उपत्यकामा थप ८७ जना कोरोना संक्रमित भेटिए
बिहीबार उपत्यकामा थप ८७ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपत्यकामा मात्रै ८७ जना कोरोना संक्रमित थपिएसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ८७६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ मार्फत मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये काठमाडौंका ७६ जना र ललितपुरका १० जना र भक्तपुरका १ जनामा कोरोना संक्रमण देखिएको हो।
भेटिएका संक्रमितहरू राष्ट्रिय प्रयोगशाला टेकु, शुक्रराज ट्रपिकल हस्पिटल टेकु, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, स्टार अस्पताल ललितपुर, शिक्षण अस्ताल महाराजगञ्ज, पाटन अस्पताल र कोरिया नेपाल मैत्री अस्पताल भक्तपुरमा भेटिएका हुन्।
यससँगै उपत्यकाका जिल्लाहरू काठमाडौंमा मात्रै कोरोना संक्रमितको संख्या ६७४ जना, ललितपुरमा १२४ जना र भक्तपुरमा ७८ जना पुगेको छ।
बन्दाबन्दी खुकुलो भएसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ।
सरकारले कोरोना संक्रमित बढ्न थालेपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरेको छ भने साँझ ७ बजेदेखि बिहान ७ बजेसम्मको आवागमनलाई बन्द गराएको छ। बिहीबार बिहानदेखि लागू हुनेगरी सवारी साधनमा जोर बिजोर र राति ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन समेत बन्द गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढेकाले अस्पतालको अभाव हुनसक्ने जनाएको छ।
बिहीबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कोरोना संक्रमण भयावह बन्दै गएकाले सुरक्षा सतर्कता अपनाउन आम सर्वसाधारण तथा विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई अनुरोध गरे।
मन्त्रालयले संक्रमणको दर बढ्दै गएकाले उपत्यकामा अस्पताल र स्वास्थ्यकर्मीको अभाव हुनसक्ने जनाएको छ। साथै अस्पतालहरूलाई कर्मचारीलाई शिफ्टमा काम गराउन र स्वास्थ्यकर्मीलाई पीपीईको व्यवस्था गर्न तथा लकबुक बनाएर राख्न समेत अनुरोध गरेको छ।
मन्त्रालयले सरकारी वार निजी जस्तोसुकै कार्यालयमा पनि बैठक, सेमिनार वा भेला नगर्न र अत्यन्तै जरूरी भएको खण्डमा भर्चुअल बैठक गर्न अनुरोध गरेको छ।
साथै काठमाडौं उपत्यकालगायत सीमानाका क्षेत्रमा प्रदेश, स्थानीय तह लगायत निकायले सावधानी अपनाउनका लागि वातावरण बनाउन पनि अनुरोध गरेको छ।
कोरोना परीक्षणका लागि स्वाब दिइसकेपछि रिपोर्ट नआएसम्म अनिवार्य क्वारेन्टिनमा बस्न पनि अनुरोध गरेको छ।