एसिड आक्रमणका पीडित भन्छन्– जलनको पीडा जीवनभर हुन्छ, पीडकलाई किन कम सजाय ?
पीडितको जीवनको गतिलाई नै मोडिदिने एसिड आक्रमणलाई विद्यमान कानूनले यति ठूलो अपराधको रूपमा नचिनेको भन्दै पीडित, उनीहरूका परिवार र अभियन्ताहरू यस्ता घटना न्यूनीकरणका लागि एसिड बिक्री–वितरणमा कडाइदेखि पीडकलाई दण्ड सजाय दिने कडा कानून बनाउनुपर्ने बताउँछन्।
९ वैशाख २०७० मा हेटौंडाकी विन्दवासिनी कंसाकार (२०) माथि एसिड आक्रमण भयो। त्यसयताको साढे सात वर्षमा उनले त्यो घटना बिर्सन चाहे पनि समाजले गर्ने फरक व्यवहारका कारण हीनताबोधमा बाँच्नुपरेको छ। घटनापछि मनभित्र हुने जलनको पीडा छोपेर नयाँ जीवन शुरू गर्न ठूलै हिम्मत जुटाउनुपरेको उनको अनुभव छ।
समाजले कोरेको सुन्दरताको मानक अनुहार नै एसिडले बिग्रिंदा पीडितले सामाजिक तिरस्कार र मानसिक पीडा भोग्नुपर्छ। एसिडले अनुहार बिग्रिएकै आधारमा विन्दवासिनीको व्यक्तिगत चाहना र आकांक्षा नै खुम्चिन पुग्यो। घटना हुँदा १२ कक्षामा पढिरहेकी उनले दुई वर्षपछि जसोतसो हिम्मत बटुलेर पढाइ अगाडि बढाइन्। बीबीएस पढ्दै गर्दा उनले ब्यांकहरूमा इन्टर्नसिप गर्न खोजिन्। तर, अनुहारकै कारण उनले त्यस्तो अवसरबाट वञ्चित हुनुपर्यो। “भेट्न बोलाएपछि गएर कुरा गर्दा पछि फोन गर्छौं भन्थे, तर फोन नै आउँदैनथ्यो”, उनले सुनाइन्, “जागिरको खोजीमा सामाजिक संघसंस्थाहरुमा पनि गएँ, तर अहिलेसम्म पाएको छैन।”
घटनाको ६ वर्षपछि विन्दवासिनीमाथि एसिड प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरी (३८) र उनलाई मोटरसाइकलमा भाग्न सघाउने धनुषाका संजयकुमार मण्डल पक्राउ परे। ज्यान मार्ने उद्योगको मुद्दामा अदालतले १५ फागुन २०७६ मा फैसला गर्दै दिलीपलाई आठ वर्ष कैद र संजयलाई साढे दुई वर्ष कैद सजाय सुनाएको छ।
मकवानपुर जिल्ला अदालतका न्यायाधीश कमलराज विष्टले गरेको फैसलामा पीडित कंसाकारको उपचारमा मुद्दा दायर हुँदासम्म उपचार खर्चमा लागेको एक करोड १४ लाख ८५ हजार दिलीपबाट क्षतिपूर्ति स्वरूप भराउनुपर्ने पनि उल्लेख छ। पीडकबाट भराउन नसकिए नेपाल सरकारले ‘पीडित क्षतिपूर्ति राहत कोष’ बाट उचित रकम दिने पहल गर्न आदेशमा भनिएको छ।
“काम गर्ने बुवा मेरो लागि औषधि उपचार र अस्पताल–घर गर्नुपरेको छ, भाइबहिनीको पढाइ लथालिंग छ। म ९ कक्षामा पढ्थें, त्यसपछि पढ्न पाएको छैन। कहिले एकजनाले सहयोग गर्नुहुन्छ, कहिले अर्कोले। यसरी कहिलेसम्म हात थाप्नु ?” - मुस्कान खातुन, एसिड आक्रमणकी पीडित
विन्दवासिनीको उपचार भारतको अस्पतालमा गरिंदै आएको छ। उनका बुवा मधुसुदन कंसाकारले महँगो उपचार खर्च धान्न गाह्रो भएकाले घर धितो राखेर ब्यांकबाट ऋण लिएको र जग्गा समेत बेच्नुपरेको बताए। डाक्टरले तीन वा ६ महीनाको अन्तरालमा बोलाउने गरेको र साढे सात वर्षमा डेढ करोड खर्च भइसकेको उनको भनाइ छ।
वीरगञ्जकी मुस्कान खातुनको पनि २० भदौ २०७६ मा भएको एसिड आक्रमणबाट दायाँ गालादेखि कान र घाँटीको भागसम्म जलेको छ। एक वर्ष अघि उनलाई मन पराएको भन्ने दुई जनाले उनीमाथि एसिड खन्याएका थिए।
९७ दिन अस्पताल बसेर डिस्चार्ज भए पनि उपचार नसकिएको र हालसम्म रु.३० लाख जति लागेको उनी बताउँछिन्। यद्यपि उनलाई वीरगञ्ज महानगरपालिका, प्रदेश सरकार र संघीय सरकारले गरी रु. ९ लाख आर्थिक सहयोग गरेकाले केही राहत मिलेको छ। तर, जीवनभरि गर्नुपर्ने उपचार, दैनिक चाहिने महँगा औषधि, हेरविचारका लागि परिवारै काठमाडौं बस्नुपरेको अवस्थामा सहयोगले थेग्न सक्ने देखिंदैन।
मुस्कान भन्छिन्, “काम गर्ने बुवा मेरो लागि औषधि उपचार र अस्पताल–घर गर्नुपरेको छ, भाइबहिनीको पढाइ लथालिंग छ। म ९ कक्षामा पढ्थें, त्यसपछि पढ्न पाएको छैन। कहिले एकजनाले सहयोग गर्नुहुन्छ, कहिले अर्कोले। तर यसरी अरुसँग कहिलेसम्म हात थाप्नु ?”
उनी यस्ता घटना गर्नेलाई कडा सजायको व्यवस्था गर्नुपर्ने पनि बताउँछिन्। उनलाई एसिड प्रहार गर्ने घटनाका दुई अभियुक्तमध्ये एकलाई नाबालक रहेको भन्दै गत वर्षको चैतमा साधारण तारेखमा रिहा गरिएको थियो।
दुई वर्षअघि काठमाडौंमा श्रीमान्बाटै एसिड आक्रमणमा परेकी जेनी खड्काको अवस्था पनि उस्तै छ। दाहिनेतर्फ घाँटी र तल जीउसम्म जलेकाले छाला तन्किएर दुख्छ। नियमित अपरेशन गर्नुपर्ने भए पनि कोरोना संक्रमण महामारीका कारण ढिलाइ हुँदा घाँटी सीधा गर्न गाह्रो हुने गरेको उनी बताउँछिन्।
एक गैरसरकारी संस्थाको प्रोजेक्टमा काम गर्दै आएकी उनको काम बन्दाबन्दीकै कारण रोकिएको छ, तलब आउन बन्दा हुँदा दैनिक ४/५ पटक लगाउनुपर्ने मलम किन्न नसकेको उनको गुनासो छ। “एउटै मल्हमको नौ सय रुपैयाँ पर्छ। दुईखाले मलम एकै पटक चाहिने भए पनि काम बन्द भएपछि किन्न नसक्दा घाउ तन्किएर दुख्ने गरेको छ”, उनी भन्छिन्, “अपरेशन गर्ने वेला पनि भएको हो, तर बन्दाबन्दी र पैसा दुवैले रोकेको छ।”
मानसिक पीडा, कठिन पुन:स्थापना
सामान्यतया एसिड आक्रमणका अधिकांश घटनामा प्रेम र यौन प्रस्ताव अस्वीकार हुँदा तथा सम्बन्धमा खटपट आएपछि रिसइबी र बदलास्वरूप किशोरी र महिलालाई ‘कुरुप’ बनाइदिने नियतले आक्रमण हुने गरेको छ। महिला मात्रै होइन, पुरुषमाथि पनि एसिड आक्रमण हुने गरेका छन्।
दुई वर्षअघि काठमाडौंमा श्रीमान्बाटै एसिड आक्रमणमा परेकी जेनी खड्का बन्दाबन्दीकै कारण काम रोकिएर तलब आउन बन्दा हुँदा दैनिक ४/५ पटक लगाउनुपर्ने मलम किन्न नसकेको बताउँछिन्।
६ वर्षदेखि एसिड आक्रमणका पीडितहरुलाई सहयोग गर्दै आएका सामाजिक अभियन्ता उज्ज्वल विक्रम थापा पछिल्लो समय श्रीमतीले श्रीमान्लाई र केटा साथीहरूबीचको विवादमा पनि एसिड छ्याप्ने घटना देखिएको बताउँछन्।
श्रीमतीले एसिड छ्यापेर घाइते भएका नुवाकोटको रामराजा थापा (२६) त्यस्तै एक पात्र हुन्। ६ वर्षअघि प्रेम विवाह गरेका उनी काठमाडौंको तारकेश्वर नगरपालिका–४ मा हाँसीखुशी नै बस्दै आएका थिए। माइक्रोबस चलाएर गुजारा चलाउने गरेका उनलाई सीट बुक गर्न पुरुष र महिला सबैको फोन आउँथ्यो। महिलाको फोन आउँदा शंका गर्ने श्रीमतीको बानी भए पनि कुनै विषयमा ठूलो झगडा परेको उनलाई याद छैन।
२६ फागुन २०७६ को राति भने रामराजाले कल्पना नै नगरेको घटना भयो। तीन महीने छोरासहित सँगै सुतेकी श्रीमतीले मध्यराति अनुहारमा एसिड खन्याइदिएको उनी सुनाउँछन्। “राति सुत्ने वेला झ्याल–ढोकाको चुकुल मैले नै लगाएको थिएँ, बाहिरबाट अरु कोही आउने संभावना नै छैन, श्रीमतीले नै ‘कुरुप’ बनाई”, उनी भन्छन्। श्रीमतीलाई राति नै प्रहरीले लगेको भोलिपल्ट आफूले थाहा पाएको उनी बताउँछन्।
करीब पाँच महीना महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराएका उनी कोरोना संक्रमण महामारीका कारण एक महीनाअघि डिस्चार्ज भए। त्यसयता दाइसँग बसिरहेका उनको उपचारमा ९/१० लाख रुपैयाँ खर्च भइसकेको छ। केही संघसंस्थाले आर्थिक सहयोग गरे पनि सरकारबाट कुनै सहयोग नपाएको उनको भनाइ छ। कोरोना महामारी र आर्थिक समस्याले आफ्नो नियमित उपचार पछाडि धकेलिंदै जाने उनको चिन्ता छ।
अब उनलाई कसरी गुजारा चलाउने भन्ने पिरलो छुट्टै छ। भविष्य कहालीलाग्दो हुने सोच्दै उनी भन्छन्, “यस्तो अनुहार छ, कसले काम देला? लामो यात्राको गाडी चाँडै चलाउन सक्दिनँ होला।”
"एसिड आक्रमणका पीडितहरुले जीवनभरि गर्नुपर्ने महँगो उपचार, कहिल्यै नहराउने दाग, त्यो घाउको खाटामा घाम परे असह्य पोल्ने व्यथा त छँदैछ, समाजमा छिछि र दूरदूरका कारण त्योभन्दा कैयौं गुणा बढी मानसिक सन्ताप भोग्नुपर्दा जीवनको हरेक पलमा क्षति पुर्याउँछ" - उज्ज्वल विक्रम थापा, अभियन्ता
एसिड आक्रमणमै परेकी ओखलढुंगाकी पवित्रा कार्की तीन महीनादेखि कीर्तिपुर अस्पतालमा उपचाररत छिन्। पवित्राकी दिदी सम्झनाले बहिनी आफैं उठ्ने र हिंड्न सक्ने भएको तर पोलेको घाउको चाँडै उपचार नसकिने समस्या बताइन्।
यस्ता घटनाका पीडितहरुले जीवनभरि गर्नुपर्ने महँगो उपचार, कहिल्यै नहराउने दाग, त्यो घाउको खाटामा घाम परे असह्य पोल्ने व्यथा त छँदैछ, समाजमा छिछि र दूरदूरका कारण त्योभन्दा कैयौं गुणा बढी मानसिक सन्ताप भोग्नुपर्दा जीवनको हरेक पलमा क्षति पुर्याउने अभियन्ता थापा बताउँछन्।
कीर्तिपुर अस्पतालमा एसिड पीडित तथा जलेकाहरुको उपचार गर्दै आएका सिनियर प्लास्टिक तथा कस्मेटिक सर्जन डा. सुरेन्द्र बस्नेत जलेपछिको उपचार विश्वमै महँगो पर्ने बताउँछन्। उक्त अस्पतालमा एसिड आक्रमणका पीडितको निःशुल्क शल्यक्रिया हुने भए पनि दैनिक प्रयोग गर्नुपर्ने औषधि महँगो हुने उनको भनाइ छ। “यो एक व्यक्तिको लागि जीवनभरिको पीडा हुने कुरा हो, यसै कारण सबै पक्षले यस्ता घटना रोकथाममै विशेष ध्यान दिनुपर्छ”, उनको सुझाव छ।
एसिड पीडितको उपचारपछि समाजमा पुनःस्थापना पनि चुनौतीपूर्ण रहेको डा. बस्नेत बताउँछन्। “पीडितहरु घर फर्किनै डराउनुहुन्छ। फेरि त्यो ठाउँमा गएर कसरी बस्ने भन्ने डर र तनावका कारण कतिपयलाई डिस्चार्ज गर्नुपर्ने समय भइसक्दा पनि पठाउन सकेका हुँदैनौं”, उनी भन्छन्।
जलेका तथा एसिड आक्रमणमा परेकाहरुका लागि काम गर्दै आएको गैरसरकारी संस्था बर्न भिक्टिम सर्भाइभर नेपालका अनुसार, सन् २०१० देखि २०२० सम्म एसिड आक्रमणका ३२ वटा घटना भएका छन्।
“एसिड आक्रमणका पीडितहरु उपचारपछि घर फर्किनै डराउनुहुन्छ। फेरि त्यो ठाउँमा गएर कसरी बस्ने भन्ने डर र तनावका कारण कतिपयलाई डिस्चार्ज गर्नुपर्ने समय भइसक्दा पनि पठाउन सकेका हुँदैनौं” - डा. सुरेन्द्र बस्नेत, सिनियर प्लास्टिक तथा कस्मेटिक सर्जन, कीर्तिपुर अस्पताल
सर्वोच्चको आदेश भएन कार्यान्वयन
सर्वोच्च अदालतले एसिड आक्रमणको पीडितको मुद्दामा विभिन्न आदेश दिए पनि कार्यान्वयन भएको छैन। श्रीमान्बाट एसिड प्रहार गरिएकी सबिना खातुनको मुद्दामा सर्वोच्च अदालतले २०६६ सालमा दिएको आदेशमा महिलालाई एसिड खन्याई कुरुप पार्ने जस्ता गम्भीर घरेलु हिंसामा वर्तमान कानूनी व्यवस्था अपुरो र अपर्याप्त भएकाले घरेलु हिंसाको अपराधको परिभाषा व्यापक बनाउन भनेको थियो।
त्यस्तै, राज्यले महिला पीडित भएका फौजदारी मुद्दा तथा खासगरी घरेलु हिंसाबाट पीडितको मुद्दा छिटै किनारा लगाउने छुट्टै ‘फास्ट ट्रयाक कोर्ट’ गठन गर्नेतर्फ पहल गर्न पनि सर्वोच्चले सरकारलाई निर्देशनात्मक आदेश दिएको थियो। तर, अहिलेसम्म फास्ट ट्रयाक कोर्ट गठन भएको छैन।
यस्तै, २०७४ सालमा सर्वोच्च अदालतले एसिडको बेचबिखनलाई नियमन गर्न तथा एसिड आक्रमण गर्नेलाई कारबाही गर्ने कानून बनाउन आदेश दिएको थियो। जुरी नेपालको तर्फबाट अधिवक्ता शशी बस्नेत लगायतले हालेको रिटमा सर्वोच्चले पाँच वटा बुँदामा आदेश दिएको थियो। जसमा एसिड आक्रमण पीडितको निःशुल्क आकस्मिक उपचार गर्ने, प्रतिवादीबाट भराउने रकमभन्दा बढी खर्च उपचारमा लागेमा सरकारले व्यवस्था गर्न, एसिडको उत्पादन, ओसारपसार, बिक्री–वितरणमा नियमन गर्न, एसिड आक्रमणलाई अपराध घोषित गर्न, विपन्न एसिड आक्रमणबाट पीडित भएमा सम्पूर्ण उपचार तथा पुनःस्थापना र एसिडको दुरुपयोगबाट हुने खतराबारे सचेतनामूलक कार्यक्रम गर्न भनिएको थियो।
“एसिड बिक्री–वितरणमा कडाइ र घटना भइहाले पीडितलाई निःशुल्क क्षतिपूर्ति गर्ने कुरा कार्यान्वयन नगर्दा पीडितहरुले उपचार पनि नगरी बस्नुपरेको छ। कतिले संघसंस्था र व्यक्तिसँग सहयोग माग्दै हिंड्नुपरेको अवस्था छ।” - शशी बस्नेत, अधिवक्ता
तर, यी आदेश पालना नहुँदा बजारमा सहजै एसिड पाइने र एसिड आक्रमणका घटना भइरहेको अधिवक्ता बस्नेत बताउँछिन्। उनी भन्छिन्, “एसिड बिक्री–वितरणमा कडाइ र घटना भइहाले पीडितलाई निःशुल्क क्षतिपूर्ति गर्ने कुरा कार्यान्वयन नगर्दा पीडितहरुले उपचार पनि नगरी बस्नुपरेको छ। कतिले संघसंस्था र व्यक्तिसँग सहयोग माग्दै हिंड्नुपरेको अवस्था छ।”
एसिड पीडित, तिनका परिवार र सामाजिक अभियन्ताहरुले एसिड आक्रमण गर्नेलाई विद्यमान कानूनले न्यून सजाय तोकेको भन्दै आजीवन कैद हुनुपर्ने गरी कानून संशोधन गर्नुपर्ने माग गर्दै आएका छन्। १ भदौ २०७५ देखि कार्यान्वयमा आएको मुलुकी अपराध संहिता २०७४ अनुसार एसिड हानेर ज्यान गएमा कर्तव्य ज्यान मुद्दा लाग्ने व्यवस्था भए पनि एसिड आक्रमण गरेर घाइते वा अंगभंग भएमा ५ देखि ८ वर्षसम्मको मात्रै कैद सजायको व्यवस्था छ।
संसदीय समितिको निर्देशन– ‘कानून संशाेधन गर’
प्रतिनिधि सभाको महिला तथा सामाजिक समिति र कानून, न्याय तथा मानवअधिकार समितिले एसिड आक्रमण गर्नेहरूलाई दण्ड सजाय बढाउन निर्देशन दिएको छ। गत ११ साउनमा दुवै समितिका आआफ्नै बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह र महिला मन्त्रालयका प्रतिनिधि हालको दण्ड सजाय कम भएकाले तत्काल कानून संशोधनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो।
ती समितिले एसिड आक्रमणका घटना आवेशमा आएर नभई योजनाबद्ध, प्रतिशोधपूर्ण र सुनियोजित हुने भएकाले त्यसै बमोजिमको दण्ड, सजाय र क्षतिपूर्ति हुने गरी कानून बनाउनुपर्ने निष्कर्ष निकाल्दै कानून संशोधन विधेयक ल्याउन भनेका छन्।
प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिकी सभापति निरुदेवी पालले दिइएका निर्देशन अनुसारको काम तत्काल थाल्न र दुई महीनाभित्र प्रगति विवरण बुझाउन भनिए पनि डेढ महीना हुन लाग्दा समेत कुनै पनि मन्त्रालयबाट केही पनि नआएको बताइन्।
त्यस्तै, समितिहरूले पीडितहरुको निःशुल्क उपचार, फास्ट ट्रयाकबाट मुद्दाको फैसला र उनीहरुको रोजगारीे सुनिश्चित गर्ने व्यवस्था मिलाउन पनि सम्बन्धित मन्त्रालयलाई भनेको छ। मानवअधिकार समितिले गृह मन्त्रालयलाई रासायनिक पदार्थको आयात, ओसारपसार, सञ्चय र प्रयोग सम्बन्धी इजाजत प्रदान गर्ने कार्यविधि २०७३ लाई पनि तीन महीनाभित्र संशोधन गर्न निर्देशन दिएको छ।
महिला समितिकी सभापति निरुदेवी पालले दिइएका निर्देशन अनुसारको काम तत्काल थाल्न र दुई महीनाभित्र प्रगति विवरण बुझाउन भनिए पनि डेढ महीना हुन लाग्दा समेत कुनै पनि मन्त्रालयबाट केही पनि नआएको बताइन्।
एसिड आक्रमणको घटनाप्रति महान्यायाधिवक्ताको कार्यालयले पनि चासो देखाएको छ। १५ साउनमा एसिड लगायत रासायनिक वस्तुको नियमन र नियन्त्रण गर्ने विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले नायब महान्यायाधिवक्ता विश्वराज कोइरालाको संयोजकत्वमा एक समिति गठन गरेका थिए। जुन समितिले यही साताभित्र प्रतिवेदन बुझाउने गरी अन्तिम तयारी गरिरहेको कोइरालाले बताए।
यसैबीच, एसिड आक्रमणका पीडितहरुसँग प्रधानमन्त्री केपी शर्मा ओलीले २५ भदौमा सामूहिक भेट तथा अन्तर्क्रिया गरेका छन्। बालुवाटारमा भएको अन्तर्क्रियामा प्रधानमन्त्रीले एसिड आक्रमण जस्तो जघन्य अपराधमा संलग्नलाई कारबाही गर्ने कमजोर कानून भएको भन्दै १५ दिनभित्र कानूनको मस्यौदा ल्याउने प्रतिबद्धता व्यक्त गरे।
‘जीवन बर्बाद पार्ने घटनामा शारीरिक चोट हेरेर सजाय दिने कानून फेर्नुपर्छ’
उज्ज्वल विक्रम थापा, अभियन्ता
एसिड आक्रमण जस्तो जीवन नै बर्बाद पार्ने जघन्य अपराधलाई कानूनमा शारीरिक चोटमा गन्ती गरियो। राज्यको सबैभन्दा ठूलो गल्ती त्यही हो। किनकि यो घटनाले दिने मानसिक चोट र सामाजिक बहिष्कारको पीडा त्यो शारीरिक चोटभन्दा कैयौं गुणा बढी र जिन्दगीभरि रहन्छ।
म तीन छोरीको बुबा हो। ६ वर्षअघि संगीता थापामगर र सीमा बस्नेतमाथि काठमाडौंमा एसिड छ्यापिएको घटनाले मेरो मन भत्भती पोल्यो। मेरा लागि दुवै अपरिचित थिए, तर उनीहरुको अनुहार देख्दा त्यो पीडाबाट म बाहिर निस्किनै सकिँन। मलाई देख्दा त त्यस्तो भयो भने भोगेको मान्छेलाई कस्तो होला? त्यो पीडाबाट सामान्य अवस्थामा फर्कन गाह्रो भएपछि मैले दुवैलाई सहयोग गर्न थालें। यस्ता घटना पनि बढ्दै गए, र म निरन्तर यही अभियानमा छु। पछिल्लो समय मुस्कान खातुनको उपचार र सरसहयोगमा जुटियो।
हामी धेरैले उठाउँदै आएको पहिलो कुरा एसिड बिक्री–वितरणमा कडाइको कुरा हो। त्यसपछि पीडितहरुको स्वास्थ्य उपचार सरकारले गर्ने, मुद्दाको टुंगो फास्ट ट्रयाक कोर्टबाट लगाउने, कसैको जीवन नै बर्बाद पार्ने पीडकलाई आजीवन कैद गर्ने व्यवस्था गर्नुपर्छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग पीडितहरूसहित भेटेका छौं। अब केही होला कि भन्ने विश्वास छ।