कोरोना संक्रमणबाट निको हुने १७७२ जना कि २८५६ ?
प्रदेश सरकारहरुले मापदण्ड नपुर्याउँदा स्वास्थ्य मन्त्रालय र प्रदेशका सामाजिक विकास मन्त्रालयको कोरोना संक्रमण निको भएकाको तथ्याङ्क फरक परेको छ।
स्वास्थ्य मन्त्रालयले ७ असारसम्ममा कोरोनाभाइरस संक्रमणपछि निको हुनेको संख्या एक हजार ७७२ रहेको जनाएको छ । तर, त्यही अवधिसम्ममा सातै प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयले दुई हजार ८५६ जना निको भएको तथ्याङ्क सार्वजनिक गरेका छन्।
स्वास्थ्य मन्त्रालयले प्रदेश सरकारले नै उपलब्ध गराएको तथ्याङ्क सार्वजनिक गरिरहेको जनाएको छ । मन्त्रालयले हरेक दिन साँझ ४ बजे पत्रकार सम्मेलन मार्फत तथ्याङ्क सार्वजनिक गर्छ।
प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले आफ्नो वेबसाइटमा राखेको सूचना अनुसार त्यहाँ सबैभन्दा बढी संक्रमित निको भएका छन् । मन्त्रालयले ७ असारसम्ममा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या ९८६ रहेको उल्लेख गरेको छ।
७ असारसम्ममा प्रदेश नं. २ मा ९५२, कर्णालीमा ५३१ र प्रदेश १ मा २३५ जना निको भएका छन् । त्यस्तै वागमती प्रदेशमा ५६ र गण्डकीमा ५५ जना निको भएका त्यहाँका सामाजिक विकास मन्त्रालयले जनाएका छन्।
यो पनि पढ्नुहोस्- कोभिड–१९ उपचारः पूर्वाधार र सुरक्षामा फ्रन्टलाइनका स्वास्थ्यकर्मी नै छैनन् ढुक्क
सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालका अनुसार ७ असारसम्ममा कोरोना संक्रमणमुक्त भएर ४१ जना घर फर्किएका छन् । सुदूरपश्चिममा कोरोना संक्रमणमुक्त हुनेहरुको तथ्याङ्क यो अस्पतालले राख्ने गरेको छ । प्रदेशहरुको तथ्याङ्कमा स्वास्थ्य मन्त्रालयले जारी गरेको भन्दा एक हजार ८४ बढी निको भएका छन्।
तथ्याङ्कमा प्रदेशको लापरवाही
प्रदेश-५ को सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. उमाशंकर प्रसाद चौधरीले आफूले जारी गरेको तथ्याङ्क ठीक भएको दाबी गरे । उनका अनुसार प्रदेश र कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएका संक्रमित व्यक्तिको पीसीआर जाँचपछि नेगेटिभ रिपोर्ट आयो भने घर पठाइन्छ । त्यो तथ्याङ्क नै निको भएकाहरुको सूचीमा राखिन्छ।
यसबाहेक कुनै स्वास्थ्य समस्या नदेखिएका तर अस्पताल र आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई दुई हप्तापछि विना जाँच घर पठाइन्छ । यो संख्या पनि निको भएर घर गएकाहरुको सूचीमा राखिन्छ । डा. चौधरी भन्छन्, “जाँच भएर नेगेटिभ रिपोर्ट आएका र १४ दिनसम्म बस्दा कुनै स्वास्थ्य समस्या नआएकाहरुलाई निको भएकाहरुको सूचीमा राखेर त्यही तथ्याङ्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पठाइन्छ।”
यो पनि पढ्नुहोस्- डाइपर लगाएर काम गर्छन् कोरोना प्रयोगशालाका प्राविधिक
प्रदेश नम्बर–१ को सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहेताका अनुसार १४ दिन अस्पतालमा राखिएका संक्रमितको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाएर उक्त संख्या नै निको भएको सूचीमा राखिन्छ । उनका अनुसार पहिले कोरोना संक्रमितलाई १४ दिनको अवधिमा एकपटक परीक्षण गर्ने गरेको थियो । तर, अहिले १४ दिनपछि परीक्षण नगरी घर पठाइन्छ । त्यो संख्या पनि निको भएको सूचीमा राखिन्छ।
“अस्पतालहरुले नै हामीलाई पूर्ण सूचना नपठाएकाले प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयले राखेको तथ्याङ्क फरक पर्न गएको हो ।”
– डा. लक्ष्मीनारायण तिवारी, महाशाखा प्रमुख, सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश
कर्णाली प्रदेशले पनि आइसोलेसनमा राखेकाहरुलाई १४ दिनपछि पीसीआर रिपोर्ट नेगेटिभ आएको आधारमा घर पठाउने गरेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारी त्यही विवरणलाई निको भएकाहरुको सूचीमा राख्ने गरेको बताउँछन् ।
“डिस्जार्च भएकाहरुको नाम, उमेर, ठेगाना र डाक्टरको हस्ताक्षर सहितको विवरण स्वास्थ्य मन्त्रालयमा पठाउनुपर्ने रहेछ,” डा. तिवारी भन्छन्, “तर अस्पतालहरुले नै हामीलाई पूर्ण सूचना नपठाएकाले प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयले राखेको तथ्याङ्क फरक पर्न गएको हो ।” उनी केही दिनभित्रै अस्पतालले निको भएकाहरुको पूर्ण विवरण पठाउने र त्यही तथ्याङ्क प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयमा पठाउने तयारी गरिरहेको बताउँछन्।
स्वास्थ्य मन्त्रालयले मापदण्ड नपुगेका नाम हटाउँछ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक दिन दिउँसो ४ बजे ‘प्रेस ब्रिफिङ’ गरेर मुलुकभर देखिएका कोरोना संक्रमितको तथ्याङ्क, मृत्यु भएका र निको भएर घर गएकाहरुको संख्याको जानकारी दिन्छ । मन्त्रालयले त्यही तथ्याङ्कलाई आफ्नो वेबसाइट मार्फत पनि सार्वजनिक गर्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिर अधिकारी मन्त्रालयले सबै प्रदेशबाट संकलन गरेको तथ्याङ्क नै एकीकृत गरेर सार्वजनिक गरिने बताउँछन् । प्रेस ब्रिफिङ हुनुअघि सोही दिनको दिउँसो २ बजेसम्म सबै प्रदेशबाट आएका पूर्ण सूचनालाई मात्र लिएर विवरण तयार पार्ने उनी बताउँछन्।
प्रदेश सरकारहरुले डाक्टरको सिफारिस नभएका, पुनः पीसीआर परीक्षण नभई घर गएका र नाम, ठेगाना विनाका संक्रमितलाई पनि निको भएको सूचीमा राख्दा स्वास्थ्य मन्त्रालयसँगको सूची फरक फरक परेको हो ।
“उपचार भएर निको हुने संख्या आएर मात्र हुँदैन”, उनी भन्छन्, “मन्त्रालयको निर्देशिका अनुसारको कुन अस्पतालमा, कुन उमेरको, कुन ठेगानाको बिरामी कसरी निको भयो भन्ने जस्ता पूर्ण विवरण लिएपछि मात्र निको भएकाहरुको सूचीमा राख्छौं ।” उनका अनुसार निको भएकाहरुको विवरणमा कोरोना संक्रमित भएर आइसोलेसनमा भर्ना भएपछि पुनः पीसीआर जाँचबाट रिपोर्ट नेगेटिभ आएकाहरुको संख्या मात्र राख्ने गरिएको छ।
प्रदेश सरकारहरुले डाक्टरको सिफारिस नभएका, पुनः पीसीआर परीक्षण नभई घर गएका र नाम, ठेगाना विनाका संक्रमितलाई पनि निको भएको सूचीमा राख्दा स्वास्थ्य मन्त्रालयसँगको सूची फरक फरक परेको हो । प्रदेशबाट प्राप्त मापदण्ड विनाका नाम स्वास्थ्य मन्त्रालयले हटाउने गरेको छ।
डा. अधिकारी क्वारेन्टिनमा बसेर पीसीआर वा आरडीटी गरेर घर पठाइएका व्यक्तिलाई निको भएकाको सूचीमा नराखिने बताउँछन् । एक पटक कोरोना संक्रमण भएर निको भएपछि पुनः बल्झिएका कोही पनि नभएको उनी बताउँछन्।