काठमाडौं महानगरमा हालसम्म कोरोना संक्रमित ८ जनाको मृत्यु, सबभन्दा धेरै बानेश्वरमा
काठमाडौं महानगरमा ६ भदौसम्ममा कोरोना संक्रमित ८ जनाको मृत्यु भएको छ। काठमाडौं महानगरले तयार पारेको तथ्यांक अनुसार मृत्यु हुनेमा सबैभन्दा धेरै वडा नम्बर १० बानेश्वर क्षेत्र छ।
बानेश्वर क्षेत्रमा कोरोना संक्रमित ३ जनाको मृत्यु भएको छ।
त्यस बाहेक वडा नम्बर २७ महावौद्धमा २ जना, वडा नम्बर ४ बालुवाटारमा १ जना, वडा नम्बर १२ टेकुमा १ जना र वडा नम्बर २० भीमसेनस्थानमा १ जनाको मृत्यु भएको महानगरले जनाएको छ।
काठमाडौंमा महानगरभित्र मात्रै ६ भदौसम्म कोरोना संक्रमितको संख्या १६०६ छ पुगेको छ। महानगरको तथ्यांक अनुसार ६ भदौसम्म कुल संक्रमितमध्ये १८८ जना निको भएर घर फर्किएका छन्
महानगरले निको भएकाहरूको यकिन तथ्यांक अझैं पूर्ण रुपमा आइनसकेको जनाएको छ।
त्यस्तै आइतबार काठमाडौंमा जिल्लाभरीमा १२६ जना कोरोना संक्रमित थपिएका छन्। उक्त तथ्यांक महानगरले यसमा अद्यावधिक गरेको छैन।