कोभिड–१९ को उपचारमा प्लाज्मा थेरापी कति सहयोगी ?
विश्वव्यापी महामारी बनेको नयाँ कोरोनाभाइरस (कोभिड–१९) को हालसम्म औषधि पत्ता लागेको छैन। विश्वभर अहिलेसम्म संक्रमणका कारण २ लाख १९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
कोरोनाभाइरसका संक्रमित र मृतकहरूको संख्या बढिरहेका वेला विश्वका वैज्ञानिक र अनुसन्धाताहरूले औषधि र खोपहरुमाथि अध्ययन–अनुसन्धान गर्ने क्रम जारी नै छ। यसै क्रममा प्लाज्मा थेरापीले पनि संक्रमितलाई निको पार्न सक्ने आकलन गर्दै अनुसन्धान भइरहेको छ।
विभिन्न देशमा कोरोनाभाइरस संक्रमित बिरामीमा प्लाज्मा थेरापी विधिले सकारात्मक नतिजा दिएको खबरहरू सार्वजनिक भएका छन्। अमेरिका र बेलायतमा कोभिड–१९ को उपचारका लागि प्लाज्मा थेरापीको ‘क्लिनिकल ट्रायल’ का लागि अनुमति दिइएपछि त्यहाँ संक्रमितहरूमाथि यसको प्रयोग भइरहेको छ। अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले १२ वैशाखमा यो विधि प्रयोग गर्न अनुमति दिएपछि कोलम्बिया विश्वविद्यालयको मेडिकल सेन्टरले ४ सय ५० व्यक्तिमाथि प्रयोग शुुरू गरेको छ।
छिमेकी मुलुक भारतमा पनि कोरोनाभाइरसको उपचारमा प्लाज्मा थेरापी विधि प्रयोगात्मक चरणमा छ। आउटलुक म्यागेजिनको अनलाइन संस्करणमा प्रकाशित समाचार अनुसार दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले गएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्लाज्मा थेरापी परीक्षणका प्रारम्भिक नतिजाहरूले आशा जगाएको बताएका थिए।
यस्तै, इन्डिया टुडेले प्रकाशन गरेको समाचार अनुसार भारतीय स्वास्थ्यमन्त्रीले कोभिड–१९ को उपचारमा प्लाज्मा थेरापी प्रयोगात्मक चरणमा रहेको तर यो उपचार विधि प्रयोग गर्न सकिनेबारे अहिलेसम्म ठोस प्रमाण फेला नपरेको बताएका छन्।
यसैबीच, नेपालमा पनि कोभिड–१९ संक्रमितको उपचार प्लाज्मा थेरापीबाट कसरी गर्ने भन्नेबारेमा निर्देशिका बनेको छ। नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारी विभिन्न मुलुकमा यो विधिबाट गरिएको उपचारमा सकारात्मक नतिजा आएपछि काउन्सिलले पनि प्लाज्मा थेरापी मार्फत कोभिड–१९ को उपचार र अनुसन्धानका लागि निर्देशिका बनाएको बताउँछन्।
विज्ञहरू सहभागी गराएर काउन्सिलले बनाएको निर्देशिका स्वास्थ्य मन्त्रालयमा बुझाइसकेको छ। जुन पारित हुने क्रममा रहेको डा. अधिकारी बताउँछन्।
के हो प्लाज्मा थेरापी ?
प्लाज्मा थेरापी विधि भाइरस संक्रमणपछि निको भएका बिरामीको शरीरमा भएको एन्टीबडी संक्रमित बिरामीलाई दिने प्रक्रिया हो। यस प्रक्रियामा निको भएका बिरामीबाट निकालिएको रगत संक्रमित व्यक्तिको शरीरमा एन्टीबडी बनाउन दिइन्छ।
एन्टीबडीले शरीरमा भाइरसको वृद्धि र विकासलाई रोक्न मद्दत पुर्याउँछ। प्लाज्मा थेरापीका क्रममा रगतबाट प्लाज्मा छुट्याएर निकालिन्छ। प्लाज्मा एन्टीबडी मिश्रित तरल पदार्थ हो।
प्लाज्मा थेरापीका माध्यमबाट भाइरस संक्रमणको उच्च जोखिममा रहेका स्वास्थ्यकर्मी, संक्रमितका परिवारका सदस्य र अन्य जोखिममा रहेका व्यक्तिमा खोप पनि प्रयोग गर्न सकिन्छ। तर, विज्ञहरु प्लाज्मा थेरापी विधि संक्रमित व्यक्तिको उपचारमा जोखिमपूर्ण पनि हुनसक्ने औल्याउँछन्।
अमेरिकाको जोन हप्कीन्स विश्वविद्यालयका इम्युनोलोजजिष्ट आर्टुरो कासाडेभल प्लाज्मा थेरापी फेल भएर बिरामीमा थप संक्रमण हुनसक्ने र शरीरमा हुने प्राकृतिक रोग प्रतिरोधी प्रणाली दबाउन सक्ने जोखिम रहेको बताउँछन्।
विगतका महामारीमा पनि सहयोगी
कोभिड–१९ को उपचारमा प्लाज्मा थेरापी विधि उपयुक्त हुन सक्ने आकलन गर्दै क्लिनिकल ट्रायल भइरहे पनि यो नयाँ अभ्यास होइन। विगतमा विभिन्न भाइरलजन्य संक्रमणको उपचारमा यो विधि अपनाएको उदाहरण छ।
सन् २०१४ मा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले इबोला भाइरस संक्रमित भएर निको भएका बिरामीको एन्टीबडीयुक्त प्लाज्मा भाइरस संक्रमित बिरामीमा प्रयोग गर्न सिफारिस गरेको थियो।
सन् २०१५ मा मर्स रोग र सन् २००९ मा एचवानएनवानको संक्रमणको समयमा पनि संक्रमित व्यक्तिको उपचारमा प्लाज्मा थेरापी विधि प्रयोग गरिएको थियो।
यस्तै, सन् १९१८ मा स्पानिस फ्लुको महामारीका वेला पनि यही उपचार विधि प्रयोग गरिएको थियो।