पदकमा गौरव, भत्तामा भेदभाव
राज्यले मुश्किलले प्रदान गर्ने सम्मान भत्ता पाउन स्वर्ण पदक विजेता खेलाडीहरू देशभित्रै बस्नुपर्ने विरोधाभासपूर्ण प्रावधानले खेलाडीको मात्र होइन प्राप्त पदकको समेत अपमान गरेको छ।
एशियाली खेलकुदमा रजत पदक (एकल) जित्ने एक मात्र खेलाडी सविता राजभण्डारी र काँस्य पदक विजेता उनका श्रीमान् किशोर श्रेष्ठ अहिले अमेरिकाको सियाटलमा बस्छन्। यी जोडीले आठौं दक्षिण एशियाली खेलकुद (साग) मा पनि सँगै स्वर्ण पदक जितेका हुन्।
नेपाली खेलकुदलाई सहयोग गर्न हुरुक्क हुने यो तेक्वान्दो जोडीको मन अहिले भने कुँडिएको छ। कारण हो– सरकारले विदेश बसिरहेका पदक विजेता खेलाडीहरूलाई गरेको विभेदकारी व्यवहार।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पाँच वर्षअघि साग गेम्समा स्वर्ण जित्ने, एशियाली खेलकुदमा पदक प्राप्त गर्ने र ओलम्पिकका सहभागी खेलाडीहरूलाई विशेष खेलाडीको सूचीमा राख्दै ‘स्वर्ण सम्मान’ स्वरुप मासिक भत्ता दिने घोषणा गर्यो।
यो कार्य खेलाडीहरूको योगदान खातिर गरिएको विशेष सम्मान अभियान थियो। तर अनौठो के भने नेपाली भूमि छोडेका खेलाडीहरू भने यस्तो सम्मानबाट बञ्चित बने।
समान उपलब्धिमा सरकारबाटै गरिएको यस्तो विभेद विरुद्ध हाल विदेशमा बसिरहेका खेलाडी असन्तुष्ट हुने नै भए। यी खेलाडीका समूहले लामो समय समान सम्मान पाउन प्रयास पनि गरे, तर सकिरहेका छैनन्।
“यो विभेद त भयो नै, स्वर्ण पदककै अपमान पनि”, किशोर श्रेष्ठ भन्छन्, “सम्मान स्वर्ण पदक जित्ने खेलाडीलाई दिइने हो भने देशका लागि पदक जित्ने सबै समेटिनुपर्छ, चाहे देशमा बसुन् वा विदेशमा, त्यसो नभए विदेशमा गएकाहरूको पदक गणना नहुने भनिदिनुपथ्र्यो।”
श्रेष्ठका भनाइमा, यो विषयमा भत्ता भन्दा पनि ‘राज्यले दिने सम्मान’ ठूलो हो, जसले देशका लागि केही गरियो भन्ने गौरवको अनुभूति दिइरहन्छ।
पहिलो देखि १२औं साग गेम्ससम्मको स्वर्ण पदक जित्ने र एशियाली विजेता गरी पदक पाउने खेलाडी १५७ जना छन् । त्यसमा ६० जना खेलाडी विभिन्न देशमा पुगेका छन् । ओलम्पिकमा सहभागी ५६ जनामा अधिकांश स्वर्णधारी अमेरिका पुगेका छन् ।
श्रेष्ठ आफूहरूमाथि गरिएको दुव्र्यवहार गलत भएको तर्क गर्दै भन्छन्, “तेञ्जिङ शेर्पा सगरमाथा चढ्ने पहिलो नेपाली हुन् । त्यसपछि उनले भारतीय नागरिकता लिए भन्दैमा हामीले त्यो सफलता नेपालको होइन भन्ने त? सरकारी कर्मचारी पनि पेन्सन पाउँछन्। त्यसका लागि देशमै बसिरहन त पर्दैन।”
पहिलोदेखि १२औं साग गेम्ससम्मको स्वर्ण पदक जित्ने र एशियाली विजेता गरी पदक पाउने खेलाडी १५७ जना छन्। त्यसमा ६० जना खेलाडी विभिन्न देशमा पुगेका छन्। ओलम्पिकमा सहभागी ५६ जनामा अधिकांश स्वर्णधारी अमेरिका पुगेका छन्।
खेलाडी मात्र होइन, यो विषयमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पनि असन्तुष्टि जनाएको छ। एनआरएनए अमेरिकाले यसको विरोध गर्दै निर्णय सच्याउन लिखित निवेदन नै दिएको छ।
“खेल जीवनपछि सबै खेलाडी स्वदेशमै बस्छन् भन्ने कतै छैन, यो उनीहरूको व्यक्तिगत स्वतन्त्रता हो” एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाह भन्छन्, “तर, राज्यले विदेश गएकै आधारमा असमान ब्यवहार गर्छ भने यसले गलत सन्देश जान्छ।”
भत्ताको चलन
सन् १९६४ को टोकियो ओलम्पिक खेलेका एथलेटिक्स खेलाडीद्वय गंगाबहादुर थापा र भूपेन्द्र सिलवाललाई राखेपले सम्मानस्वरुप मासिक भत्ता दिने चलन थालेको थियो।
राखेपमा तत्कालीन सदस्य सचिव विनोदशंकर पालिखेले आठौं सागमा ऐतिहासिक ३१ स्वर्ण जितेका खेलाडीहरूलाई पनि भत्ता दिने प्रचलन ल्याए । पछि स्वर्ण विजेताहरूले राखेपमै स्थायी जागिर पाएपछि यो क्रम टुट्यो।
युवराज लामा सदस्य सचिव भएका बेला सागमा स्वर्ण विजेतालगायत एसियाड पदक जित्ने र ओलम्पिक पुग्न सफल हुने खेलाडीहरूलाई स्थायी भत्ता दिने प्रस्ताव मन्त्रिपरिषद्मा लगे। र, बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला त्यो प्रस्ताव पारित भयो। अब भने खेलाडीको भत्ता सुनिश्चित भयो।
भत्ता वितरणको शुरूआत भने तत्कालीन सदस्य सचिव केशवकुमार विष्टले गरे । मन्त्रिपरिषद्बाट पारित भए पनि शुरूको वर्ष बजेट भत्तामा छुट्याइएकै थिएन। तर विष्टले २०७३ सालमा खेलकुद परिषद्बाटै बजेट व्यवस्थापन गर्दै खेलाडीहरूलाई रु.२५०० वितरण गरे।
अर्को वर्षदेखि खेलाडीहरूले नियमित रु.५ हजार मासिक भत्ता प्राप्त गर्न थाले। यो वर्ष बजेट बढेर अब सागका स्वर्ण तथा एसियाड पदक विजेता प्रत्येकलाई रु.६/६ हजार तथा ओलम्पिक सहभागी खेलाडीलाई रु.४ हजार पाउने व्यवस्था गरिएको छ।
कर्मचारीकै बदमासी !
भत्तामा किन यस्तो विभेद ? राखेपका अधिकारीहरू भने भौतिक उपस्थिति नहुने खेलाडीलाई रकम दिंदा बेरुजु देखिने जसले कर्मचारीलाई समस्या पर्ने जस्ता तर्क गर्छन् ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठसँग त अझ रोचक प्रसंग छ। उनी संघको पहलमा पदकधारी खेलाडी स्वदेश आएका बेला रकम दिलाउने प्रयास गरेको तर राखेपले खेलाडीको पासपोर्ट राखेर नेपाल बस्दाको अवधिको मात्र पैसा दिएको बताउँछन्। “विदेशमा बसेका पदकधारीको रकम जहिल्यै फ्रिज हुन्छ, कर्मचारीकै बदमासी छ”, श्रेष्ठ भन्छन्।
स्वदेशमै भएका खेलाडीलाई भत्ता वितरण पनि विवादरहित भने थिएन। एकभन्दा बढी स्वर्ण पदक जित्ने खेलाडीलाई प्रत्येक स्वर्णको हिसाबले वा व्यक्तिको हिसाबले रकम वितरण गर्ने भन्ने विषय टुंगो नलाग्दा समस्या देखिएको थियो।
जस्तै तेक्वान्दोका दीपक विष्टले सागमा चार स्वर्ण र एसियाडमा दुई काँस्य जिते, ओलम्पिकमा पनि सहभागी भए। विष्टलाई कसरी भत्ता प्रदान गर्ने ? तत्कालीन खेलकुद मन्त्री दलजित श्रीपाइलीको पालामा ‘प्रत्येक पदक बराबर भत्ता वितरण गर्ने’ निर्णय गरिएपछि विवाद समाधान भयो।
अहिले एनआरएन स्पोर्टस् एकेडेमी यो समस्या हल गर्न सरकारलाई दबाब दिने तयारीमा छ। “पदकधारीमाथि अन्याय भएको छ। निषेधाज्ञा खुल्नासाथ हामी राखेप, मन्त्रालय पुगेर न्याय माग्छौं, अब रोकिंदैनौं", स्पोर्टस् एकेडेमीका सदस्य सचिव धर्मराज गिरी भन्छन्।
राखेपले विवादित यो विषयमा जतिसक्दो चाँडै निर्णय लिनुको विकल्प छैन । किनकि साग स्वर्ण पदकको सूचीमा यो वर्षदेखि हालै सम्पन्न १३औं सागको स्वर्ण संख्या थपिंदैछ। यसपालि नेपालले ५१ स्वर्ण जितेको छ र सामूहिक खेलका खेलाडी समेत गरी स्वर्ण जित्ने खेलाडीहरू ८० जना छन्। सागमा बेलायतमा बसोबास गर्ने गौरिका सिंहले मात्र पौडीबाट चार स्वर्ण जितेकी छन् ।