अनिष्टतर्फ नेकपाको यात्रा: लोकतन्त्रमा मडारियो खतरा
पार्टी एक भइनसक्दै शीर्ष नेताहरूले एक अर्काविरूद्ध सल्काएको प्रतिशोधको आगोले सत्तारूढ नेकपाको अनिष्टतर्फको यात्रा मात्र शुरु भएको छैन, मुलुकले हासिल गरेका परिवर्तनका उपलब्धि र संविधानलाई नै संकटतर्फ धकेल्दै छ।
कतिपयलाई अनौठो लाग्न सक्छ, तर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अहिले तथ्य, तर्क, आग्रह, अनुनय र संवेदनालाई कुनै ठाउँ छैन। देश, संविधान र जनताप्रतिको जिम्मेवारी वहन गर्न आवश्यक तत्परता, रुचि, त्याग र विवेक त्यहाँ अहिले मृत अवस्थामा पुगेको देखिन्छ। नेकपामा अहिले केही छ भने त्यो हो– एक अर्काविरुद्ध आवेग, अहंकार र प्रतिशोधको भावना।
झण्डै दुई तिहाइ बहुमतप्राप्त सत्तारुढ दलको यो अवस्थाले नागरिक निराश छन्। निराशा मात्र होइन, उनीहरुमा यसले असन्तुष्टि र आक्रोश पनि बढाइरहेको छ। कार्यकर्ता पंक्ति मुर्झाएको छ।
यसै पनि मुलुक अहिले असामान्य अवस्थामा छ। विश्वव्यापी महामारी बनेको कोरोनाभाइरस संक्रमणका कारण रोग र भोक विरुद्ध आम नागरिक जीवनमरणको लडाइँमा छन्। त्यसमाथि प्राकृतिक प्रकोपको बितण्डा थपिएको छ। र, भू–राजनीतिक शक्ति संघर्ष पनि चुलिंदैछ, यहीबेला।
नागरिकले सरकारको अनुभूत हुनेगरीको उपस्थिति खोज्ने संकटको बेलामै हो। यो बेला विपक्षी दललाई समेत विश्वास र साथमा लिएर काम गर्नुपर्ने छ। त्यसमा सत्तारुढ दलकै नेतृत्वदायी पहल अपेक्षित छ। बिडम्बना ! नेकपाभित्रको कलहका कारण संसदको वर्षे अधिवेशन अन्त्य गरिएकै एक महीना नाघिसक्यो। विपक्षी दलसँगको सहकार्य त टाढाको कुरा, सत्तारुढ नेकपाभित्रै निषेध र कटाक्ष चलिरहेको छ।
आमसञ्चारका माध्यम, सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरुमा जस्ता दृष्य देखिन्छन्, त्यो देखेर महामारीमा पिल्सिएका नागरिकदेखि नेकपाकै कार्यकर्ता समेत विरक्तिएका छन्। इतिहास र अरु कैयौं देशका अनुभवहरुले देखाउँछन्, मुलुक संकटमा पर्दा आफूलाई भगवानको अवतार ठानेर क्रुर बनेका र निरङ्कुशतामा रमाएका शासकको पनि हृदय पग्लिन्छ। अर्थात् क्रुरताभित्र पनि त्याग र संवेदना भरिएर आउँछ। तर, अहिले ठिक उल्टो अवस्था देखापरेको छ।
आफूलाई भगवानको अवतार ठान्ने (राजसंस्था) बाट चलेको शासनप्रणाली विरुद्ध जनताका प्रतिनिधिको शासन स्थापित गर्न लडेका, त्यसका लागि जेलनेल भोगेका र हजारौंलाई ज्यान दिन उद्वेलित गरेकाहरुकै नेतृत्वमा अहिले देश चलिरहेको छ। तर, जनताको आँसु देखेर पहरा पनि रसाउने भनाइलाई अहिले नेकपाले नै गिज्याइरहेको छ। महामारीबाट आहत जनताको आँसुले नेकपाको नेतृत्व पंक्तिलाई छोएको व्यवहारमा कतै देखिन्न।
किनभने, यतिबेला नेकपाका उमेरले वृद्धावस्थामा पुगेका नेताहरूमा युवा उमेरको रिस झैं गरी आवेग उम्लिएको छ। यस्तो बेला अरुको आँसुको अन्तर्य र मृत्युको पीडाले छुँदैन। यसले गर्दा यो पार्टीले हिजो आफैले गरेका संकल्प बेवारिस बनेका छन्। संघर्षका क्रममा हिजो बगेका पसिना र रगतको पनि पूरै अवमूल्यन भएको छ।
जनताका प्रतिनिधिको शासन स्थापित गर्न लडेका, जेलनेल भोगेका र हजारौंलाई ज्यान दिन उद्वेलित गरेकाहरुकै नेतृत्वमा अहिले देश चलिरहेको छ। तर, जनताको आँसु देखेर पहरा पनि रसाउने भनाइलाई अहिले नेकपाले नै गिज्याइरहेको छ। महामारीबाट आहत जनताको आँसुले नेकपाको नेतृत्व पंक्तिलाई छोएको व्यवहारमा कतै देखिन्न।
भनिन्छ– उम्लिएको रगतमा चेतना हुन्न, प्रतिशोधको आगो मात्र हुन्छ। त्यही आगोले सबभन्दा पहिले नेकपालाई नै अनिष्टतर्फ डोर्याउँदैछ। आइतबार मात्र काठमाडौंमा नेकपाका ६१ जना सांसदले पत्रकार सम्मेलन गरेर नेतृत्वले आफूहरुलाई ‘खरानी मात्र हस्तान्तरण गर्ने’ अवस्था आइलागेको टिप्पणी गरे।
नेकपाभित्र दन्किएको प्रतिशोधको आगोले यो पार्टीलाई मात्र अनिष्टमा पुर्याउने छैन, यसको अझ डरलाग्दो असर देशले भोग्नुपर्ने खतरा बढेको छ।
किनभने यो पार्टीमा आक्रोश र घृणामा आधारित संघर्ष जसरी चर्किएको छ, त्यसले अब एउटै नेकपा रहने सम्भावना लगभग सकिन थालेको देखाउँछ। यसले निम्त्याउने परिणामबारे नेतृत्वलाई सम्झाउन सक्ने घेरामा तैनाथ अरु नेताहरू आफैं उद्वेलित छन्। कठिन यात्रा पार गरेको नेकपा अहिले आठ लाख बढी पार्टी सदस्य रहेको संस्था त हो, तर ती सदस्यहरुको आवाज नेतृत्वसम्म पुग्ने गोरेटो भत्किएको छ। नयाँ गोरेटो वा राजमार्ग केही बनेकै छैन।
अझ महत्वपूर्ण कुरा त के भने मुलुकले भोगिरहेको संकट, कुनै सैद्धान्तिक अजेण्डा वा सामाजिक न्याय स्थापनाका लागि नेकपाका नेताहरू उद्वेलित छैनन्। पहिलो पटक कार्यान्वयन भइरहेको संविधान र संघीयता, आफ्नै पार्टीको विधान र समाजलाई समृद्ध बनाउने लडाइँ पनि नेकपामा भइरहेको छैन।
यो लडाइँ केवल प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीको ‘कीर्तिमानी रहर’ र त्यसमा बाधक बनेका उनकै पार्टीका नेताहरूबीच भइरहेको छ। यो प्रधानमन्त्री ओलीको ‘कीर्तिमानी रहर’ यसकारण पनि हो कि जन्मका आधारमा समेत अनेकन् विभेद भोग्दैआएका जनताका पीडाभन्दा वीरताका प्रतीक र धार्मिक विश्वासमा उनी रम्नथालेका छन्। रम्न मात्र होइन, त्यसमै केन्द्रित हुनथालेका देखिन्छन्।
प्रम ओलीमा कीर्तिमानको भोक यति धेरै सवार देखिन्छ कि सगरमाथा, बुद्ध, हात्ती, गैंडा, धरहरा भन्दा सानातिना कुरा कसैले सुनाए उनलाई ताजुब लाग्छ। शायद कसैले भगवान अमर हुने प्रसंग सुनाइदिएर कीर्तिमान रच्ने हुटहुटीमा रहेका प्रधानमन्त्रीसामु कुनै ‘अमर पात्र’ खडा गरिदिएर हो कि, देश कोरोना महामारीले थिलथिलो भइरहेको भुलेर प्रधानमन्त्री धार्मिक ग्रन्थ रामायणमा वर्णित् राम जन्मभूमि अन्वेषणमा लागेका छन् जसमार्फत् नयाँ कीर्तिमान रच्न सकियोस्।
प्रधानमन्त्रीको यो रहर पूरा गरेर आफू केवल आम मानिस मात्र बन्न अरू नेताहरू पनि मञ्जुर छैनन्। अर्थात्, नेकपाका अरु नेतामा पनि शक्तिशाली र ‘अमर भगवान’ बन्ने भूत सवार छ। त्यहीअनुसार अनुयायीहरू सिर्जना र तैनाथ गरिएको छ।
भगवानकै प्रसंगमा पनि तथ्य अर्को छ। कसैले आफूलाई भगवान सम्झन्छन्, युगौंसम्म आफ्नो प्रतिमाको आरती उतारियोस् भन्ने परिस्थिति निर्माण गर्छन् भने पनि तिनले केही नियम पालना गर्नैपर्छ– भक्तको हृदय प्रसन्न पार्ने भाष्यको सिर्जना र भगवान मान्नैपर्ने परिबन्धका लागि विधिको निर्माण। यति गर्दा पनि जोखिम भने रहिरहन्छ। यदि भगवानप्रतिकै विश्वास उठ्यो र भक्तले आस्था परित्याग गरिदिए भने स्वयम् भगवान पनि रहँदैनन्। अर्थात त्यसपछि ऊ फगत ढुंगा रहन पुग्छ।
भन्नुको तात्पर्य भगवानले पनि आफू भगवानकै रुपमा बाँच्न लोकको सम्मान गर्नुपर्छ। नेकपाका नेताहरुले बुझ्नुपर्छ, लोकतान्त्रिक प्रणाली ध्वस्त पारेर यहाँ कोही भगवान बन्ने र कसैको प्रतिमा उठ्नेवाला छैन। तर, यो तथ्य सम्झाइदिने कसले ? यसको प्रमुख समस्या नै नेकपाले दलको रूप लिन नसक्नु हो।
नेकपाले केन्द्रमा करीब दुई तिहाइ बहुमतको र ६ वटा प्रदेशमा अत्यधिक बहुमतका सरकार चलाइरहेको छ। प्रदेशका मुख्यमन्त्रीहरु, केन्द्र सरकारदेखि ६ वटा प्रदेशका मन्त्रीहरु, साथै अरू राजनीतिक नियुक्तिहरू नेकपाका दुईजना अध्यक्ष ओली र पुष्पकमल दाहालबीचको भागबण्डाबाट तय भए।
अझ प्रष्टसँग भन्दा ती पद पाउनेले अध्यक्षद्वयको कृपाभावबाट पद पाए। त्यसरी नियुक्त भएकाहरुमा जनमतको सम्मान गर्ने र संविधानको मर्म बुझ्ने विवेकको कमी हुनु अनौठो होइन। नेकपाको स्थायी कमिटी, केन्द्रीय कमिटी र जनसंगठनमा को रहने वा नरहने भन्ने निर्णय पार्टीको विधि र अधिकारप्राप्त कमिटीको निर्णयबाट होइन, दुई अध्यक्षको मर्जीमा भएको छ।
‘म रहे मात्र लोकतन्त्र, कम्युनिष्ट र राष्ट्रवाद जिउँदो रहन्छ’ भन्ने स्वकेन्द्रित सन्देश दिइरहेका नेकपाका नेताहरूमा अर्को ठूलो भ्रम र अहं पनि छ– त्यो हो, व्यवस्था परिवर्तनको आन्दोलन यिनै नेताहरूको नेतृत्वमा भयो।
भन्नुको अर्थ नेकपा आफैंले भन्ने गरेको जनवाद (लोकतन्त्र) अहिले मूर्च्छित छ। केही जीवित छ र दौडिँदैछ भने त्यो कुतर्क र अपव्याख्या हो भन्नुपर्ने अवस्था देखिएको छ, यो पार्टीमा।
२०७४ सालमा सम्पन्न आम निर्वाचनबाट नेकपालाई प्राप्त ऐतिहासिक जनमत र दुई वर्ष पहिले एकीकृत बनेको पार्टी, यी दुवैलाई विभाजनमा लैजानुपर्ने चित्तबुझ्दो तर्क नेताहरूसँग छैन। दशकौं लामो संघर्षबाट प्राप्त उपलब्धि (संविधान)को अपमान र संकटमा फसेको मुलुकलाई आहत बनाउनेगरी प्रधानमन्त्रीले चालेका एकपछि अर्को कदम वा प्रधानमन्त्री विरुद्ध निर्मित गठबन्धन दुवैको अन्तर्य लाजमर्दो छ।
प्रधानमन्त्री हुन् या उनीइतरको समूह, संविधान वा संकटमा फसेको मुलुक कतै प्राथमिकतामा देखिन्न। न त यो सबै गरीबी, पछौटेपन र थुप्रै विभेदको अन्त्य गरेर समाजवाद उन्मुख अर्थव्यवस्था निर्माण गर्न भइरहेको छ। बरु यसपछाडिका कारण यस्ता छन्– एकले अर्कालाई घेराबन्दी गरिएको, अपमान गरिएको, आफ्नो हुकुम नचलेको आदि इत्यादि।
‘म रहे मात्र लोकतन्त्र, कम्युनिष्ट र राष्ट्रवाद जिउँदो रहन्छ’ भन्ने स्वकेन्द्रित सन्देश दिइरहेका नेकपाका नेताहरूमा अर्को ठूलो भ्रम र अहं पनि छ– त्यो हो, व्यवस्था परिवर्तनको आन्दोलन यिनै नेताहरूको नेतृत्वमा भयो।
तर, के परिवारको प्रेमिल प्रस्ताव परित्याग गरी आन्दोलनमा होमिएर शहीद भएका, घाइते र अंगभंग बनेकाहरुसँग कुनै सपना थिएन ? उनीहरूसँग कुनै संकल्प थिएन? कुनै नेताले भन्यो अनि लहलहैमा यो सब भयो ? जसको साथ, समर्पण र त्यागले आज नेतृत्वमा पुग्ने बाटो बन्यो, आज तिनैलाई जे मन लाग्छ त्यही बोल्ने ? जे मन लाग्छ त्यही गर्ने? लाग्छ, यी प्रश्नको मूर्त जवाफ दिने नैतिकता र सामथ्र्य दुवै नेकपाका नेताहरुमा शायद छैन।
नेकपालाई भारी मत दिएर विजयी बनाउने आम नागरिकसँग भने मूर्त प्रश्न यथावत छ– राणा, राजा, पञ्चायत अनि अर्को समाजवादी दल कांग्रेस भन्दा नेकपा भिन्न हुन्छ ? सम्भवतः यही प्रश्नको सम्बोधनमा नेकपाको भविष्य निर्धारण हुनेछ।
छ भने भन्नुपर्याे– के कुनै महावीरको एक्लो विद्रोह वा एक सत्याग्रहीबाट मात्रै कुनै परिवर्तन सम्भव हुन्छ ? के त्यसबाट व्यवस्था बदलिन्छ ? के त्यसको कुनै पृष्ठभूमि हुँदैन ? आम नागरिकको प्रतिबिम्ब नबनेरै के कुनै विद्रोहले सार्थकता पाउँछ ? आवेगको लालीमा रंगिएका नेताहरुलाई यस्ता प्रश्न फजुल लाग्ने छन्। तर, वर्तमानमै घटेका यी घटनाक्रमहरुमाथि इतिहासले यही प्रश्न बारम्बार सोधिरहनेछ।
दुःखका साथ भन्नुपर्छ, यसपटक नेकपामा हुने दुर्घटना र त्यसले मुलुकलाई पार्ने असर हिजोको एमाले वा माओवादी पार्टी फुटेको जस्तो मात्र हुने छैन। बरु अकल्पनीय र त्योभन्दा कैयौं गुणा खतरनाक हुनेछ। किनभने, आज नेताहरूको अकर्मण्यता लुकाउन पहिले जस्तो दरबार (राजसंस्था) छैन। छ त गणतन्त्र, संघीयता, धर्मनिरेपक्षता र समानुपातिक समावेशिता जस्ता अन्तर्वस्तु समाहित संविधान। तर, यो संविधान राम्ररी हुर्कन बाँकी नै छ।
यी तथ्यबारे नेकपाका नेताहरु भलिभाँती जानकार छन्। तर, विडम्बना ! उनीहरुले यो खतरालाई पूर्णतः नजरअन्दाज गरिरहेका छन्। यस्तो लाग्छ, आफ्नै सम्भावित विनाशप्रति पनि उनीहरुलाई रत्तिभर चिन्ता छ्रैन।
नेकपालाई भारी मत दिएर विजयी बनाउने आम नागरिकसँग भने मूर्त प्रश्न यथावत छ– राणा, राजा, पञ्चायत अनि अर्को समाजवादी दल कांग्रेस भन्दा नेकपा भिन्न हुन्छ ? सम्भवतः यही प्रश्नको सम्बोधनमा नेकपाको भविष्य निर्धारण हुनेछ। तर, त्यो भिन्नता देखाउने अवसर नेकपाले गुमाउँदैछ।