरेकाे प्रतिवेदनकाे पूर्णपाठ