नेपाली फूटबलमा कोरोनाकाल: राष्ट्रिय टोलीकै संरचना उलटफेर हुने बाटोमा
कोरोना संक्रमणको महामारीले संसारभरकै फूटबल गतिविधि पछि धकेलिंदा नेपाली राष्ट्रिय फूटबल टोलीको संरचनामै उलटफेर हुन सक्छ।
सन् २०२१ सम्म फूटबलका सम्पूर्ण गतिविधि रोक्ने विश्व फूटबल महासंघ (फिफा) र एशियाली फूटबल महासंघ (एएफसी)को गत साताको निर्णय नेपाली फूटबलको लागि अप्रिय खबर थियो।
क्वारेन्टिनमा बसेर पीसीआर परीक्षण गराई प्रशिक्षण शुरु गर्ने सरकारको अनुमति पाइसकेको अवस्थामा अभ्यास मैदान छिर्ने तरखरमा रहेका राष्ट्रिय फूटबल टोलीका खेलाडीहरु फिफा र एएफसीको यो निर्णयसँगै पोकापन्तुरा बाँधेर घर फर्कनु पर्याे।
कोरोना संक्रमणको भयावह अवस्थामा विश्व फूटबलसँगै नेपाली फूटबल पनि रोकिनुको विकल्प भएन।
विश्वकप छनोट २०२२ र एशियन कप छनोट २०२३ का नेपालमा हुने खेल आयोजना गर्ने सबै तारतम्य मिलाइसकेको अवस्थामा सिर्जित यो अवस्थाबाट अखिल नेपाल फूटबल संघ (एन्फा) पदाधिकारीहरु निराश बनेका छन्।
अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईलाई दशरथ रंगशालामा स्वागत गर्न आतुर एन्फाले तयारी पनि निकै गरेको थियो। खर्च पनि त्यही अनुसार भएको थियो। राष्ट्रिय टोलीका टीम व्यवस्थापक मधुसूदन उपाध्याय भन्छन्, “झन्डै ६ महीना लगाएर रंगशालाको घाँस हरियो बनायौं। प्रशिक्षण मैदान तयार पार्यौं। एन्फाको होस्टल सफासुग्घर गर्यौं। फिफाको गाइडलाइन अनुसारको सुरक्षा व्यवस्था अपनायौं। हामी (एन्फा) आफैंले पनि गाइडलाइन बनायौं। प्रशिक्षण अनुमति लिन नेताहरुको घर घर धायौं। खेलाडीहरुको पीसीआर परीक्षण गर्यौं। सबै काम गर्यौं, तर अन्तिम अवस्थामा फेरि खेल स्थगित भयो।”
निर्धारित तालिका अनुसार नेपालले विश्वकप छनोट २०२२ तथा एशियन कप छनोट २०२३ अन्तर्गत २२ असोजमा चाइनिज ताइपेई, २७ असोजमा अष्ट्रेलिया र २७ कात्तिकमा जोर्डनसँग खेल्दै थियो।
यी खेल फेरि कहिले हुन्छन् भन्ने टुंगो छैन। प्रतियोगिताको मिति अनिश्चित बनेपछि एन्फालाई ठूलो धक्का लागेको छ। त्योभन्दा ठूलो असर त झन् खेलाडीहरुमा पर्ने देखिन्छ। फूटबल विश्लेषकहरु भन्छन्– फूटबल लामो समयसम्म अनिश्चित बन्दा अब राष्ट्रिय टोलीको संरचना नै परिवर्तन हुनसक्छ।
संरचना
अहिले प्रारम्भिक चरणका लागि एन्फाले ३४ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो जसमा युवा र अनुभवी खेलाडीको समिश्रण छ। टोलीमा बोलाइएका विक्रम लामा, किरण चेम्जोङ र भरत खवास सन् २००५ मा यू–१६ राष्ट्रिय टोलीबाट खेलेका खेलाडी हुन्।
सोही ब्याचका विराज महर्जन राष्ट्रिय टोलीबाट बाहिरिइसकेका छन्। हुन त विराज राष्ट्रिय टोलीबाट बाहिरिनुमा उनको ढल्कँदो उमेर र खस्कँदो प्रदर्शनभन्दा पनि प्रशिक्षकसँगको सम्बन्धलाई प्रमुख कारण मानिएको छ। जे होस्, विक्रम, किरण र भरत अब विराजकै लाइनका खेलाडी हुन्।
विदेशी लिगमा व्यस्त रहेका गोलरक्षक किरण अहिले राम्रो फर्ममा छन्। उनी राष्ट्रिय टोलीका सिनियरमध्येका खेलाडी पनि हुन्। नेपाली सेनाका भरतको फर्म पनि गुमेको छैन। यी दुईको दाँजोमा मध्यपंक्तिका विक्रम अलि कमजोर मानिन्छन्।
उनीहरुपछि सन् २००७ को यू–१६ टोलीमा आए, सुजल श्रेष्ठ, रोहित चन्द, विशाल राई र विशाल श्रेष्ठ। १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने नेपाली टोलीका कप्तान सुजल अहिले फर्ममा छन्। उनकै नेतृत्वमा मच्छिन्द्र क्लबले शहीद स्मारक ए डिभिजन लिगको उपाधि जित्यो। तर, उनलाई बेलाबेला इन्जुरीको समस्याले सताइरहन्छ।
रोहितले इन्डोनेसियाको लिगमा शानदार सिजन विताइरहेको हुँदा उनको फर्ममा पनि शंका गर्नुपर्ने ठाउँ देखिन्न। शहीद स्मारक ए डिभिजन लिगका उत्कृष्ट मिडफिल्डर विशाल राई र गोलरक्षक विशाल श्रेष्ठले पनि लिगमै आफ्नो फर्म सावित गरिसकेका छन्।
३४ सदस्यीय टोलीका अर्का खेलाडी, दिलेन लोक्तान गत वर्ष बी डिभिजन लिगमा जावलाखेल युथ क्लबबाट राइट ब्याक पोजिसनमा खेलेका थिए। प्रशिक्षकको नजरमा परेर राष्ट्रिय टोलीको क्याम्पमा आएका उनी उमेरको हिसाबले ३० नाघिसकेका खेलाडी हुन्।
यी बाहेक अन्य खेलाडी युवावस्थामै छन्। प्रायःको उमेर २५ वर्ष हाराहारी छ। फूटबल विश्लेषक सञ्जिव मिश्र भन्छन्, “अनिश्चितताको यो बेला खेलाडीहरुले आफ्नो फर्मलाई कसरी जोगाइराख्छन्, त्यसले पनि उनीहरुको छनोटलाई तलमाथि पार्नेछ।”
अनिश्चित समय
कोरोनाभाइरस संक्रमणको असर कहिलेसम्म रहने हो भन्ने आकलन गर्न सम्भव छैन। धेरैको अनुमानमा अब अन्तर्राष्ट्रिय फूटबल शुरु हुन चाहिं कम्तीमा एक वर्ष लाग्न सक्छ।
फिफाको निर्णय अनुसार अबको चार महीनाका लागि फूटबल स्थगन भइसकेको छ। फिफा र एएफसीले अब फूटबलको क्यालेन्डर आगामी जनवरीमा निकाल्नेछन्, त्यो पनि विश्वको परिस्थिति सामान्य हुँदै गएको अवस्थामा।
यसरी क्यालेन्डर बनाउँदा खेलाडीको प्रशिक्षण र खेलस्थल तयारी समेतको समय राख्दा कम्तीमा चारदेखि पाँच महीना लाग्न सक्छ। अर्थात् नेपालले अब अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न कम्तीमा ८ देखि १० महीना कुर्नुपर्ने हुनसक्छ।
भन्नुको अर्थ आफूलाई फिट राख्न नसके उमेर ढल्केका खेलाडीहरुको राष्ट्रिय टोलीमा स्थान बनाउने सम्भावना नै समाप्त हुनसक्छ। अर्को तीतो सत्य के हो भने विभागीय टोलीमा रहेकाबाहेक अन्य खेलाडीले नियमित प्रशिक्षण गर्ने प्रचलन नेपालमा निकै कम छ। एन्फा महासचिव इन्द्रमान तुलाधर भने खेलाडीहरु घरमै रहे पनि एन्फाको प्रत्यक्ष निगरानीमा रहने र एन्फाले नै फर्म गुम्न नदिन मिहिनेत गरिरहेको बताउँछन्।
प्रशिक्षकको अवधि
महत्वपूर्ण अर्को एउटा पक्ष पनि छ, जसले टोलीको संरचनामा असर पुर्याउन सक्छ।
नेपाली राष्ट्रिय टोलीका स्वीडिस प्रशिक्षक योहान कालिनको अनुबन्ध सन् २०२१ को जनवरीमा सकिंदैछ। उनको सम्झौता नवीकरण हुने वा नहुने निश्चित छैन। यदि सम्झौता नवीकरण नभएमा पनि राष्ट्रिय टोलीको संरचनामा ठूलो परिवर्तन हुनसक्ने सम्भावना रहनेछ। यसै पनि अन्तर्राष्ट्रिय उडान नखुलेकाले उनी नेपाल आउन सकेका छैनन् ।
अहिले बन्द प्रशिक्षणमा बोलाइएका ३४ खेलाडी कालिनले नै छानेका हुन्। तर, प्रशिक्षकमा नयाँ अनुहार आएमा उनले आफ्नै ढंगले खेलाडी छान्न सक्नेछन्।
यस्तो बेला कालिनको रोजाइमा नपरेका विमल घर्तीमगर, सन्तोष तामाङ लगायतका खेलाडी राष्ट्रिय टोलीमा पर्न सक्छन्। त्यसैगरी टोलीमा भएका कतिपय खेलाडी हटाइन सक्छन्।
एन्फा महासचिव तुलाधर भने कालिनलाई नै विश्वकप छनोटसम्मको जिम्मेवारी दिइने बताउँछन्। तुलाधर भन्छन्, “विश्वकप छनोट कालिनले सम्हालिरहेका छन्। सम्झौता नवीकरणमा समस्या नहोला।”
आधुनिक फूटबलमा खेलाडीको खेल्ने कला सँगसँगै फिटनेश त्योभन्दा बढी आवश्यक हुन्छ भन्ने प्रमाणित हुँदै गएको छ।
युरोपको उच्चकोटिको फूटबलसँग नेपाली फूटबलको तुलना गर्न नमिल्ला। तर, ढल्कँदो उमेरका खेलाडीकाे बाहुल्य रहेको स्पेनिस महारथी बार्सिलोनाले यूरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा भर्खरै बायर्न म्युनिखसँग ब्यहोरेको ८–२ को हार त्यस्तै एउटा दृष्टान्त हो।
यति हुँदाहुँदै पनि यथार्थ चाहिं के हो भने राष्ट्रिय टोलीका अनुभवी र पाका खेलाडीहरु तबसम्म खतरामा पर्दैनन्, जबसम्म जुनियर खेलाडीले उनीहरुलाई लगातार टक्कर दिँदैनन्।
वर्तमान राष्ट्रिय टोली
गोलरक्षकः किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की
रक्षकः अनन्त तामाङ, रञ्जित धिमाल, देबेन्द्र तामाङ, छिरिङ गुरुङ, सरोज दाहाल, अजित भण्डारी, दिलेन लोक्तान, सुमन अर्याल, विकास खवास, अमित तामाङ
मिडफिल्डः सुजल श्रेष्ठ, अञ्जन विष्ट, सुनिल बल, रोहित चन्द, विशाल राई, विक्रम लामा, सुवास गुरुङ, रवि पासवान, पुजन उपरकोटी, एरिक विष्ट, सेसेहाङ आङदेम्बे, तेज तामाङ, मिक्छेन तामाङ
फरवार्डः भरत खवास, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, जर्ज प्रिन्स कार्की, आशिष लामा, दर्शन गुरुङ, विमल राना