रातो मत्स्येन्द्रनाथको रथयात्रा अब के हुन्छ? सर्वपक्षीय भेलाको निर्णय- क्षमापूजा र विधि पुरा गरी समापन गर्ने
निषेधाज्ञाका बीच रातो मच्छिन्द्रनाथको रथ तान्न खोज्दा प्रहरीसँग झडप भएपछि अब उक्त रथ तानिन्छ वा तानिदैन भन्ने अन्योल भएको छ।
रातो मच्छिन्द्रनाथलाई दशैंअघि नै बुङ्मतीसम्म पुर्याउनुपर्ने परम्परा रहेकोमा समय घर्कंदै गएपछि आज ललितपुरका स्थानीयले रथ तान्ने प्रयास गरेका थिए।
२ असोजपछि मलमास लाग्न कारणले उक्त समयमा रथ तान्न नहुने मान्यता रहेको छ। त्यसैले आज रथ तान्न खोजिएको थियो। यद्यपी ललितपुरका स्थानीय सरकार, ज्यापु समाज लगायत अन्य जातीय समूहले पनि आज रथ तान्नेबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन्।
कोरोनाको जोखिम कम गर्न भन्दै स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको अवधिमा रथ तान्न खोज्ने समूहलाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यलयमा ललितपुर महानगरपालिका, ललितपुरका सांसदहरू, ज्यापु समाज, गुठी संस्थान र १९ वटा जातीय समूहका प्रतिनिधिधले अब मच्छिन्द्रनाथको रथलाई कसरी तान्ने भन्नेबारे छलफल गरेका छन्।
ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नारायणप्रसाद भट्टले संक्षिप्त विधिबाट प्रक्रिया पूरा गर्नेगरी निर्णय भएको हिमाल खबरलाई बताए।
“कोरोनाको जोखिमका कारण परम्परागत तरिकाले रथ तान्न सम्भव भएन। त्यसैले सबै सरोकारवालासँग छलफल गरेर संक्षिप्त विधिबाट प्रक्रिया पूरा गर्ने निर्णय गरेका छौं” उनले भने, “यसका लागि गुठी संस्थानले सबै सरोकारवालासँग परामर्श गरेर व्यवस्था मिलाउने छ। आजको छलफलले समन्वयको जिम्मा गुठी संस्थानलाई दिएको छ।”
प्रजिअ भट्टले एकाध दिनमा क्षमा पूजा गरिने र त्यसपछि साइत हेराएर जात्राको अन्य विधि पूरा गर्ने बताए। अब गुठी संस्थानले पुजारी, ज्योतिष, तथा अन्य सरोकारवाला समूहसँग छलफल गरेर यसको विधि टुङ्ग्याउने छ।