यसरी सफल भयो कोरोना संक्रमितको पहिलोपटक प्लाज्मा थेरापीबाट उपचार
मुलुकमा पहिलोपटक कोरोना संक्रमित बिरामीको प्लाज्माथेरापी विधिबाट गरिएको उपचार सफल भएको छ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका मोरङका ६० वर्षका कोरोना संक्रमणबाट सिकिस्त एक पुरुषको प्लाज्मा थेरापी विधिबाट गरिएको उपचार सफल भएको उपचारमा संलग्न प्रा.डा. सन्तकुमार दासले बताएका छन्।
हिमालखबरसँग कुरा गर्दै डा. दासले मुलुकमा पहिलो पटक त्रिवि शिक्षण अस्पतालबाट प्लाज्मा थेरापी विधिबाट गरिएको उपचार सफल भएको बताए। उपचारमा डा. दाससँगै डा. सुवास आचार्यसहित अरू चारजना चिकित्सक पनि सहभागी थिए।
"नौ दिनअघि निमोनियाले ग्रस्त भएर उहाँ आउनु भएको थियो। कोरोना संक्रमण देखिएपछि उपचारका लागि अस्पताल भर्ना हुनुभयो," डा. दासले भने, “बिरामी अस्पताल आउँदा अवस्था सिकिस्त थियो। उनको रगतमा अक्सिजनको मात्रा सामान्यतः आवश्यक पर्ने ९० प्रतिशत भन्दा कम थियो।”
संक्रमितको रगतमा अक्सिजनको मात्रा ९० प्रतिशतभन्दा कम देखिएपछि अस्पतालले उनलाई १० साउनदेखि आईसियूमा राखेर उपचार गरिरहेको थियो।
आईसियूमा भर्ना भएको पाचौँ दिनसम्म पनि उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनलाई चिकित्सकहरूले भेन्टीलेटरमा राख्ने तयारी गरेका थिए।
यो पनि:
यसैबीच अस्पतालको कोभिड–१९ व्यवस्थापनसम्बन्धी समितिले उनको प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने निर्णय गरेको थियो। अस्पतालको समितिले निर्णय गरे पनि बिरामीको अनुमतिविना प्लाज्मा थेरापी विधिबाट उपचार गर्न नपाइने व्यवस्था छ।
साथै उपचार गर्ने क्रममा बिरामीलाई कोरोना संक्रमणबाट निको भइसकेका बिरामीको रगतबाट प्लाज्मा निकालेर दिनुपर्ने हुन्छ।
त्यसका लागि अस्पतालको कोभिड–१९ व्यवस्थापनसम्बन्धी समितिले माग गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषदले नुवाकोटका कोरोनाबाट निको भएका एक ३० वर्षीय पुरुषसँग सहयोग मागेको थियो।
उनी प्लाज्मा दिन तयार भएपछि अस्पतालले गएको बिहीबार राती दुई घण्टामा प्लाज्मा थेरापी विधिबाट सिकिस्त बिरामीको उपचार सम्पन्न गरेको जनाएको छ।
यस क्रममा चिकित्सकहरूको टोलीले ‘ट्रान्सफ्युजन’ विधि अपनाएर रगतबाट प्लाज्मा निकालेका थिए। उनको बिहीबार उपचार गरेकोमा तेस्रो दिनसम्म आइपुग्दा स्वास्थ्यमा व्यापक सुधार देखिएको डा. दास बताउँछन्।
उनले यो विधिबाट उपचार गरेलगत्तै बिरामीको रगतमा अक्सिजनको मात्रा (स्याचुरेसन) बढेको बताए। उपचारपछि अहिले बिरामीलाई २४ देखि २८ प्रतिशत मात्र अक्सिजन दिनु परेको र एक्सरे रिपोर्टमा ७० प्रतिशत सुधार देखिएको दासले बताए। उनले यसलाई उपचारको सफलता भएको दाबी गरे।
उनका अनुसार ती बिरामीलाई सोमबार आइसियूबाट निकाल्ने तयारी भइरहेको छ।
परिषद्ले बेहोर्छ उपचार खर्च
अहिले कोरोना संक्रमितको प्लाज्मा थेरापी विधिबाट उपचार गर्दा लाग्ने खर्च नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बेहोर्दै आइरहेको छ। । तर यसका लागि आवश्यक पहिले निको भइसकेका कोरोना संक्रमितले दिने रगतको व्यवस्थापन भने गर्नुपर्छ।
डा. दासले अहिले निको भएका बिरामीले जति सक्दो रगत दान गर्नु राम्रो हुुने र त्यसबाट सिकिस्त संक्रमितको उपचार गर्न योगदान पुग्ने बताए।
पहिलोपटक प्लाज्मा थेरापी विधिबाट भएको उपचार सफल भएपछि डा. दासले यो घटनाले आफुहरुलाई संक्रमित बिरामीको यही विधिबाट उपचार गर्न उत्साह थपेको बताए।
त्रिवि शिक्षण अस्पतालले थप एक जना कोरोना संक्रमित बिरामीको पनि यही विधिबाट उपचार गर्ने तयारी गरिरहेको जनाएको छ।
अहिले मुलुकमा कोरोनाका सिकिस्त बिरामीहरू बढीरहेको अवस्थामा अस्पतालमा पर्याप्त आइसियू बेडको तयारी गर्नुपर्ने बताउँछन् डा. दास।
आईसियू बेड हुँदा मात्रै सिकिस्त संक्रमितको प्लाज्मा थेरापी विधिबाट उपचार गर्न सहज हुने उनको भनाइ छ।
यहाँ हुन्छ प्लाज्मा थेरापी विधिबाट उपचार
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अनुसन्धान गर्ने प्रयोजनका लागि मुलुकका १२ वटा अस्पतालहरूमा प्लाज्मा थेरापीबाट उपचार गर्ने प्रक्रिया शुरु गरिसकेको छ।
यसै प्रक्रिया अन्तर्गत परिषद्को नेतृत्वमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका कोरोना सिकिस्त बिरामीको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको हो।
परिषद्का कार्यकारि प्रमुख डा. प्रदिप ज्ञवालीले हिमालखबरसँग कुरा गर्दै परिषद्को नेतृत्वमा भएको उपचार सफल भएको र यसबाट आफूहरू थप उत्साहित बनेको बताए। “यो एक महत्वपूर्ण र सकारात्मक सुरुवात हो,” डा. ज्ञवालीले भने। परिषद्का अनुसार यो ‘क्लिनिकल ट्रायल’ भने होइन।
परिषद्ले प्लाज्मा थेरापी विधिबाट उपचार गर्नका लागि १२ वटा अस्पतालमा दुई–दुई जना विशेषज्ञ चिकित्सक छुट्याएको छ भने के कसरी उपचार गर्ने भनेर प्रोटोकल समेत बनाएको छ।
डा. ज्ञवालीका अनुसार यही प्रोटोकलका आधारमा १२ वटा अस्पताललाई प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने गरी तयारी अवस्थामा राखिएको छ।
परिषद्का अनुसार धनगढीको सेती प्रादेशिक अस्पतालमा भर्ना भएका आठ जना बिरामीले पनि प्लाज्मा थेरापी विधिबाट उपचार गर्न इच्छा देखाएका छन्।
परिषद्ले बनाएको प्रोटोकल अनुसार १८ वर्षभन्दा माथिका कोरोनाका सिकिस्त बिरामीलाई मात्र प्लाज्मा थेरापी विधिबाट उपचार गर्न सकिन्छ।