‘राम्दी पुल तरने बित्तिकै, बाँचे भेट मरे त यत्तिकै’
माछीकाँडे डाँडाजस्तै मुग्धकारी यी हाम्रा लोकभाकाहरूले खेतबारीमा काम गर्दा शिरमाथि लाग्ने टन्टलापुर घाम बिर्साउँछन्, माकुरीजाल झैं कलात्मक यी भाकाले हिउँदका लामा अँधेरी रातहरू काट्न सहयोग गर्छन् ।
जहाँ ढुङ्गा–ढुङ्गा देवताको बास छ
जहाँ थुम्का थुम्कामा स्वर्गको आभास छ
यो देश मेरो हो ।
धेरै नेपाली मनमा देशप्रेमको भावना उमार्ने यो गीतले हाम्रा थुम्का र पहाडहरूको स्मृति जागा गराइदिन्छ । पहाडी थुम्काहरू लोकगीतको खानी मानिँदै आएका छन् । पहाडी लोकजीवनमा पहाडी लोकलयहरू युगौँदेखि पानीमा चिनीभैmँ घुल्दै आएका छन् ।
पहाडी जीवनमा लोकलयहरू सुखदुःखका अभिन्न साथी बन्छन् । त्यसो त, पहाडी जीवनको चाल नै सङ्गीतमय छ । लोकजीवन सङ्गीतप्रधान छ । उकाली–ओराली र देउराली–भञ्ज्याङहरूसँग लोकलयको युगौंँ पुरानो मितेरी छ । बादलुसँग लुकामारी खेल्ने पहाडी चुचराहरूबाट लोकलयका असंख्य भावधारा बगेका छन्, जसका माध्यमबाट लोकजीवनका भावप्रकाशन हुँदै आएका छन् ।
मौलिक, विशिष्ट र विविध
विश्वमानचित्रमा नेपालले ओगटेको भाग औंलाको टुप्पो जतिमात्र छ । यति सानो भौगोलिक सरहदभित्र लोकलयको उर्वरपन र विविधता लोभलाग्दो छ ।
एउटै डाँडाको वारि–पारि पनि भाषा र लवज फरक पर्ने सानो देशमा विशाल विविधता छ । विविधताको यो विशालतामा अनेकन् लोकलय अस्तित्वमा आएका छन् ।
पालम, हाक्पारे, हुर्रा लगायतका रैथाने भाकाहरू पूर्वी पहाडको जनजीवनमा धुकधुकी बनेर धड्किन्छन् । जैविक विविधताको खानी मानिएको अरुण उपत्यकामा गुञ्जने लालित्यपूर्ण लोकलयहरूमा स्थानीय जीवनशैलीको स्पन्दन भेटिन्छन् । काठमाडौँ उपत्यका वरिपरि गुञ्जने तामाङ सेलो, काँठे भाका आदिले स्थानीय साङ्गीतिक माहोलमा रौनक थप्दै आफ्नै पहिचान दिँदै आएका छन् ।
गण्डकी–धौलागिरि भेगको लोकजीवन झनै सङ्गीतमय छ । लमजुङे भाका (कर्पुटारे भाका), झाम्रे, यानीमाया, सुनीमाया, सालैज्यू, रोइला, आँधीखोले भाका, कौरा आदि लयहरू त्यस क्षेत्रका भावधारा र जीवनधारा दुवै बनेका छन् । लोकजीवनको धार्मिक तथा आध्यात्मिक पाटोसँग गाँसिएका घाँटु, भजन, कृष्णचरित्र र बालुन त्यस क्षेत्रको लोकसङ्गीतमा अर्को आयाम थपेका छन् ।
राप्तीभन्दा पश्चिमतिरको पहाडी लोकजीवन पनि कम सङ्गीतमय छैन । टप्पा, सिङारु, देउडा, धमारी, ख्याली, हुड्केलीजस्ता लोकलयले त्यस क्षेत्रको लोकजीवनलाई जीवन्त, रसमय र प्रेमिल बनाएका छन् ।
माथिका सूची त पहाडी लोकलयका मोटामोटी दृष्टान्त मात्र हुन् । पहाडी लोकलयहरूको सूची निकै लामो छ । यिनका अनेक भेद–उपभेदहरू छन्, जसमा ऋतुकालीन गीत तथा चाडपर्वसँग सम्बन्धित गीतलाई पनि पहाडी लोकलयका वंशवृक्ष ज्यादै व्यापक बन्न पुग्छ । यो वंशवृक्ष यति विविधतापूर्ण छ, देशको एउटा हिस्सामा गुञ्जिने एउटा लोकलय अर्को हिस्सामा बिरानो बन्न पुग्छन् ।
यस सन्दर्भमा जनकवि केशरी धर्मराज थापा लेख्छन्– राङखानी भेगमा अलापिएको सालैज्यू भाका लिम्बूवानका लिम्बूहरूले अलाप्त सक्तैनन् । उनीहरूको गलाको लागि यो लय र अभिव्यक्ति नौलो ठहर्छ, त्यस्तै लिम्बूवानको हाक्पारे राङखानीका मगरहरूका लागि अपरिचित (गण्डकीका सुसेली, २०३०, पृ.११–१२) । थापाकै गलामा गुञ्जिएको गीतले यो प्रसंगलाई अझ प्रष्ट पार्न सघाउँछ:
हुक्का मेरो सानु सानु, नली हस्ती हाडको
यो त भाका यहाँको होइन, पूर्वी पहाडको
सापेक्षित रूपमा सानो भूगोलमा कसरी यति धेरै साङ्गीतिक विविधता अङ्कुराउन र हुर्किन सक्यो ? पहाडी लोकभाकाहरूले कसरी आफ्ना बेग्लै गुण र वैशिष्ट्य जोगाउन सके त ?
कसरी जोगियो लोकभाका ?
२००७ सालको राजनीतिक परिवर्तनअघि नेपाल ‘बन्द समाज’ थियो । विदेशीकोे आउजाउ थिएन । यद्यपि, त्यस अघि नेपाली भूमिमा विदेशीले पाइला टेक्दै नटेकेका भने होइनन् । विदेशी मिसनरी, राजदूत, यायावर, तीर्थालु, व्यापारी आदि नेपाल आउजाउ गर्थे । पहिले पनि धेरै विदेशी नेपाल आएको पुष्टि प्रसिद्ध चिनियाँ तीर्थयात्री वाङ–युवान्–चेको यात्रा वृत्तान्तले गर्छ ।
वाङ–युवान्–चे नेपालको साङ्गीतिक जीवनबारे यस्तो वर्णन गर्छन्– नाचगान गर्नमा यहाँका नागरिकहरू आनन्द मान्ने गर्छन् । मुखले बजाउने बाजा र ढोलकहरू बजाउनमा यहाँका निवासीहरू निकै नै निपुण देखिन्छन् (बाबुराम आचार्य, नेपालको सांस्कृतिक परम्परा, २०६८, पृ. ५८) ।
राणा शासनको अन्त्यअघि नेपालमा एकप्रकारको निषेधपूर्ण वातावरण थियो । त्यतिमात्र नभई बाटोघाटोले पनि पहुँचयोग्य थिएन । उत्तरको दुलङ हिमालय । दक्षिणतिर बाघ, भालु, गैँडा–हात्तीजस्ता हिंस्रक जनवार र औलोयुक्त घना जङ्गल । यी प्राकृतिक पर्खालले नेपाललाई एउटा दुर्गम किल्लामा परिणत गरिदिएको थियो ।
समयक्रममा बाहिरी दुनियाँसँग घुलमिल हुँदै जाने क्रममा तराई–मधेशमा भारतीय र हिमाली भेगमा तिब्बती संस्कृतिकोे प्रभाव पर्न थाल्यो । मध्यपहाडी भेगको संस्कृति भने बारेर राखिएको तिलजस्तै लामो समयसम्म मौलिक र सुरक्षित रहन सक्यो ।
मध्यपहाडी भेगमा प्रचलित लोकभाकाहरू आजैसम्म पनि बिछट्टै मौलिक देखिन्छन् । सङ्गीतसम्बन्धी विदेशी अध्येताहरूले नेपाली पहाडका लोकलयहरूको विशिष्टता र सुमधुरपनलाई अतुलनीय भन्दै आएका छन् । यी श्रुतिमधुर लयहरूबाट फैलने सम्मोहनकारी तरङ्गले पहाडी संस्कृतिको तापमान बढाइरहेका छन् ।
पहाडी लोकभाकाको यात्रा
पहाडी कुना–कन्दरामा सीमित लोकलयहरूले समयक्रममा समथर यात्रा गर्न थाले । कहिलेदेखि ? यसबारे स्पष्ट समयरेखा कोर्न त गाह्रै छ, तापनि सन् १८१६ को सुगौली सन्धिपछि पहाडी लयहरू दक्षिणतिर फैलन थालेको मान्न सकिन्छ । पहाडवासी युवालाई गल्लावालले गोर्खा भर्ती केन्द्रतिर डो¥याउन थालेसँंगै लोकभाकाको यात्रा शुरु भएको देखिन्छ ।
उबेला लमजुङ, तनहूँ, कास्की, बाग्लुङ आदि जिल्लाका युवालाई गल्लावालहरूले स्याङ्जा, पाल्पा, खस्यौली, बटौली, भैरहवा हुँदै भारतका नौतनवा, गोरखपुर, लाहोर (अहिले पाकिस्तान) लगायत स्थानका गोर्खा रिक्रुट सेन्टर पुर्याउँथे । हप्तौं लामो यात्राको क्रममा उनीहरू बास परेका ठाउँमा गाउँका भाका र बाटोमा सुनिएका लय गुनगुनाउँथे ।
लोकगीतको दृष्टिले उर्वर मानिने स्याङ्जाको आँधीखोला लाहुरेहरू आउजाउ गर्ने बाटोमा प¥थ्यो । आँधीखोले भाका फैलाउन लाहुरे र ढाक्रेहरूको ठूलो योगदान छ । आज पनि आँधीखोले भाका चर्चित छ ।
भोलि यतिबेला
चामल–रोटी झोलामा
दाइ त आँधीखोलामा ।
यस्ता चोटिला आँधीखोले रोइला आज पनि लमजुङ, तनहूँ, कास्की, बाग्लुङलगायतका कतिपय जनसाधारणको गलामा गुञ्जिरहेका छन् । गोर्खा पल्टनको छाउनीहरूमा यी र यस्ता लोकभाका उहिल्यैदेखि गुञ्जन थालेको इतिहास पाइन्छ । यसले पहाडी लोकभाकाको यात्राकालको संकेत दिन्छ ।
पोखरा र बटौली जोड्ने सिद्धार्थ राजमार्ग बन्नुअघि लाहुरे, ढाक्रेलगायतका बटुवाहरू हिँडेरै लामो यात्रा गर्थे । बाटोमा पर्ने कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल थियो । राम्दी पुल नामले परिचित त्यो पुलको ऐतिहासिक पक्षबारे धर्मराज थापाले एउटा रोचक प्रसंग उल्लेख गरेका छन् ।
थापाका अनुसार राणाकालमा त्यो लामो झोलुङ्गे पुलमा बारको राम्रो व्यवस्था थिएन । बीच–बीचका फट्टा उप्किएकाले बटुवा हिँड्दा भयानक ढङ्गले हल्लिन्थ्यो । पुल तर्दा बटुवा त्रस्त हुन्थे । बटौली, पाल्पा, पोखरा आउजाउ गर्ने ढाक्रे, लाहुरे र अरु बटुवाहरू ‘राम राम’ भन्दै त्यो खतरनाक झलुङ्गे पुल तर्थे । त्यसबारे सर्वाधिक चर्चित लोकवाणीः
राम् राम् राम्दीको पुल
खस्यौ भने बाँचुला नभन
(गण्डकीका सुसेली, २०३०, पृ.१२१) ।
समयक्रममा राम्दी पुलबारे अनेकन् गीत कोरलिए । अहिले राम्दी पुल लोकजीवनको मीठो विम्ब बनेको छ । छुट्टी पूरा हुन नपाउँदै लडाइँमा जानुपर्ने बाध्यता फसेका लाहुरेको जीवनसँग सम्बन्धित गीत पनि निकै चर्चित छ:
राम्दी पुल तरने बित्तिकै,
बाँचे भेट मरे त यत्तिकै
जीवनको अनित्यपन संसारको कठोर वास्तविकता हो । जीवनको के भरोसा ? कुनै पनि बेला संसारसँग नाता तोड्नुपर्ने अवस्था आउन सक्छ । यही वास्ताविकतालाई विम्बात्मक रूपमा लोकगीतमा प्रतिविम्बित गरिएको पाइन्छ:
अहिले साल मरिन्छ क्यारे
राम्दीमा ओइलायो पीपलु
जीवनको तस्बिर भेटिने यी गीतहरूलाई एउटा भूगोलबाट अर्को भूगोलमा पुर्याउने काम उनै बटुवा, लाहुरे र ढाक्रेहरूले नै गरे । मानिसको गतिशीलतासँगै पहाडी लोकलयको यात्रा तीव्र बन्दै गयो ।
यसरी, बाटोघाटो, पुलहरूसँग नाता गाँस्दै चलयमान बनेको पहाडी लोकलयहरूसँग विदेशीको समेत दिलचस्पी बढेको देखिन्छ । प्रसंग जोडिन आइपुग्छ, एक अमेरिकी पिस कोर स्वयम्सेवकको । ति स्वयंसेवक टेरेन्स बेख सन् १९६४ मा नेपाल आइपुग्छन् । नेपाली लोकसङ्गीततिर उनको रुचि घनिभूत हुँदैजान्छ ।
बेखले नेपाली लोकगीत रेकर्ड गर्नकै लागि नेपालभर १५ हजार किलोमिटर यात्रा गर्छन् । नेपाली टाइम्स् मा सन् २०११ मा प्रकाशित एक रिपोर्ट अनुसार १९६६ मा स्वदेश फर्किने बेलासम्म बेखले २६० घण्टाको लोकगीत रेकर्ड गरेका थिए ।
रिपोर्टमा बेखको नेपाल बसाइका केही प्रसंग उल्लेख छ । उनले एक पटक राउटे बस्तीमा पुग्दाको अविष्मरणीय घटना सम्झेका छन् । मध्यपहाडी क्षेत्रको हप्तौँको यात्रापछि राउटे बस्तीमा पुग्दा उनी त्यहाँ महिला र केटाकेटीमात्रै भेट्छन् । कुइरेलाई देखेर उनीहरू छाप्रोभित्रै लुक्छन् । शिकार खेलेर अर्को दिन आइपुगेका मुखियालाई बाख्रो उपहार दिएर राउटे समुदायको नाचगान हेर्न र गीत रेकर्ड गर्न सफल हुन्छन्, बेख ।
नेपाल बसाइको अवधिभर बेखले २०० म्युजिक नोट, सात हजार ५०० गीतका टेक्स्ट, १२० वटा बाजा, ४१ जना सङ्गीतकारका जीवन–वृत्तान्त र हजारौँ तस्बिर सङ्कलन गर्छन् । उनका ती अमूल्य नेपाल सङ्कलन अहिले इन्डियाना युनिभर्सिटीमा छ । बेखद्वारा सङ्कलित नेपाली लोकभाकाका प्रतिलिपि इन्डियाना युनिभर्सिटीको अनुमतिमा मदन पुरस्कार पुस्तकालयमा पनि राखिएको छ ।
बिरानो नबनोस्
विश्वको कुल जमिनको करिब २६ प्रतिशत हिस्सा पहाडले ओगटेको छ । पहाडी भेगमा अनेकन शैली र बान्कीका गीत गाइन्छन् । चीन र ताइवानका हक्का समुदायमा प्रचलित अतिशय लोकप्रिय पहाडी भाकालाई सानो दृष्टान्त मान्न सकिन्छ । विश्वभरका पहाडी भूभागमा यस्ता असंख्य लोकलय त्यहाँका जीवनशैलीको अभिन्न अङ्ग बन्न पुग्छन् ।
२००२ मा निस्किएको ‘क्लासिक माउन्टेन सङ्स’ मा अमेरिकाका क्यारोलिना, भर्जिनिया र टेनिसी राज्यका पहाडी लोकगीत समेटिएका छन् । १९४७ मा सार्वजनिक अमेरिकी गायक तथा गीतकार मर्ल ट्राभिस (सन् १९१७–१९८३) को अल्बम ‘फोक सङ्स अफ दि हिल्स’ मा रेलमार्ग र कोइलाखानीका श्रमजीवी वर्गको सङ्घर्षपूर्ण जीवनगाथा समेटिएका छन् । यस्ता पहाडी गीतहरूको सूची निकै लामो छ ।
नेपालमा पनि पहाडी लयहरूलाई उजागर गर्ने सङ्ठित प्रयास भएको पाइन्छ, जसमध्ये एक हो– २०२४ सालको श्रीपञ्चमीमा जन्मेको ‘लेकाली समूह’ । यो समूहमा हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ, गणेश रसिक, तीर्थ शेरचन, न्हुच्छेबहादुर डङ्गोल र नीरा श्रेष्ठ थिए ।
‘रातो भाले क्याँएक क्याँएक’, ‘लहरा पहरा छहराको देश’, ‘गाईले खाने आगोले खायो वन’, ‘बस बस रे बसुन्धरा बैनी’ जस्ता लोकजीवनको भावोद्गार ‘लेकाली समूह’ बाट भएको थियो । यी गीतहरू आजपर्यन्त लोकहृदयमा खोपिएर बसेका छन् ।
लोकहृदयकोे यस्ता कल्पनाशील भावको उचित संरक्षण र अभिलेखीकरण हुन सकेको छैन । बाह्य संस्कृतिप्रति बढ्दो मोहका कारण धेरैजसो लोकलय समयको गर्भमै हराइसकेका छन् । अहिले, सामाजिक तथा सांस्कृतिक परिवर्तनको गति उच्च छ । यसले हाम्रा मौलिक लोकलयहरूलाई प्रतिपल बिरानो बनाउँदै लगेको छ ।
अस्ताउँदो भाका
यी तमाम पहाडी भाका पाखुरीको तागतमा बाँच्ने कर्मजीवीहरूका लागि जीवन–आदर्श भएका छन्, मन भुलाउने र मन बुझाउने माध्यम बनेका छन् । समग्रमा भन्दा, यी जीवनका आधार भएका छन् ।
कर्मजीवीहरूसँग प्रत्यक्ष नाता गाँस्ने यस्ता पहाडी लोकभाका ओझेलमा पर्दै गएका छन् । किनकी हामीकहाँ लोकगीतसम्बन्धी अनुसन्धान संस्कृति एकदमै कमजोर छ ।
समयको प्रवाहमा हाम्रो मौलिक लोकभाका कृष्णपक्षको चन्द्रमाको कलाझैं निरन्तर ऋणात्मक बन्दै गएको छ । सांस्कृतिक दृृष्टिले यो प्रतिकूल घडीमा विश्वमाझ नेपालको मौलिक पहिचानको भण्डा फहराइरहने हो भने यी लोकलयहरूको गम्भीर खोज–अनुसन्धान र अभिलेखीकरण गर्नुको विकल्प छैन ।