शुक्रबार दिनभर ललितपुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यू
ललितपुर जिल्ला प्रशासन कार्यालयले भोलि ललितपुरको चक्रपथ क्षेत्रभित्रको इलाकामा कर्फ्यू आदेश जारी गरेको छ।
बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा झडप भएपछि तनावपूर्ण बनेको स्थिति नियन्त्रणका लागि प्रशासनले भोलि कर्फ्यू आदेश जारी गरेको हो।
ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नारायणप्रसाद भट्टले बिहान शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्मलाई कर्फ्यू आदेश जारी गरिएको हिमालखबरलाई बताए।
उनका अनुसार बल्खु पुलदेखि मनहरा पुलसम्मको क्षेत्र र ललितपुर महानगरपालिकाको चक्रपथ भित्रको क्षेत्रमा लागू हुने गरी कर्फ्यू लगाइएको हो।
कर्फ्यूको समयमा आवत-जावत गर्न, भेला हुन र जुलुस निकाल्न रोक लगाइएको उनले बताए।
यद्यपी स्वास्थ्य सेवा, प्रेस, दमकल, लगायत अन्य अत्यावश्यकीय सेवामा रोक लाग्ने छैन। त्यसका लागि छुट्टै पास पनि आवश्यक नपर्ने प्रजिअ भट्टले बताए।