बक्सिङ संघको बबण्डर : हस्तक्षेप र मतभेदमा अल्झिएका चार वर्ष
आजीवन मानार्थ अध्यक्षको हस्तक्षेपकारी कदम र अध्यक्षसहितका पदाधिकारीहरुबीचको मनमुटावमा चार वर्ष बिताएको नेपाल बक्सिङ संघले नयाँ कार्यकालको चुनावी दौडधुप शुरु भइसक्दा पनि निकास भेटेको छैन।
नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले पहिलो दक्षिण एशियाली खेलकुदका रजत पदक विजेता खेलाडी हुन्। खेलाडीबाट सम्बद्ध संघको नेतृत्वमा पुग्ने यस्तो मौका कमैले पाउँछन्। तर, खेल प्रशासकका रुपमा चारवर्षे कार्यकालमा उनी विवादित बन्न पुगे।
अवालेको नेतृत्वको संघका मुख्य सहयात्रीहरु महासचिव र कोषाध्यक्षले नै उनीमाथि अनियमितताको आरोप लगाउँदै निरुपणका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई गुहारेका छन्। यसपछि राखेपले संघलाई एक साताभित्र स्पष्टीकरण दिन भनिसकेको छ।
बक्सिङ संघमा विवाद निम्तिरहनुको कारण आखिर के हो त ? निर्विरोध अध्यक्ष बनेका अवाले किन समस्याले घेरिए ?
संघभित्रका उनका मित्रहरुका अनुसार, सीधा स्वभावका अवाले राष्ट्रिय संघ हाँक्ने क्रममा नेपाली खेलकुदका बाङ्गाटिङ्गा बाटो र त्यस क्रममा भेटिने पात्रहरुबीच रुमलिन पुगे।
नेतृत्वमा हस्तक्षेप र कलहको बीजारोपण
अवाले २२ जेठ २०७३ मा बक्सिङ संघका अध्यक्ष बनेका हुन्। आफ्नो कार्यकालमा बक्सिङको विकास गर्ने उत्कट चाहना राखेका उनीसँग यति ठूलो नेतृत्वको अनुभव नै थिएन। संभवत: त्यसै कारण उनी बक्सिङका अनुभवी पात्र विष्णुगोपाल श्रेष्ठको सल्लाह लिन पुगे। त्यहींबाट संघमा विवादले जन्म लिएको देखिन्छ।
बक्सिङ संघका आजीवन मानार्थ अध्यक्ष श्रेष्ठले विगतमा लामो समय संघको नेतृत्व गरिसकेकाले थुप्रै अनुभव बटुलेका छन्। तर, उनको भूमिका सरसल्लाहमा मात्र सीमित नभएर संघ सञ्चालनमा नै देखिन थालेपछि समस्या बढ्दै गएको संघका पदाधिकारीहरु बताउँछन्। संघका महासचिव सविन भट्टाचार्य श्रेष्ठको भूमिका हस्तक्षेपकारी भएको बताउँछन्। "विधान विपरीत श्रेष्ठले नै संघको सबै निर्णय गर्न थाले। कतिसम्म भने, बक्सिङ संघको लेटर प्याडमा आफ्नो नाम राखेर अन्तर्राष्ट्रिय पत्राचार गर्न थाले", उनी भन्छन्।
अध्यक्ष अवालेले महासचिव लगायत संघका पदाधिकारीहरुसँग समन्वय नगरी श्रेष्ठसँग मात्र सल्लाह गरेर अगाडि बढ्न थालेपछि पदाधिकारीहरु विभाजित हुन थाले।
श्रेष्ठ र अवालेको गठजोड पनि बढ्दै गयो। १८ भदौ २०७४ मा झापामा बसेको संघको सचिवालय समितिको बैठकले बक्सिङको एउटा 'कोर कमिटी' गठन गर्ने निर्णय गर्यो। जसको संयोजकमा श्रेष्ठ र सदस्यमा संघका अध्यक्ष अवालेसहितका व्यक्तिहरु रहने व्यवस्था गरिएको थियो। उक्त निर्णयमा भनिएको थियो, 'बक्सिङ संघका मानार्थ आजीवन अध्यक्ष श्रेष्ठज्यूको अभिभावकत्व आवश्यकता महसुस भएकाले श्रेष्ठको अध्यक्षतामा कोर कमिटी निर्माण गरियो।'
आफ्नो कार्यकालमा बक्सिङको विकास गर्ने उत्कट चाहना राखेका अध्यक्ष अवालेसँग यति ठूलो नेतृत्वको अनुभव नै थिएन। संभवत: त्यसै कारण उनी बक्सिङका अनुभवी पात्र विष्णुगोपाल श्रेष्ठको सल्लाह लिन पुगे। त्यहींबाट संघमा विवादले जन्म लिएको देखिन्छ।
सचिवालय समितिको त्यो निर्णय केन्द्रीय कार्यसमितिको बैठकमा भने कलहको कारण बन्यो। संघका सदस्य ओमनारायण श्रेष्ठ संघको अस्तित्वलाई लत्याएर विष्णुगोपाल श्रेष्ठको अध्यक्षतामा कमिटी गठन हुने कुरा आफूहरुलाई अस्वीकार्य भएको बताउँछन्। बक्सिङको विकासकै लागि आएका आफूहरु हुँदाहुँदै त्यस्तो कमिटीको आवश्यकता र औचित्य नै नरहेको उनको तर्क छ।
"अध्यक्ष जस्तो व्यक्तिले संघलाई एउटा कमिटीमा परिणत गर्ने र आफू कसैको मातहतमा सदस्य बस्न मिल्दैन", उनी भन्छन्, "त्योसँगै हामीलाई बाइपास गर्न खोजिएपछि यसको विरोध गर्यौं।"
काठमाडौंमा भएको केन्द्रीय समितिमा सदस्यहरुको विरोधपछि अन्तत: 'कोर कमिटी' गठनको निर्णय खारेज भयो। तर, यतिबेलासम्म संघका पदाधिकारीहरुबीच ठूलै विभाजन भइसकेको थियो। महासचिव भट्टाचार्य संघमा आफूहरुलाई भूमिका नै नदिइएको तथा आर्थिक हिसाब र अन्य पाटोबारे जानकारी नगराएर पन्छाएको बताउँछन्। "हेटौंडा बस्ने मलाई संघको बैठक भोलि बिहान छ भने अघिल्लो रात खबर गर्नेसम्मको काम भयो", उनी भन्छन्।
संघभित्र एउटा पक्ष हावी हुन थालेपछि विवाद बढ्नु स्वाभाविकै हो। अध्यक्ष र महासचिवबीच नै मनमुटाव बढेपछि संघमा समस्या बढेको देखिन्छ। अध्यक्ष अवाले भने काम नगर्ने व्यक्तिहरुले बखेडा निम्त्याएको प्रतिक्रिया दिन्छन्।
दक्षिण एशियाली बक्सिङ महासंघको निर्वाचनमा श्रेष्ठ महासचिव र अवाले उपाध्यक्षमा चुनिएका थिए। अन्तर्राष्ट्रिय कार्यक्रममा आजीवन मानार्थ अध्यक्ष विष्णुगोपाल श्रेष्ठ मात्र देखिएपछि विरोधको स्वर चर्को हुँदै गयो। आजीवन मानार्थ अध्यक्षको विषयमा भएको विवाद यतिसम्म बढ्यो, राखेपले संघको विधानमा उक्त पदको व्यवस्था भए-नभएको बुझ्न पत्र नै काटेको थियो।
संघभित्र एउटा पक्ष हावी हुन थालेपछि विवाद बढ्नु स्वाभाविकै हो। अध्यक्ष र महासचिवबीच नै मनमुटाव बढेपछि संघमा समस्या बढेको देखिन्छ। अध्यक्ष अवाले भने काम नगर्ने व्यक्तिहरुले बखेडा निम्त्याएको प्रतिक्रिया दिन्छन्। "विकास गर्न खोज्दा होस्टेमा हैंसे गर्नुपर्नेमा रोक्न खोज्ने र विरोध मात्र गर्ने काम भयो", उनी भन्छन्।
यता, राखेपका पूर्व कोषाध्यक्ष समेत रहेका संघका आजीवन मानार्थ अध्यक्ष श्रेष्ठले विवादित विषयमा प्रतिक्रिया जनाएनन्। उनले भने, "खेलकुदका धेरै संघहरु मसँग सल्लाह गर्न आउँछन्। सबैलाई सल्लाह दिने र सहयोग गर्ने गरेको छु, बक्सिङ संघलाई पनि सल्लाह दिएँ।"
अवालेको कार्यकाल
अध्यक्ष अवालेको कार्यकालमा बक्सिङ संघले गर्व गर्न लायक नतिजा पनि ल्याएको छ। १३औं सागमा बक्सिङले ३ वटा स्वर्ण, ६ रजत र ६ काश्य पदक जितेको छ। त्यस्तै, विभिन्न अन्तर्राष्ट्रिय सहभागिताबाट ९ स्वर्ण २ रजत र २ काश्य पदक दिलाएको छ। तर, राखेपको आयोजनामा भएको सातौं र आठौं राष्ट्रिय खेल बाहेक संघ आफैंले घरमा एउटा पनि प्रतियोगिता गर्न नसकेको आरोप उनीमाथि छ।
चारवर्षे कार्यकालमा एक पटक पनि वार्षिक साधारणसभा नगर्नु अवालेको ठूलो कमजोरी हो। तर, यसमा अवालेको तर्क छ, "हरेक वर्ष साधारण सभा गर्ने संघ कति नै छन् र, हाम्रो परिस्थिति पनि त्यस्तै हुनगयो।"
संघका पदाधिकारीहरुको असन्तुष्टिका बीच कोषाध्यक्षलाई जिम्मेवारीबाट हटाउने कामले बक्सिङ संघमा नयाँ विवाद सिर्जना भयो।
संघभित्र विवाद र तिक्तता बढ्नुको कारण अवाले 'केही साथीहरु कसैबाट संचालित भएर आएको' लाई औंल्याउँछन्। उनले संकेत पूर्व अध्यक्ष राजीव श्रेष्ठप्रति लक्षित देखिन्छ।
संघमा विवाद बढ्नुमा स्वार्थ समूहको हात पनि उतिक्कै छ। तर, नयाँ कार्यकालका लागि अब हुने चुनाव लक्षित भएर पनि कतिपय विवाद देखिएका छन्।
संघका पदाधिकारीहरुको असन्तुष्टिका बीच कोषाध्यक्षलाई जिम्मेवारीबाट हटाउने कामले बक्सिङ संघमा नयाँ विवाद सिर्जना भयो।
सन् २०१८ मा इन्डोनेसियामा आयोजित एशियाली खेलकुद अगाडि राखेपले बक्सिङ खेलाडीहरुलाई थाइल्याण्डमा बन्द प्रशिक्षणमा पठाउन संघको नाममा रकम निकासी गरेको थियो। तर, कोषाध्यक्ष गौतम सुजखुले कार्यसमितिको स्वीकृतिमा मात्र पैसा निकाल्न अडान लिए।
त्यही बेला सुजखु निजी काम परेर विदेश गए। त्यही मौकामा बक्सिङ संघले कार्यवाहक कोषाध्यक्षको पद सिर्जना गरेर केन्द्रीय सदस्य राम गिरीलाई कोषको जिम्मा सुम्पियो। सुजखु त्यसअघि नै कार्यसमितिले आर्थिक नियमावली बनाएर मात्र हिसाब सञ्चालन गर्ने भनेका कारण आफूले कार्यसमितिको स्वीकृति खोजेको बताउँछन्।
कोषाध्यक्षको जिम्मेवारी खोस्ने कार्यमा राखेपले पनि बक्सिङ संघलाई सघाएको देखिन्छ। बक्सिङ राखेपले संघको खाता रहेको सानिमा ब्याङ्कलाई पत्र लेख्दै सुजखुको स्थानमा गिरीको हस्ताक्षरबाट खाता सञ्चालन गर्न भनेको थियो। त्यतिबेला राखेपका सदस्य-सचिव केशव कुमार विष्ट थिए।
अध्यक्ष अवालेले भने खेलाडीहरुको प्रशिक्षण नै रोकिने अवस्थामा बाध्य भएर कार्यवाहक कोषाध्यक्ष बनाउने कदम चाल्नुपरेको बताउँछन्।
बक्सिङ संघको वर्तमान कार्यसमितिको चारवर्षे कार्यकाल पूरा भएपछि अब अनुकूल समयमा संघको चुनाव गर्नुपर्छ। चुनावी कसरत शुरु पनि भइसकेको छ। अहिले संघ अध्यक्ष र महासचिवको दुई खेमामा बाँडिएको देखिन्छ। यी दुईमध्ये अध्यक्ष खेमामा धेरै सदस्य रहेको बताइन्छ।
तर, कोषाध्यक्ष सुजुखु त्यो वेला बाध्यात्मक अवस्थामा विकल्पको प्रयोग गरिएको मान्ने हो भने त्यसपछि कोषाध्यक्षको हैसियतले आफूले काम गर्न पाउनुपर्नेमा कार्यवाहक कोषाध्यक्षलाई नै निरन्तरता दिइएको आरोप लगाउँछन्। "मलाई फेरि जिम्मेवारी फिर्ता गरिएन, आजको दिनसम्मको हिसाब मलाई थाहा छैन", उनी भन्छन्।
कोषाध्यक्ष सुजुखुको जिम्मेवारी खोसिएको विषयलाई अध्यक्ष अवाले भने सुजुखुको असहयोगलाई औंल्याउँछन्। "हरेक पटक धोका दिएकाले उहाँमा काम गर्ने इच्छा नै नभएको देखियो", उनी भन्छन्।
बल परिषद्को कोर्टमा
बक्सिङ संघको वर्तमान कार्यसमितिको चारवर्षे कार्यकाल पूरा भएपछि अब अनुकूल समयमा संघको चुनाव गर्नुपर्छ। चुनावी कसरत शुरु पनि भइसकेको छ। अहिले संघ अध्यक्ष र महासचिवको दुई खेमामा बाँडिएको देखिन्छ। यी दुईमध्ये अध्यक्ष खेमामा धेरै सदस्य रहेको बताइन्छ।
निर्वाचनमा जानुअघि संघले कोषाध्यक्ष र महासचिवको प्रतिवेदन कार्यसमितिबाट र त्यसपछि साधारणसभाबाट पारित गर्नुपर्छ। यसकै निम्ति १५ र १६ साउनमा केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो। जसमा बहुमत सदस्यहरुको हवाला दिंदै प्रतिवेदनमा हस्ताक्षर गर्ने अवालेको प्रयास सफल हुन सकेन। 'संघमा आएको र खर्च भएको रकमको विवरण हेर्न पाउनुपर्ने' भन्दै कोषाध्यक्ष सुजखुले हस्ताक्षर गरेका छैनन्।
महासचिव भट्टाचार्यले 'नोट अफ डिसेन्ट' लेख्न खोज्दा भएको तनावको विषयमा सार्वजनिक विज्ञप्ति नै जारी गरिसकेका छन्। यी दुवै अहिले न्याय माग्दै राखेप पुगेका छन्।
नियमित वार्षिक साधारणसभा नभएको, कोषाध्यक्ष र महासचिवको प्रतिवेदन, विधान विपरीत भएका नियुक्ति, लेखा परीक्षण जस्ता स्पष्ट नभएका विषयमा परिषदले कस्तो निर्देशन दिन्छ, हेर्न बाँकी छ। अहिले भने बक्सिङ संघले दिने स्पष्टीकरण राखेपले पर्खिरहेको छ।