वीर अस्पतालका ७१ जना कर्मचारीलाई कोरोना संक्रमण, दुई दिनका लागि ओपीडी सेवा बन्द
राजधानीस्थित वीर अस्पतालमा ७१ जना कर्मचारी र स्वासथ्यर्कमीलाई कोरोना संक्रमण पुष्टि भएपछि दुई दिनका लागि अस्पताको बहिरंग सेवा (ओपीडी) बन्द हुने भएको छ।
अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले हिमालखबरसँग कुरा गर्दै मंगलवारसम्ममा कुल ७१ जना कर्मचारी संक्रमित भएको पुष्टी गरेका हुन्।
डा. सेन्चुरीले एकै पटक धेरै कर्मचारी र स्वास्थ्यकर्मी संक्रमित भएका कारण बुधबारदेखि लागू हुने गरी दुई दिनका लागि बहिरंग विभागको सेवा बन्द गरिने बताए।
“दुई दिनमा संक्रमित कर्मचारीलाई आइसोलेसनमा राख्ने, थप कर्मचारीको व्यवस्थापन गर्ने र अस्पताललाई सफा गरेपछि शुक्रबारदेखि फेरि सेवा शुरु हुन्छ,” उनले भने।
डा. सेन्चुरीका अनुसार बहिरंग सेवा बन्द भए पनि अस्पतालको इर्मेजेन्सी, फिभर क्लिनिक, केही प्रयोगशाला र शल्यक्रिया कक्ष भने खुला हुनेछ।
उनले अस्पतालको फार्मेसीमा मात्र २० जना कर्मचारीलाई संक्रमण देखिएको बताए। अस्पतालको अंकोलोजी विभाग प्रमुख डा. विवेक आचार्यका अनुसार मंगलबारसम्म दुई नर्स र एक जना बिरामीमा कोरोना संक्रमण देखिएको छ।
वीर अस्पतालको दन्त रोग, रेडियोलोजी, नाक, कान तथा घाटी रोग लगायतका विभागमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको हो।
यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित देखिएका कर्मचारीलाई आइसोलेसनमा राखेर थप कर्मचारीको व्यवस्थापन गरेपछि सेवा शुरु गरिने बताए।