हिरासतमा बन्दीको मृत्युः रौतहटका तत्कालीन एसपी र डीएसपीसहित ६ प्रहरीविरुद्ध उजुरी दर्ता
प्रहरीको यातनाका कारण रौतहटमा मृत्यु भएका विजयरामका परिवारले प्रहरीविरूद्ध जिल्ला सरकारी वकीलको कार्यालयमा उजुरी दर्ता गराएका छन्।
रौतहटको गरुडा नगरपालिका ८ जिंगडियाका १९ वर्षीय विजय रामको प्रहरी यातनाबाट मृत्यु भएको भन्दै त्यसमा संलग्न प्रहरीविरूद्ध उजुरी दर्ता गराउन विजयका परिवार आन्दोलनरत थिए।
यो प्रकरणमा रौतहटका तत्कालीन प्रहरी प्रमुख, एसपी रविराज खड्का र इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोसहित ६ जना प्रहरीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय रौतहटमा आज उजुरी दर्ता भएको हो। ३१ साउन राति गरुडा ८ जिंगडियाका २० वर्षीय निरन्जन रामको घाटी रेटेर हत्या भएको थियो।
उनको हत्याको आरोपमा अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गरुडाले ७ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये १९ वर्षीय विजय रामको प्रहरी हिरासतमै उपचारको क्रममा ११ भदौमा मृत्यु भएको थियो । निरन्जन रामको हत्यामा संलग्न रहेको भनी स्वीकार गराउन प्रहरीले विजयलाई चरम यातना दिएको र प्रहरी यातनाकै कारण उनको मृत्यु भएको आरोप पीडित परिवारले लगाउँदै आएका थिए।
हिरासतमा यातना दिने काममा एसपी खड्का र डीएसपी महतो समेत संलग्न रहेको भन्दै मानवअधिकारकर्मीरूले उनीहरूलाई निलम्बन गरी अनुसन्धान गर्नुपर्ने माग राख्दै आएका थिए। प्रहरीले उजुरी नलिएपछि दैनिक आन्दोलन गर्दै आएका पीडितका परिवार र स्थानीयबासीले आज सरकारी वकील कार्यालयमा उजुरी दर्ता गराएका हुन्।
प्रहरी निरीक्षक नवीनकुमार सिंह, सई वीरेन्द्र यादव, हवलदार फिरोज मियाँ धुनियाँ र मुन्ना सिंह विरुद्ध पनि उजुरी दर्ता गराएको जिल्ला न्यायाधिवक्ता सुबासकुमार भट्टराईले जानकारी दिए।
जिल्ला सरकारी वकिलको कार्यालयले दर्ता गरेको उजुरी आवश्यक कारवाहीका लागि भन्दै रौतहट प्रहरीकोमा पठाएको छ। पत्र प्राप्त भएको तथा पत्रबमोजिम आवश्यक कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहले बताए।
विजयको मृत्युपछि आन्दोलन चर्किदैँ जाँदा तत्कालीन एसपी खड्कालाई प्रहरी प्रधान कार्यालयमा तानिएको छ। त्यस्तै इलाका प्रहरी कार्यालय गरुडाका तत्कालीन प्रमुख महतोलाई प्रदेश प्रहरी कार्यालय जनकपुरमा तानिएको छ।
प्रहरी निरीक्षक नवीनकुमार सिंह तथा हवलदारद्वय फिरोज मियाँ धुनियाँ र मुन्ना सिंहलाई एक महीनाका लागि निलम्बन गरिएको छ।