प्याक्टको अनियमिततामा संलग्नलाई कारबाही गर्न कांग्रेसको माग
विश्व ब्यांंक मार्फत किसानको नाममा आएको अनुदान रकम दुरुपयोग गर्नेलाई कानुनी कारबाही गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।
बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसको संसदीय दलले अनुदान रकम दुरुपयोग भएको प्रमाणित भइसक्दा पनि संलग्न व्यक्तिहरुलाई कारवाही नहुनुले सरकार दोषीलाई बचाउने तर्फ लागेको देखिने उल्लेख गरेको छ।
विश्व ब्यांकको सहयोगमा सञ्चालित व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) मा भएको व्यापक अनियमितताको विश्व ब्यांक आफैले छानविन गरी दोषीलाई कारवाही गर्न नेपाल सरकारका अर्थ मन्त्रीलाई पत्र पठाएको थियो। हिमाल खबरले गत मंगलबार विश्व ब्यांकको पत्र तथा अनियमितता प्रकरणको विषयमा रिपोर्ट प्रकाशित गरेको थियो। कांग्रेसले विश्व ब्यांकले भ्रष्टाचार भएको भनी पत्र पठाउनुले देशको गरिमामा नै आँच पुगेको विज्ञप्तिमा उल्लेख गरेको छ।
किसानको नाममा आएको ठूलो अनुदान रकम राजनीति पुहँचको आधारमा निकट व्यक्तिहरुलाई वितरण गरिएको र नक्कली कृषि फर्म देखाएर लाभ लिने जस्ता कार्यको विश्व बैंकको अनुसन्धानले पुष्टि गरेको थियो।
विश्व ब्यांकले कृषि क्षेत्रमा गरेको सहयोगमा भएको व्यापक अनियमितता तथा भ्रष्टचार गर्ने पदाधिकारीहरुको नाम समेत किटानी गरी कारवाहीको लागि नेपाल सरकारको ध्यान आकृष्ट गर्दा पनि दोषीहरुलाई कारवाही गर्न नसक्नु सरकारको निकम्मापन भएको कांग्रेसको विज्ञप्तिमा उल्लेख छ।
समन्वय समितिका संयोजक पदमनारायण चौधरीले जारी गरेको कांग्रेसको विज्ञप्तिमा भनिएको छ, “किसानहरुलाई सयममै आवश्यक मलखाद, वीउ विजनहरु उपलब्ध गराउन नसकेको सरकार भ्रष्टचारमा लिप्त भएर गैरजिम्मेवार र लज्जास्पद कार्य गरिरहेकाले यसको हामी घोर भत्र्सना गर्दछौं।”
कांग्रेसले दातृ निकायबाट प्राप्त हुने अनुदानलाई सही रुपमा सदुपयोग गर्न र भ्रष्टचार तथा अनियमितता नियन्त्रण गर्न पनि सरकारलाई सचेत गराएको छ।