अस्पतालबाटै फैलिंदैछ कोरोना, संक्रमण नियन्त्रणका लागि शुक्रराज अस्पतालबाट के सिक्ने ?
१० माघ २०७६ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमित पहिलो व्यक्ति भेटिएको विवरण सार्वजनिक गर्यो। त्यति बेलासम्म मुलुकमा कोरोना संक्रमितको उपचार गर्ने पूर्वाधार शून्यप्रायः थियो। कोरोना विशेष अस्पताल एउटा पनि थिएन। ‘नेपालमा कोरोना आउँदैन’ भन्ने मानसिकताका कारण सरकारले कोरोना नियन्त्रण र उपचारका लागि आवश्यक पूर्वाधार बनाउनेतर्फ ध्यान दिएकै थिएन।
पहिलो कोरोना संक्रमितको, संक्रामक रोगको उपचार हुने मुलुककै एक मात्र स्वास्थ्य संस्था शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरेर उपचार गरियो। त्यतिबेला जम्मा तीन बेडको आईसीयू वार्ड रहेको अस्पतालमा बल्ल आइसोलेसन वार्ड स्थापना गर्ने र संक्रमितको उपचारका लागि आईसीयू लगायत पूर्वाधार स्थापना गर्ने छलफल शुरू भएको थियो।
२०७६ माघमा हिमालखबरसँग कुरा गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्व निर्देशक डा. बाबुराम मरासिनीले भनेका थिए, “अस्पतालहरूमा कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम गर्ने पूर्वाधार कमजोर छ। एउटा रोगको उपचार गर्न अस्पताल गएको बिरामी अर्को रोग बोकेर फर्कनुपर्ने विडम्बना छ, यो स्थितिको अन्त्य गर्न संक्रमण नियन्त्रण गर्ने पूर्वाधार अत्यावश्यक छ।”
डा. मरासिनीले भने जस्तै अहिले अधिकांश अस्पताल कोरोना संक्रमण नियन्त्रण र रोकथाममा कमजोर देखिएका छन्। कोरोना संक्रमितको उपचार गर्ने धेरैजसो अस्पतालमा संक्रमितबाट डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मी र अन्य बिरामीमा संक्रमण सरेको छ। यसले अस्पतालहरू संक्रमण नियन्त्रण तथा रोकथाममा कत्तिको तयार रहेछन् भन्ने प्रष्ट पारेको छ।
तर, शुक्रराज अस्पताल मात्र एउटा अस्पताल हो, जहाँ पहिलो कोरोना संक्रमितको उपचार शुरू भएदेखि १५ भदौसम्म आइपुग्दा एक जना पनि स्वास्थ्यकर्मीलाई संक्रमण भएको छैन। यस्तै, उक्त अस्पतालमा उपचाररत संक्रमितमध्ये एक जना बिरामीको पनि ज्यान गएको छैन।
१४ भदौसम्ममा शुक्रराज अस्पतालमा कोरोनाका २७० जना बिरामीको उपचार भइसकेको छ। यीमध्ये अहिले ५१ जना उपचाररत छन्, जसमध्ये १९ जना सिकिस्त बिरामीको आईसीयूमा उपचार भइरहेको छ।
संक्रमण नफैलिने गरी यो अस्पतालले कोरोना उपचारमा कसरी काम गरिरहेको छ त ? अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बास्तोलाका अनुसार, सबै स्वास्थ्यकर्मी पीपीई र मास्क लगाएर उपचारमा खट्ने गरेको, पीपीई लगाउने र खोल्ने छुट्टै ठाउँ बनाइएको, अस्पतालका विभिन्न तलामा प्रवेश गर्ने र निस्कने छुट्टै ढोका बनाइएको लगायतका सुरक्षा अपनाइएकाले संक्रमण अन्यत्र फैलिन नपाएको हो।
यस्तै, अस्पतालमा शुरूदेखि नै कोरोना संक्रमित र अन्य बिरामीलाई छुट्याएर अलग–अलग उपचार गर्ने व्यवस्था मिलाइएको थियो। डा. बास्तोला अस्पतालको आईसीयूमा ‘नेगेटिभ प्रेसर रूम’को पूर्वाधार बनाएकाले पनि बिरामीबाट स्वास्थ्यकर्मीसम्म संक्रमण फैलिन नपाएको बताउँछन्। नेगेटिभ प्रेसर रूममा हुने भेन्टिलेसनसहितको हेपा फिल्टरले संक्रमित उपचाररत आईसीयूको कोठामा भएको भाइरसलाई स्वचालित रूपमा बाहिर फ्याँक्छ।
डा. बास्तोलाका अनुसार, सबै अस्पताल तथा पोलिक्लिनिकले संक्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी निर्देशिका अनुसार आफ्नो सेवा सञ्चालन गरे संक्रमितबाट अन्यमा कोरोना सर्ने सम्भावना कम हुन्छ। तर, अधिकांश अस्पतालहरूमा संक्रमण रोकथामसम्बन्धी काम हुनै नसकेको उनको ठम्याइ छ। “पोलिक्लिनिकहरू एकदमै अव्यवस्थित देखिन्छन्। त्यहाँ संक्रमण नियन्त्रणको उपाय नअपनाउँदा स्वास्थ्यकर्मी र अन्य रोगका बिरामीमा कोरोनाभाइरस सर्ने सम्भावना धेरै हुन्छ”, उनी भन्छन्।
आईसीयूमा ‘नेगेटिभ प्रेसर रूम’को पूर्वाधार बनाएकाले पनि बिरामीबाट स्वास्थ्यकर्मीसम्म संक्रमण फैलिन पाएन। नेगेटिभ प्रेसर रूममा हुने भेन्टिलेसनसहितको हेपा फिल्टरले संक्रमित उपचाररत आईसीयूको कोठामा भएको भाइरसलाई स्वचालित रूपमा बाहिर फ्याँक्छ।
- डा. अनुप बास्तोला
शुक्रराज अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीका अनुसार, कोभिड–१९ जस्ता संक्रामक रोगको प्रकृतिबारे अस्पतालका कर्मचारीलाई तालिम दिएर सचेत बनाइएको छ। उनी भन्छन्, “भौतिक दूरी कायम गरेर काम गर्ने, भीडभाड हुन नदिन निश्चित बिरामीको मात्र उपचार गर्ने र सबै स्वास्थ्यकर्मीलाई पीपीई अनिवार्य लगाउने व्यवस्था गरिएको छ।”
अस्पतालले स्वास्थ्यकर्मीले पीपीई लगाए/नलगाएको र राम्ररी लगाए वा नलगाएको बारेमा वार्ड इञ्चार्जले अनुगमन गर्ने व्यवस्था मिलाएको छ। यस्तै, उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई प्रत्येक पटक काम पूरा गरेपछि नुहाएर मात्र बाहिर निस्कने व्यवस्था गरिएको छ। स्वास्थ्यकर्मीका लागि अस्पतालमा नुहाउन छुट्टै ठाउँ बनाइएको छ।
उपचारका क्रममा अस्पतालमा प्रयोग गरिएका सामग्रीहरूमा हुनसक्ने भाइरस मार्न अटोक्लेभ (उच्च तापक्रममा निर्मलीकरण गर्ने उपकरण)को सहायतामा सफा गर्ने अनिवार्य व्यवस्था मिलाइएको छ। बिरामीले प्रयोग गरेका तन्ना, सिरक र सिरानीको खोल लगायतका सामग्रीलाई शुरूमा विभिन्न रसायन राखेर सफा गर्ने (केमिकल ट्रिटमेन्ट) र त्यसपछि वासिङ मेसिनमा ९० डिग्री सेल्सियस तापक्रममा राखेर सफा गर्ने दैनिक रुटिन नै बनाइएको छ।
अस्पतालभित्र र बाहिरको वातावरणमा पनि कोरोनाभाइरस हुनसक्ने भएकाले विभिन्न ठाउँमा दिनको तीन पटक रसायनले पखाल्ने र पुछ्ने काम हुन्छ। अस्पतालले बाहिरको वातावरणमा बिहान एकपटक स्यानिटाइज गर्ने व्यवस्था मिलाएको छ। बहिरंग कक्षमा उपचार सेवा लिन आउने बिरामी अनिवार्य रूपमा दूरी कायम गरेर बस्नुपर्छ।
यस्तै, अस्पतालभित्रको फोहोरलाई विभिन्न वर्गमा छुट्याएर राख्ने व्यवस्था समेत मिलाइएको छ। यसले अस्पतालभित्र थप संक्रमण फैलिन नदिन भूमिका खेलेको अस्पतालका निर्देशक डा. राजभण्डारी बताउँछन्।
सिफ्टमा काम, होटल क्वारेन्टिनको व्यवस्था
शुक्रराज अस्पतालले सबै कर्मचारीलाई विभिन्न सिफ्टमा बाँडेर काम गर्ने व्यवस्था मिलाएको छ। जसका कारण अस्पतालमा अनावश्यक भीडभाड हुन पाउँदैन। शुक्रराज अस्पतालले एक जना कर्मचारीलाई विभिन्न समयमा आराम गर्न दिएर दिनमा १२ घण्टासम्म खटाउने गरेको छ। “यसो गर्दा एउटा पीपीईले एक दिनभरलाई पुग्छ र यसको सदुपयोग हुन्छ”, अस्पतालका निर्देशक डा.राजभण्डारी भन्छन्, “सबै कर्मचारीलाई एकै पटक खटाउँदा केही गरी संक्रमण फैलिए अस्पतालको सेवा नै रोकिने भएकाले विभिन्न सिफ्टमा खटाउँदा राम्रो हुन्छ।”
अस्पतालले कर्मचारीको घरपरिवारका कसैलाई कोरोना संक्रमण भए सम्बन्धित कर्मचारीको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएपछि मात्र अस्पताल प्रवेश गर्न दिने गरेको छ। आईसीयूमा काम गर्ने स्वास्थ्यकर्मीलाई घर नजिकैको होटलमा क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाइएको अस्पताल निर्देशक डा. राजभण्डारी बताउँछन्। “घर जाँदा परिवारका सदस्यमा संक्रमण सर्ने डर भएका कारण स्वास्थ्यकर्मी र कर्मचारीलाई होटल क्वारेन्टिनको व्यवस्था गरिएको हो”, उनी भन्छन्। होटल क्वारेन्टिनमा बस्नेको संख्या २५ पुगेको छ।
शुक्रराज अस्पतालमा कुल ३७९ जना कर्मचारी कार्यरत रहेकाेमा आईसीयूमा खट्ने १८ नर्स र करीब ९ जना चिकित्सक छन्। अस्पतालले अहिलेसम्म २७० जना कोरोना संक्रमितको उपचार गरिसकेकोमा तीमध्ये १९ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।
संक्रमण नियन्त्रण र उपचारका लागि अस्पतालले सेन्टर मनिटर र सीसीटीभीमार्फत अस्पतालका कर्मचारी र बिरामीको अनुगमन गर्ने व्यवस्था मिलाएको छ। स्वास्थ्यकर्मीलाई संक्रमणबाट सुरक्षित राख्न अस्पतालले प्रविधिको उपयोग गरेको छ। बिरामीलाई दैनिक खाना र पानी पुर्याउन रोबोटको प्रयोग गरिँदै आएको छ। संक्रमितसम्म गइरहनुपर्ने बाध्यता हटाउन अस्पतालले बिरामीलाई इन्टरनेट सुविधा दिएको छ, र आवश्यक परेका बेला चिकित्सकको सल्लाह लिनसक्ने व्यवस्था मिलाएको छ।
यस्तै, असावधानीका कारण संक्रमण नफैलियोस् भनेर अस्पतालले प्रत्येक बिरामीको रक्तचाप र तापक्रम नाप्न एक–एक वटाका दरले उपकरण छुट्याएर राखेको छ। यस्तै, अस्पतालले सिकिस्त बिरामीका लागि अक्सिजन अनिवार्य चाहिने भएकाले छुट्टै अक्सिजन प्लान्ट बनाएको छ।
अस्पतालले संक्रमण सर्न नदिन आईसीयू कक्षमै नेगेटिभ प्रेसर रूमको व्यवस्था गर्ने, अक्सिजन प्लान्ट स्थापना गर्ने र संक्रमण नियन्त्रणका लागि आवश्यक अधिकांश काम गएको झण्डै चार महीनासम्म भएको बन्दाबन्दीको अवधिमा गरेको हो। अस्पताल निर्देशक डा. राजभण्डारी नेगेटिभ प्रेसर रूम शुक्रराजबाहेक अन्य कुनै पनि सरकारी अस्पतालमा नभएको दाबी गर्छन्।
उनका अनुसार, आईसीयूको सात वटा वार्डमा नेगेटिभ प्रेसर रूमको पूर्वाधार बनाउन करीब दुई महीना लागेको थियो । नेगेटिभ प्रेसर रूमको पूर्वाधार बनाउन करीब रू.३५ लाख लाग्ने उनी बताउँछन्। डा. राजभण्डारीले नेगेटिभ प्रेसर रूम बनाउन युक्रेनमा सँगै उच्च शिक्षा अध्ययन गरेका नेपाली साथीहरूको सहयोग लिएका थिए।
संक्रमण सर्न नदिन आईसीयू कक्षमै नेगेटिभ प्रेसर रूमको व्यवस्था गर्ने, अक्सिजन प्लान्ट स्थापना र संक्रमण नियन्त्रणका लागि आवश्यक अधिकांश काम हामीले बन्दाबन्दीकै अवधिमा गर्यौं। -डा. सागर राजभण्डारी
उनी अन्य अस्पतालमा नेगेटिभ प्रेसर रूम बनाउन सम्भव नभए उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पीपीई अनिवार्य उपलब्ध गराउनुपर्ने र संक्रमण नियन्त्रण तथा रोकथामका अन्य उपाय लागू गर्नुपर्ने बताउँछन्। “धेरैजसो ठूला अस्पतालमा कोरोना संक्रमित र अन्य बिरामी मिसाएर राखिएका कारण पनि स्वास्थ्यकर्मी र बिरामीमा संक्रमण फैलिएको देखिन्छ”, उनी भन्छन्, “त्यसैले सरकारले कोरोना संक्रमितको मात्र उपचार गर्न छुट्टै अस्पतालको व्यवस्था गर्नुपर्छ।”
अस्पतालबाटै संक्रमणको जोखिम
संक्रामक रोग तथा आईसीयू विशेषज्ञ डा. प्रभात अधिकारी मुलुकका अधिकांश अस्पतालमा संक्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी आवश्यक न्यूनतम पूर्वाधार समेत नभएका कारण अहिले अस्पतालबाट संक्रमण फैलिन थालेको बताउँछन्। उनी संक्रमण नियन्त्रणका लागि नेगेटिभ प्रेसर रूम र त्यो बनाउन सम्भव नभए प्रेसर रूम वा युनिल्याट्रल ल्यामिनर फ्लो अनिवार्य चाहिने बताउँछन्।
युनिल्याट्रल ल्यामिनर फ्लो आईसीयूको कोठाको भित्तामा जडान गरिने एक प्रकारको फ्यानमा हुने संयन्त्र हो। यसले कोठाभित्र भएको भाइरसयुक्त हावालाई बाहिर पठाएर स्वच्छ हावा भित्र पठाउँछ।
१४ भदौसम्मको तथ्यांक अनुसार नेपालगञ्जको भेरी अस्पतालका कोरोना संक्रमितको उपचारमा खटेका ६ जना चिकित्सक र दुई जना स्टाफ नर्स संक्रमित भएका छन्। उनीहरूलाई बिरामीबाटै कोरोना संक्रमण फैलिएको आकलन गरिएको छ। भेरी अस्पतालका कन्सल्ट्यान्ट तथा एनेस्थोसियोलोजिष्ट डा. पारस पाण्डे अस्पतालको आईसीयूमा नेगेटिभ प्रेसर रूम तथा संक्रमण नियन्त्रण तथा रोकथामको लागि वैकल्पिक व्यवस्था नभएको बताउँछन्। “हामीले आईसीयूमा एसी राखेर काम चलाउनुपरेको छ”, उनी भन्छन्।
स्वास्थ्य मन्त्रालयले २०७० पुसमा जारी गरेको स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका अनुसार, स्वास्थ्य संस्थामा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेका मापदण्ड अनुसार संक्रमण नियन्त्रणको व्यवस्था हुनुपर्ने र त्यसबारे नियमित र प्रभावकारी अनुगमन गर्नुपर्ने उल्लेख छ। निर्देशिकामा आईसीयू कोठामा नेगेटिभ प्रेसर रूम वा युनिल्याट्रल ल्यामिनर फ्लोको व्यवस्था गर्नुपर्ने विषय भने उल्लेख छैन।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले २०७३ सालमा जारी गरेको संक्रामक रोग नियन्त्रणसम्बन्धी निर्देशिका अनुसार, क्राइमियन–कंगो हेर्मोहजिक फिभरका बिरामीको सही व्यवस्थापनका लागि सम्भव भएसम्म नेगेटिभ प्रेसरको सुविधा भएको छुट्टै कोठामा राखेर उपचार गर्ने व्यवस्था मिलाउनुपर्ने भनिएको छ। तर, यो निर्देशिकामा पनि अन्य संक्रामक रोगको उपचारका लागि चाहिने नेगेटिभ प्रेसर रूम र युनिल्याट्रल ल्यामिनर फ्लो अनिवार्य व्यवस्था गर्नुपर्छ भन्ने प्रावधान राखिएको छैन।
डा. अधिकारी अस्पताल सञ्चालन सम्बन्धी मापदण्ड कडा नबनाउँदा र भएका मापदण्डको पालना नहुँदा अस्पताल नै संक्रमण फैलिने ठाउँ बनेको बताउँछन्। उनका अनुसार, मुलुकका नाम चलेका ठूला सरकारी तथा निजी अस्पतालको तथ्यांकले भेन्टिलेटरमा उपचार गरिने बिरामीमध्ये ७० देखि ८० प्रतिशत बिरामीको त्यहीँभित्रको संक्रमण (निमोनिया)का कारण एन्टीबायोटिक औषधिले काम गर्न नसक्दा मृत्यु हुने गरेको देखाएको छ।
आईसीयूमा नेगेटिभ प्रेसर रूम वा युनिल्याट्रल ल्यामिनर फ्लो हुँदा कोरोना संक्रमण मात्र नभएर अन्य संक्रामक रोगको उपचार गर्ने क्रममा हुनसक्ने भाइरसलाई पनि बाहिर निकाल्न मद्दत गर्छ। र, यसले अस्पतालभित्र हुने संक्रमणको जोखिम घटाउँछ।
डा. अधिकारीका अनुसार, देशभित्रका मेडिकल कलेजहरूमा संक्रामक रोगको अध्ययन गर्ने व्यवस्था नगरिँदा संक्रामक रोग विशेषज्ञको अभावका कारण उपचार प्रक्रियामा असर पुगेको छ। उनी भन्छन्, “संक्रमण नियन्त्रण र रोकथाम कसरी गर्ने भनेर सरकारले स्वास्थ्यकर्मीलाई अनिवार्य तालिमको व्यवस्था गर्नुपर्छ र अस्पतालमा संक्रमण नियन्त्रण गर्ने छुट्टै समिति बनाउनुपर्छ।”