डिजिटल कारोबारसँगै बढ्दैछ मोबाइल वालेटको बजार, ब्राण्डको प्रतिस्पर्धामा कस्ता छन् चुनौती ?
वस्तु र सेवाको शुल्क तत्कालै तिर्न सकिने मोबाइल वालेटबीच डिजिटल कारोबारलाई बढाउने प्रतिस्पर्धा चलिरहेको वेला ब्यांकले डिजिटल ब्यांकिङबाट वालेटको काम समेत गर्दा वालेटलाई बजारमा स्थापित हुन चुनौती थपिएको छ।
प्रविधिमा पहुँच बढेसँगै पछिल्लो समय नगदरहित कारोबार बढेको छ। डिजिटल कारोबारप्रति आकर्षण बढ्नुको कारण हो, यो सजिलो, सुरक्षित र पारदर्शी छ। त्यसमा पनि कोरोना संक्रमण महामारी रोकथाम गर्न लगाइएको बन्दाबन्दीपछि त डिजिटल कारोबार ह्वात्तै बढ्न पुग्यो। बन्दाबन्दीको चार महीनामा वालेट (मोबाइल खाता) प्रयोगकर्ता शत प्रतिशतभन्दा धेरै बढेर असारसम्ममा १ करोड नाघेका छन्। यसले पछिल्लो समय डिजिटल भुक्तानी उल्लेख्य बढेको देखाउँछ।
तथ्यांक अनुसार, बन्दाबन्दीपछिको चार महीनामा रु.५८ खर्ब ९४ अर्ब ९६ करोडको डिजिटल कारोबार भएको छ। त्यसमध्ये यस अवधिमा वालेटबाट मात्रै रु.१७ अर्ब १५ करोड ४० लाखको कारोबार भएको नेपाल राष्ट्र ब्यांकको तथ्यांक छ।
बन्दाबन्दीको पहिलो महीना चैतमा मात्रै रु.१ अर्ब २७ करोड २३ लाखको कारोबार वालेटबाट भएको थियो। डिजिटल भुक्तानी मार्फतको उक्त कारोबार गत असारसम्म आइपुग्दा करीब रु.नौ अर्बले बढेको देखिन्छ। राष्ट्र ब्यांकको तथ्यांक अनुसार, वालेटबाट वैशाखमा रु.२ अर्ब ४१ करोड ९६ लाख र जेठमा रु.३ अर्ब २५ करोड १ लाखको कारोबार भएकोमा असारमा त रु.१० अर्ब २२ करोड २० लाखको कारोबार भएको छ।
सरकारले डिजिटल कारोबारलाई प्रवद्र्धन गरेसँगै नगदरहित कारोबारको सीमा र दायरा फराकिलो हुँदै गएको छ। वालेट प्रयोग गरेर रिचार्ज, बिजुली, पानी, टेलिफोन, इन्टरनेट, टीभी, हवाई टिकटको शुल्क तिर्नु सामान्य भइसकेको छ। यो सुविधा बाहेक हरेक मोबाइल वालेटले थप सुविधा विस्तार गरिरहेका छन्। वालेटले दैनिक उपभोग्य वस्तु खरीददेखि आर्थिक कारोबारसम्म मोबाइलबाट गर्ने प्रणालीको विकास गर्दै गएका छन्।
डिजिटल कारोबारको चुलिंदो सम्भावनासँगै मोबाइल वालेटका प्रयोगकर्ता बढाउन यसको ब्राण्डिङमा प्रतिस्पर्धा व्यापक छ। प्रयोगकर्ता बढाउन ग्राहकलाई विभिन्न सुविधा दिएर आफूतिर तान्ने होडबाजी पनि छ। वालेटहरूले ब्यांक तथा वित्तीय संस्था जोड्ने र सबै प्रकारका खुद्रा कारोबारलाई सहजै भुक्तानी गर्ने प्रयासमा जोड दिइरहेका छन्।
राष्ट्र ब्यांकले ६ असार २०७४ बाट मोबाइल वालेटलाई अनुमति दिन थालेको हो। अहिले वालेटको संख्या ९ वटा पुगेको छ। सबैले आआफ्नै ढंगले बजारीकरण गर्ने र प्रयोगकर्ता बढाउने रणनीति अपनाएका छन्। अहिले ईसेवा, आइएमई पे, खल्ती डिजिटल, प्रभु पे, सेल पेबीच सेवा–सुविधा र ग्राहक बढाउनेमा प्रतिस्पर्धा छ।
खल्ती डिजिटलका निर्देशक अमित अग्रवाल प्रविधिको प्रयोग सिकाउनेदेखि हाल ३ प्रतिशत मात्रै रहेको नगदरहित कारोबार बढाउन लाग्नुपर्ने बताउँछन्। खल्तीले कारोबार कम हुने र ग्राहकको चासो नभएका दिनमा पनि सेवा प्रवाह प्रभावकारी बनाउन ब्राण्डिङ र प्रवर्द्धनका काम गरिरहेको छ। “शनिबार ब्यांक तथा वित्तीय संस्था बन्द हुने हुँदा वालेटको कारोबार बढ्नुपर्ने अनुमान हो, तर अरु दिनभन्दा कारोबार कम भएकाले शनिबार वालेट प्रवद्र्धनको अभियान चलाइरहेका छौं”, अग्रवाल भन्छन्। अफर दिनेदेखि ‘क्यास ब्याक’ बढी दिनेसम्मका आकर्षणबाट ग्राहकलार्ई खल्तीतर्फ ल्याइरहेको उनी बताउँछन्।
आर्थिक गतिविधि बढी हुँदा वालेटको प्रयोग र नगदरहित कारोबार बढ्ने गरेको छ। पछिल्लो तीन वर्षमा एप १० लाख डाउनलोड भइसकेको खल्तीले अझै नयाँ सेवा थप गरेर ग्राहक आकर्षित गरिरहेको छ। अहिले वालेट र ब्यांकको सेवाबीच फरक नै नदेखिएकाले केही समस्या रहेको अग्रवाल बताउँछन्। “त्यसका लागि सेवा प्रदायकले काम गर्नुपर्नेछ, वालेटले आफ्नो आधार बनाएर काम गर्न थालेपछि ब्यांक र वालेटबीच फरक छुट्टिन्छ र प्रयोगकर्ता यसतर्फ अझै आकर्षित हुन्छन्”, उनी भन्छन्।
आईएमई पेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विकास नाहटा अहिले जसको पहुँच जहाँ हुन्छ, त्यही क्षेत्रमा बढी सक्रिय भएर काम गर्नुपर्ने र आफ्नो ढंगबाट प्रवद्र्धन गर्नुपर्ने अवस्था वालेटलाई रहेको बताउँछन्। “कुनै वालेटको सहकार्य भाटभटेनी, कुनैको बिगमार्ट त कुनैले अर्को उपभोक्ताको सीधै जोडिने क्षेत्रसँग सहकार्य गरेर पनि प्रवद्र्धन गरिरहेका छन्”, उनी भन्छन्।
ईसेवाका प्रमुख सञ्चालन अधिकृत (सीओओ) सुवास सापकोटा भने आफ्नो वालेटलाई ब्राण्डिङको जरुरी नभएको बताउँछन्। धेरैजसो ग्राहकलार्ई इसेवा वारेमा थाहा भएको तर प्रविधिमैत्री नभएका व्यक्तिले प्रयोग गर्न नसकेको उनको भनाइ छ। ईसेवाको प्रयोगकर्ता ३५ लाख रहेको भन्दै उनी यसको प्रवद्र्धनमा भन्दा पनि सेवा–सुविधामा ध्यान दिन थालिएको बताउँछन्।
अहिले ब्यांक तथा वित्तीय संस्थाले एप बनाउने र प्रविधिमैत्री देखाउन त्यसैबाट ग्राहकलाई टपअप सुविधा दिने गरिएको छ। ईसेवाले १२ वर्षअघि शुरु गरेको काम अहिले ब्यांक र अन्य वालेटले गरिरहेको हुँदा अब नयाँपनमा जानुको विकल्प नरहेको सापकोटा बताउँछन्। “हामीलाई अन्य वालेटलाई जस्तो ब्राण्डिङको चिन्ता त छैन, तर प्रयोगकर्ता बढाउन र प्रविधितर्फ थप आकर्षित गर्न सेवाका दायरा खोज्दै जानुपर्ने चुनौती भने हामीमाथि पनि थपिएको छ”, उनी भन्छन्।
वालेटलाई डिजिटल ब्यांकिङको चुनौती
सूचना–प्रविधिको उपयोग र ग्राहक सेवालाई सहजीकरण गर्दै जाने क्रममा ब्यांक तथा वित्तीय संस्थाले डिजिटल ब्यांकिङ मार्फत दिएको सेवा वालेटका लागि चुनौती बनेको छ। विभिन्न ब्यांकको एप प्रयोग गरेर एक ब्यांकबाट अर्कोमा पैसा पठाउने, वस्तु र सेवाको शुल्क तिर्नेसहितको सुविधाले वालेटलाई चुनौती थपिएको छ।
वालेटले डिजिटल कारोबारको प्रवद्र्धनमा काम गरिरहेका वेला ब्यांकले पनि डिजिटलमै लगानी खन्याइरहेका छन्। नबिल ब्यांकले ब्यांकका सबै सेवालाई दुई वर्षभित्र डिजिटाइज्ड गरिसक्ने गरी डीजी ब्यांकको रुपमा काम गर्न थालिसकेको छ। ब्यांकभित्रका सबै कारोबार डिजिटलबाट गर्ने र ग्राहकले ब्यांकमा नआई सबै सेवा दिने रणनीति आगाडि सारिएको नबिल डीजी ब्यांकका प्रमुख विनयकुमार रेग्मीले बताउँछन्।
ब्यांकले भएको सेवालाई सहजीकरण गर्ने मात्रै नभएर नगदरहित कारोबार बढाउन र ग्राहकलाई घरमै ब्यांकको सेवा दिन प्रविधिकै विकास गर्न थालेको नबिल ब्यांकका नायब महाप्रबन्धक मनोज ज्ञवाली बताउँछन्। उनी वालेट र ब्यांकलाई एक–अर्काको प्रतिस्पर्धी भने मान्दैनन्। “अहिले ब्यांक र वालेटको सम्बन्ध गाडी भएर बाटो बनाएको कि बाटो भएर गाडी चलाएको भनेजस्तै छ, त्यसैले दुवै सेवा आवश्यक र उत्तिकै महत्वपूर्ण छन्”, उनी भन्छन्।
हुन पनि, वालेट र ब्यांकले फरक–फरक उद्देश्यका लागि काम गरिरहेका छन्। वालेटको दायरा ब्यांकले दिन नसकेका फरक प्रकारको भुक्तानीे सेवा दिने, ब्यांकको खाता नहुनेले नगदरहित कारोबार गराउनेसम्म फैलिन्छ। त्यसैले ब्यांकभन्दा फराकिलो दायरामा जान मोबाइल वालेट आवश्यक पर्ने खल्तीका निर्देशक अग्रवाल बताउँछन्। सार्वजनिक गाडीको भाडा तिर्ने, हरेक खुद्रा कारोबारलाई नगदरहित बनाउने उद्देश्यमा सबै वालेट केन्द्रित रहेको उनको भनाइ छ।
आईएमई पेका सीईओ विकास नाहटा पनि ब्यांकको मुख्य काम आर्थिक कारोबार हुने भए पनि आफूहरुले भने भुक्तानीको सहजता वालेट मार्फत दिने गरेको बताउँछन्। वालेटमा थोरै थोरै रकम राख्ने राखेर दैनिक उपभोगका वस्तु र सेवाको खरीदमा प्रयोग गरिने हुँदा वालेट आवश्यक परेको बताउँछन्। विश्वव्यापी मान्यतामै वालेटबाट पानी, बिजुली आदिको बिल तिर्ने प्रचलन रहेको बताउँनै नाहटा भन्छन्, “अहिले वालेटले गर्ने काम ब्यांकले गर्न थालेका हुन्, वालेटले योभन्दा अगाडि बढेर जानुपर्ने चुनौती छ।”
ईसेवाका सीओओ सापकोटा ग्राहक जहाँ छन् त्यहीं सेवा दिनुपर्ने भएकोले अहिले ब्यांकको एपमा ग्राहकको रुची देखिएको र यो अल्पकालीन मात्रै हुन सक्ने बताउँछन्। भोलि वालेट पनि ग्राहकको आवश्यकता हो भन्ने बुझाउन सकियो भने यतातर्फ ग्राहक आकर्षित हुने उनको बुझाइ छ। सापकोटा भन्छन्, “ब्यांकले दिने भन्दा फरक सुविधाका लागि वालेट चलाउने भन्ने बनाउनुपर्छ। अहिले सबैले अपनाइरहेको टपअप र बत्ती–पानीको बिल तिर्ने सुविधाले मात्रै वालेट चल्दैन। यसका लागि ब्यांकको एप रसबैले दिने भन्दा फरक र नवीनतम सेवातर्फ वालेट जानुपर्छ।”
डिजिटल ब्यांकिङलाई प्रवर्द्धनमा बेवास्ता
सरकारले डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको बताए पनि एटीएमबाट पैसा निकाल्दा हुने नगद कारोबारलाई निःशुल्क गरिदिएको छ। राष्ट्र ब्यांकले अन्तरब्यांक एटीएम शुल्क निःशुल्क गरेर नगद कारोबारलार्ई नै प्रोत्साहन दिइरहेको छ। तर, डिजिटल ब्यांकलाई प्रवद्र्धन गर्नुपर्ने विषयमा नियामक निकाय मौन छ।
राष्ट्र ब्यांकका प्रवक्ता गुणाकर भट्ट नगदलाई नगदरहित कारोबारलाई नै प्रोत्साहन गरेको बताउँछन्। तर यथार्थ कस्तो छ भने, कतिपय ब्यांकले नगदरहित कारोबार निःशुल्क गरे पनि केहीले निश्चित शुल्क लिएर सेवा दिइरहेका छन्। भट्ट भने ब्यांकहरूलाई सेवा शुल्क नै नलिई काम गर्नू भन्न नमिल्ने तर्क गर्छन्। उनी भन्छन्, “राष्ट्र ब्यांकले निर्देशन दिंदा नाफामा संकुचन आउने गरी केन्द्रीय ब्यांकले दबाब दियो भन्ने गुनासो आउन सक्ने भएकोले धेरै कस्न नखोजिएको हो।”
नेपाल ब्यांकर्स संघका अध्यक्ष भुवन दाहाल चैतदेखि असारसम्म अन्तरब्यांक कारोबारमा समेत निःशुल्क सेवा पाउने व्यवस्था गरिएको र त्यसपछि भने ब्यांक पनि टिक्नुपर्ने भएकाले न्यून शुल्क राखिएको बताउँछन्। दाहाल भन्छन्, ‘‘कतिपय ब्यांकले मोबाइल ब्यांक, कनेक्ट आइपीएस र अन्तर ब्यांकिङ कारोबार गर्दा न्यून सेवा शुल्क लिने गरेका छन्। यो शुल्क ग्राहक ब्यांकसम्म जाँदा लाग्ने खर्चको तुलनामा केही पनि होइन।”
कोरोना संक्रमण महामारीपछि धेरैवटा ब्यांक तथा वित्तीय संस्था नगदरहित कारोबारमा आकर्षित भएको र यसै कारण पछिल्लो समय यस्तो कारोबार बढिरहेको दाहाल बताउँछन्।
नबिल ब्यांकका नायब महाप्रबन्धक ज्ञवाली ग्राहकलाई सबै सेवा निःशुल्क भन्दा पनि गुणस्तरीय चाहिएको बताउँछन्। “कुनै पनि कुरामा निःशुल्कमा स्तरीय सेवा कसैले पनि खोज्दैन, त्यसैले १०औं लाखको कारोबारमा रु.१० शुल्क लिनुलाई ठूलो मान्नु पनि भएन”, ज्ञवाली भन्छन्, “ब्यांकले डिजिटल ब्यांकिङका लागि प्रविधिमा गरेको लगानी हेर्ने हो भने डिजिटल कारोबारमा लिइने शुल्क अत्यन्तै न्यून हो।”
वालेटको भविष्य
छिमेकी मुलुक भारतभन्दा डिजिटल कारोबारमा पाँच वर्ष पछाडि रहेको नेपाल बल्ल यसमा फैलिन थालेको छ। भारतमा ब्यांक एप, वालेट, टेलिफोन कम्पनी आदि सबैको आआफ्नै एप भए पनि प्रयोग बढेको वालेटमै हो। नेपालमा पनि वालेटको विस्तार र प्रयोग बढ्दै गएको छ।
नेपाल इलेक्ट्रोनिक पेमेन्ट सर्भिस (नेप्स) का सीईओ सञ्जीव सुब्बा कोरोनाभाइरसको महामारीपछि भुक्तानी प्रणालीको महत्व थप बढाउने र दायरा फराकिलो पार्ने अवसर बनेको बताउँछन्। डिजिटल भुक्तानीमा हरेक ब्यांकले आआफ्नो मोबाइल ब्यांकिङ सुविधा ल्याइसकेका छन्। अनलाइन ब्यांकिङको अभ्यास पनि बढ्दो छ। मोबाइल ब्यांकिङले खुद्रे भुक्तानीदेखि निश्चित आकारसम्मको रकम लेनदेन गर्न सकिने भएको छ। तर, यसलाई अझै माथिल्लो स्तरमा पुर्याउन राष्ट्रिय भुक्तानी प्रणाली आवश्यक रहेको र त्यसमा पनि प्रक्रिया धेरै अगाडि बढिसकेको सुब्बा बताउँछन्।
“अहिलेको समय हाम्रो खुद्रे भुक्तानी प्रणालीलाई डिजिटल भुक्तानीमा रुपान्तरण गर्ने निकै राम्रो अवसर हो”, उनी भन्छन्, “पैसाबाट संक्रमण हुनसक्छ भन्ने अहिलेको मनोदशाबाट लाभ लिन वालेटले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन्।” डिजिटल भुक्तानीको प्रयोग बढाउन प्रयोगकर्तालाई यसको महत्व राम्ररी बुझाउनुपर्ने भए पनि त्यसो हुन नसकेको उनको बुझाइ छ।
भुक्तानी प्रणालीले ब्यांकलाई विस्थापित गर्ने होइन। उसो त वालेट भन्ने प्रडक्ट अहिले संसारमा असामयिक र असान्दर्भिक हुँदै गए पनि नेपालमा भने भर्खरै फस्टाइरहेको देखिन्छ। यसले भविष्य यो कति लामो समय चल्ला त भन्ने प्रश्न उब्जिन्छ। सुब्बा भन्छन्, “वालेटविना नै मोबाइलबाट सोझैं सबै भुक्तानी हुने प्रविधिको विकास हुँदै गरेकाले वालेट किन चाहियो भन्ने प्रश्न पनि आउन थालेको छ। त्यसैले वालेटले आफ्नो महत्व साबित गर्न र अस्तित्व जोगाउन फरक विशेषताका साथ सेवा दिन सक्नुपर्छ।”