स्वास्थ्य मन्त्रालयले सच्यायो आईसीयूमा रहेका कोरोना संक्रमितको संख्या
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईसीयूमा रहेका कोरोना संक्रमितको गलत तथ्यांक सच्याएको छ। हिमालखबरले शनिबार स्वास्थ्य मन्त्रालयले कर्णाली प्रदेशमा २४ जना कोरोना संक्रमितको आईसीयूमा राखेर उपचार भइरहेको भन्ने गलत तथ्यांक सार्वजनिक गरेको विषयमा समाचार प्रकाशन गरेको थियो।
मन्त्रालयले उक्त तथ्यांक आइतबारको कोरोना अपडेटमार्फत कर्णाली प्रदेशका अस्पतालका भेन्टिलेटर र आईसीयूमा उपचाररत संक्रमितको संख्या शुन्य रहेको भनेर सच्याएको हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिवार कर्णाली प्रदेश सरकारले नै २४ जना संक्रमितको आईसीयूमा राखेर उपचार भएको तथ्यांक पठाएको र आफूहरूले त्यही तथ्यांकलाई सार्वजनिक गर्दा गलत परेको बताए। “शनिवार पठाएको तथ्यांक गलत भएपछि आइतबारको अपडेटमार्फत सच्याएका छौँ,” डा. गौतम भन्छन्, “कर्णाली प्रदेशमा अहिलेसम्म कोही पनि कोरोना संक्रमित व्यक्ति आईसीयू र भेन्टिलेटरमा नरहेको जानकारि पाएपछि सच्याएका हौँ।”
स्वास्थ्य मन्त्रालयले १४ भदौसम्ममा कर्णाली र सुदुरपश्चिम बाहेकका अन्य पाँच वटा प्रदेशका अस्पतालहरूमा भेन्टिलेटर र आईसीयूमार्फत उपचार गर्ने कोरोना संक्रमितको संख्या १६१ पुगेको जनाएको छ।
१३ भदौमा स्वास्थ्य मन्त्रालयले कर्णाली प्रदेशमा २४ सहित ६ वटा प्रदेशमा आईसीयू र भेन्टिलेटरको सहायतमा उपचार गर्ने कोरोना संक्रमितको संख्या १९७ रहेको गलत तथ्यांक सार्वजनिक गरेको थियो।
मन्त्रालयले बाँकी एउटा सुदूरपश्चिम प्रदेशमा आइसियू र भेन्टीलेटरमार्फत गर्ने कोरोना संक्रमितको संख्या शुन्य रहेको तथ्यांक सार्वजनिक गरेको थियो।