स्वास्थ्य मन्त्रालयले देखायो आईसीयूमा हुँदै नभएका कोरोना संक्रमित बिरामीको तथ्यांक
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार कर्णाली प्रदेशमा २४ जना बिरामीको आईसीयूमा राखेर उपचार भइरहेको भन्ने गलत तथ्यांक सार्वजनिक गरेको छ।
स्वास्थ्य मन्त्रालये नियमित रुपमा सार्वजनिक गर्दै आएको कोरोना संक्रमितको स्वास्थ्य बुलेटिन अन्तर्गत १३ भदौमा मुलुकभर आईसीयू र भेन्टिलेटरको सहायतमा उपचार गर्ने कोरोना संक्रमितको संख्या १९७ पुगेको उल्लेख छ। त्यसमध्ये मन्त्रालयले कर्णाली प्रदेशमा हुँदै नभएका २४ जना कोरोना संक्रमितको आईसीयूमा राखेर उपचार भइरहेको विवरण सार्वजनिक गरेको भेटिएको हो।
आईसीयूमा उपचार भइरहेकाहरूको विवरणबारे हिमालखबरसँग कुरा गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले भने, “१३ भदौसम्ममा यो प्रदेशमा भएका कुनै पनि अस्पतालमार्फत एक जना पनि कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमार्फत उपचार गर्नु परेको छैन।”
डा. रावलले मन्त्रालयले हुँदै नभएका २४ जना बिरामीको गलत तथ्यांक सार्वजनिक गरेको र त्यसलाई सच्चाउनुपर्ने बताए। उनले यसबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलाई म्यासेजमार्फत जानकारि गराएको समेत जानकारी दिए।
डा. रावलले उक्त तथ्यांक कर्णाली प्रदेशमा उपलब्ध भएका आईसीयूको बेडसंख्या भएको हुनसक्ने बताए। स्वास्थ्य मन्त्रालयको विवरण अनुसार १२ भदौसम्ममा मुलुकभर कोरोनाका १८६ सिकिस्त बिरामीको आईसीयू र भेन्टिलेटरको सहायतमा उपचार भइरहेको थियो।
यीमध्ये कर्णाली र सुदुरपश्चिम प्रदेशमा भेन्टिलेटर र आइसियुमार्फत उपचार गरिने संक्रमितको संख्या शुन्य थियो।
स्वास्थ्य मन्त्रालयको आठ भदौसम्मको तथ्यांक अनुसार कर्णाली र सुदुरपश्चिम प्रदेशका अस्पतालमा भेन्टिलेटर र आईसीयूमा राखेर उपचार गर्ने कोरोना संक्रमितको संख्या शून्य थियो। चार भदौसम्ममा पनि कर्णाली र सुदुरश्चिम प्रदेशमा यो संख्या शून्य नै थियो।
१२ भदौसम्म कर्णाली प्रदेशमा भेन्टिलेटर र आईसीयूमार्फत उपचार गर्ने बिरामीकोे संख्या शून्य थियो। तर स्वास्थ्य मन्त्रालयको तथ्यांकले एकै दिनको अन्तरमा अर्थात १३ भदौमा कर्णाली प्रदेशमा २४ जना कोरोनाका सिकिस्त बिरामीलाई आईसीयूको सहायतमा उपचार गर्नु परेको विवरण सार्वजनिक गरेको हो।