मेरो माया कुन देश-मुलुक
अमेरिकी प्राध्यापक एल्सवर्थ हन्टिङ्टन (सन् १८७६—१९४७) को इतिहासको परिभाषा घतलाग्दो छ । मानव र भूगोलको अन्तरसम्बन्धलाई परिभाषित गर्दै हन्टिङ्टन भन्छन्, “एउटा परिवेशबाट अर्को वातावरणमा मानिसको स्थानान्तरण सम्बन्धी अभिलेख नै व्यापक अर्थमा इतिहास हो ।”
इतिहासले प्रमाणित गरिसकेको छ, मानव घुमन्ते, फिरन्ते प्राणी हो । ऐतिहासिक घटनाक्रम नियाल्दा पनि यही तथ्य देखिन्छ । हूलका हूल युरोेपेलीहरू अन्तरमहादेशीय बसाइँ सरेर अमेरिका पुगे । युरोपेलीहरूकै एक भँगालो दक्षिण अमेरिका पुगे भने अर्को भँगालो अस्ट्रेलिया । अफ्रिकीहरू दासका रूपमा बलजफ्ती अमेरिकातिर धकेलिए । ती सबैका आ–आफ्नै बेहिसाब कथा–व्यथा छन्।
नेपालीहरू विभिन्न कालखण्डमा भारतीय उपमहाद्वीपका विभिन्न भूखण्ड चहार्न पुगे, भोलिको उन्नत भविष्यको सपना साँचेर । असंख्य नेपालीजन मातृभूमि छाडेर भारत, भूटान, बर्मा हुँदै थाइल्याण्डसम्म पुगे । कम्पनी सरकारको सिन्दूर पहिरिने लाहुरेहरूले युरोपको अपरिचित भूगोलमा पाइला टेके।
यी तमाम उहापोहपूर्ण स्थानान्तरणको घटनाक्रमले पक्कै पनि सुखदुःखका अनेकन् कहानी रचे होलान् । यस्ता कहानीमध्ये कति सुन्ने–सुनाउने काम भयो ? हिसाब–किताब लथालिङ्ग छ । प्रथम तथा दोस्रो विश्वयुद्धको सिलसिलामा फ्रान्स, इटाली, जर्मनी जस्ता मुलुक पुगेका नेपालीका कतिपय कहानीहरू थाहै नपाई कालातीत भइसके । भारत, भूटान र बर्मामा भेटिने नेपाली मूलका नागरिकले आफ्ना पितापुर्खाबाट सुन्दै आएका यायावरी–कहानी अझै पनि भुलेका छैनन् ।
अर्थसँग जोडिएको भाका
अभिलेखको आधारमा पनि नेपालीजन काम र मामको खोजीमा मुगलान भासिने इतिहास कम्तीमा पनि दुई सय वर्ष लामो छ । यो कालखण्डमा मुगलानी स्वयम् र गाउँघरमै छुटेका मुगलानीका प्रियजनहरूले लोकभाकामा थुप्रै पीर–व्यथा ओकले होलान् ? यस्ता मुगलानी कहानीहरू हाम्रा लोकभाकामा के–कसरी प्रतिविम्बित भएका छन् ? यो विशद अध्ययनको विषय बनेको छ ।
‘मेरो माया कहाँ गयो रुँदै,
पूर्व दिशा उज्यालो नहुँदै’
रचनाकाल र रचनाकार दुवै अज्ञात रहेको यो गीतमा मुगलानीको चिन्तामा छटपटाएको प्रियजनको पीर–व्यथा छचल्किएको छ । मुगलानीको पाइला र अनिश्चित भविष्यबारे प्रियजनको यो क्रन्दनले सिङ्गो मुगलानी समुदाय र तिनका आफन्तजनको कथा–व्यथाको तस्वीर उतारेको छ।
मेरो माया कुन देश–मुलुक
कहिले आउला घाम झैं झुलुक्क
पुरानो समयको निरक्षर समाज । न कुनै चुस्त सूचना प्रणाली न त मुगलानीको कुनै खैखबर । विदेशिएका प्रियजन कहाँ भौंतारिएका छन् ? कहिले फर्किने हुन् ? मुगलानीको बाटो हेरेर बस्ने आफन्तीको मन व्यथित छ । मुगलानी घर फिरुन् भन्ने तीव्र लालसा छ ।
प्रस्तुत गीतमा पुरानो समयको सामाजिक मनोविज्ञान झल्किन्छ । यो गीतको मौलिक गायकको परिचय लोकस्मृतिमा हराइसकेको छ । अहिले यो गीत दिलु गन्धर्व, भारतीय गायक अर्को मुखर्जी लगायतका कलाकारहरूको स्वरमा गुञ्जिएको पाइन्छ ।
जुग बदलिएको छ, पात्र फेरिएको छ । तर पनि, मानव जातिको यायावरी जीवनधाराको मूलभूत कहानी बदलिएको छैन । नयाँ अवसरहरूका खोजीमा मुगलान पस्ने क्रम रोकिएको छैन । बरू, मुगलानका नयाँ–नयाँ गन्तव्य थपिंदै गएका छन् । ६० लाख जति नेपाली संसारका विभिन्न कुनामा छरिएको तथ्याङ्क छ ।
विश्व ब्याङ्कले सार्वजनिक गरेको आप्रवासन सम्बन्धी प्रतिवेदन ‘माइग्रेसन एण्ड रेमिटेन्सेस फ्याक्टबुक २०१६’ ले नेपाललाई रोजगारका लागि उच्च संख्यामा नागरिक विदेशिने मुलुकको सूचीमा राखेको छ ।
विश्व श्रम संगठनले जारी गरेको प्रतिवेदनले देशको कुल गार्हस्थ्य उत्पादनमा विदेशीबाट आउने आयस्ता (रेमिटेन्स) को उल्लेखनीय योगदान रहने चौथो मुलुकका रूपमा नेपाललाई सूचीकरण गरेको छ ।
नेपालको कुल गार्हस्थ्य उत्पादनमा विदेशी आयस्ताको योगदान २९ प्रतिशतभन्दा बढी छ, जुन कृषिबाट प्राप्त हुने योगदानभन्दा बढी हो । नेपालमा कृषि क्षेत्रबाट कुल गार्हस्थ्य उत्पादनमा २७ प्रतिशत मात्र योगदान छ।
ठूलो मात्रामा विदेशी आयस्ता भित्रिएसँगै यन्त्रणा र हैरानीका अनेकौं व्यथा भित्रिन थालेका छन् । कोइलाखानीको अँधेरोमा घण्टौं श्रम गर्ने पसिनाजीवी, ज्यानको पर्वाह नगरी लडाइँमा होमिन अभिशप्त लाहुरे, अरबको मरुस्थलमा भेडाको स्याहार–सुसारमा जुट्ने गोठालो, मालिकबाट प्रताडित घरेलु कामदार अनि कुल्ली–दरबानका कथा–व्यथाहरू अवर्णनीय छन् ।
यता, स्वदेशमै ओभरसिज कम्पनीका मालिक र एजेन्टहरूले आफ्नै बन्धुबान्धवलाई घर न घाट बनाएका कथा–उपकथाहरू कहिनसक्नुको छ ।
मुगलानले धेरै स्वप्नजीवीका जीवनमा आर्थिक समृद्धि ल्यायो होला तर यसले जनमनमा जकडिएर बसेका विछोड र वेदनाको पहाड भने भत्काउन सकेको छैन । कतिपय अवस्थामा त यस्ता पीरव्यथाहरूकोे पहाड झन् अग्लिंदै गएको छ, जुन विभिन्न माध्यमबाट व्यक्त भइरहेका छन् ।
गन्धर्व समुदाय हरप्रकारको लोकवेदनालाई गेयात्मक ढङ्गमा गलामा उतार्न खप्पिस छ । तीसको दशकमा जनकवि केशरी धर्मराज थापा (वि.सं. १९८१–२०७१) लमजुङ भ्रमणमा निस्कँदा उनले मानेचौका भन्ने ठाउँमा गन्धर्वहरूको गीत सुन्ने मौका पाएका रहेछन् । उनले सुनेको गीत यस्तो छ :
मेरो माया कुन देशमा पुग्या छ
घरमा जुत्ता पैतला दुख्या छ
(लोकसंस्कृतिको घेरामा लमजुङ, २०४१, पृ.१४३)
पुरानो युगको गीत भए पनि यसमा वर्तमान बोलेको छ । मुगलानीहरू विभिन्न परिबन्दमा जेलिएर घरपरिवारसँग टाढिएका छन् । अहिलेको सूचनाको युगमा पनि मुगलानी र परिवारजनको बोलीसम्म मिसिन पाएको छैन । प्रस्तुत गीतले मुगलानीको चिन्तामा छटपटिएका आफन्तजनको पीडा विम्बात्मक रूपमा चित्रण गरेको छ।
मुगलानी साहित्य
मुगलानले थोपरिदिएको तमाम पीर–व्यथाहरूको वर्णन लिखित साहित्यमा यथेष्ट मात्रामा भेटिन्छन् । ‘मुलुकबाहिर’ (वि.सं. २००४), बसाइँ (वि.सं. २०१४), ‘चपाइएका अनुहार’ (वि.सं. २०३०), ‘मुगलान’ (वि.सं. २०३१), ‘शरणार्थी’ (वि.सं. २०५६) आदि यसका दृष्टान्त हुन् ।
बहुचर्चित काव्यकृति ‘मुनामदन’ (वि.सं. १९९२) मुगलानी जिन्दगीको अर्को संस्करण हो । त्यसमा धनार्जनका लागि तिब्बत (भोट) जाने नेपालीको कारुणिक कथा छ, जुन धेरै नेपालीका लागि सुपरिचित प्रसङ्ग हो ।
कृतिकार महाकवि लक्ष्मीप्रसाद देवकोटा स्वयम् र पाठकका लागि उत्तिकै प्रिय रचना ‘मुनामदन’ धेरै पटक पुनः प्रकाशन भइसकेको छ । मुगलानी जिन्दगीको हैरानीलाई समेट्ने यत्तिको बेजोड काव्यधारा नेपाली साहित्यमा अर्को भेटिंदैन, शायद ।
जब सुनियो सुस्केरा
२००७ सालमा राष्ट्रिय प्रसारण संस्था ‘रेडियो नेपाल’ को स्थापना हुनु र बीसको दशकमा स्वराङ्कन प्रविधि भित्रिनु देशको साङ्गीतिक परिदृश्यमा महत्वपूर्ण परिघटना थपिएका हुन्, जसबाट वनपाखामा सीमित लोकभाकाहरू विद्युतीय वायुतरङ्गमार्फत जनडबलीको फराकिलो घेरामा विस्तारित हुन थाले ।
त्यसपछि अन्य लोकगीतका अतिरिक्त मुगलानी जिन्दगानीका आयामलाई छोएर गाइएका भाकाहरू गुञ्जन थाले । झलकमान गन्धर्व (वि.सं. १९९२—२०६०) को बहुचर्चित गीत ‘आमाले सोध्लिन् नि खै छोरो भन्लिन्’, जेबी टुहुरेको ‘बसाइँ हिंड्नेको ताँतीले सबको मन रुवाउँछ...’, लोकबहादुर क्षेत्री (वि.सं. २०१८–२०५०) को ‘आमा रुँदै गाउँबेंसी मेलैमा, छोरो रुँदै गोरखपुर रेलैमा’, हरिदेवी कोइरालाको ‘पाइनँ खबर, घर फर्की आउनुहोस् मेरो हजूर’, नारायण रायमाझीको ‘पसिनाले पैसा साटेर...’ जस्ता मर्मभेदी गीतहरूलाई दृष्टान्त मान्न सकिन्छ ।
मुगलानले दिएको बेहिसाब चोटको सँगालो जस्ता देखिने यी मार्मिक आवाजले नेपाली मनहरूको वस्तीमा आँसुको भीषण बाढी ल्याइदिए । गीत सुन्नेको आँखा निथ्रुक्कै भिज्न थाले ।
गीतको वस्तुकरण
यी गीतहरूले अर्को काम पनि गरे । त्यो हो, मुगलानी पीडाको वस्तुकरण (कमोडिफिकेसन) । यी गीतहरूले साङ्गीतिक उडानको वेग हानेपछि मुगलानलाई केन्द्रीय विषयवस्तु बनाएर व्यावसायिक रूपमा असंख्य गीत तथा म्युजिक भिडियो उत्पादन भए ।
यो पनि पढ्नुहोस्
गीत वस्तुकरण हुनुभन्दा अघिका गीत भाव प्रकाशनको माध्यम मात्र थियो । त्यसपछिका गीत नाम र दाम कमाउने माध्यम बन्न थाल्यो । ‘फुल्यो बामरी...’, ‘सुन साइँली...’, ‘बोल माया...’ जस्ता गीतलाई यसैको नवीनतम संस्करण मान्न सकिन्छ । यी गीतहरूमा मुगलानी जीवन, लोकप्रिय संस्कृति र गीत वस्तुकरणको त्रिवेणी भेट्न सकिन्छ ।
प्राध्यापक बद्री नारायणले सन् २०१९ मा प्रकाशित पुस्तक ‘कल्चर एण्ड इमोसनल इकोनोमी अफ माइग्रेसन’ मा बसाइँ सरेर संसारका विभिन्न कुनामा पुगेका भारतीयहरूले निर्माण गरेका ‘पपुलर कल्चर’ को चर्चा गरेका छन् ।
लोकगीतको अर्थतन्त्र
नेपाली लोकगीतको अर्थतन्त्रको दायरा कत्रो छ ? यसबारे यथार्थ अध्ययन भएको भेटिंदैन । यसबारे व्यापक अध्ययन हुन बाँकी नै देखिन्छ । यद्यपि, लोकगीतको अर्थतन्त्रलाई छोएर केही अध्ययन नभएका होइनन् ।
उदाहरणका लागि नेपाली लोकगीतमा विद्यावारिधि गरेकी युनिभर्सिटी अफ हवाइकी एसोसिएट प्रोफेसर आना स्टरले नेपाली लोकगीतको आर्थिक पाटो समेत समेटेर ‘हिमालय’ जर्नल (सन् २०१८ जून) मा एउटा आलेख प्रकाशित गरेकी छन् । आलेखमा नेपाली लोकगीतलाई विभिन्न कोणबाट ओल्टाई–पल्टाई गरिएको भए पनि लोकगीत–अर्थतन्त्रको गणितीय आँकडा भने भेटिंदैन ।
कति मौलिक ?
लोकगीतको अर्थतन्त्र र वस्तुकरणको तानाबाना बुनिन थालेपछि यसको पाश्र्व प्रभाव (साइड इफेक्ट) देखाप¥यो ।
बजारु गीतको ज्वारभाटा उर्लन थालेपछि वनपात र मेलापातमा मुगलानसँग जोडिएका विरह–व्यथा, विरहिणी स्वर सुनिन छाड्यो । गीत निर्माणको सहज र स्वाभाविक प्रक्रिया अन्त्य हुन पुग्यो ।
वस्तुकरण गरिएका गीतले मुगलानी जीवनको हाँसो–रोदनलाई कुन गहिराइसम्म समेट्न सक्छ ?
समयको परिवर्तनसँगै आएका नवनिर्मित गीत कति मौलिक हुनसक्छ ? गीतको रचनागर्भ कसरी तयार हुन्छ ? यावत प्रश्नको उत्तर खोज्न व्यापक शोधकार्य हुन आवश्यक छ ।