ओलीले दाहाललाई भने– महाधिवेशनमा जाऔं
बरिष्ठ नेता झलनाथ खनाल सहित बसेको नेकपाका अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीचको सम्वाद सकिएको छ। १३ साउनमा स्थायी कमिटी बैठकबारे दुवै नेताले छुट्टा–छुट्टै निर्णय लिएपछि पहिलो पटक भएको छलफल तीन घण्टा बढी चलेको छ।
कार्यकारी अध्यक्ष दाहाल बरिष्ठ नेता खनाल सहित छलफलमा बसेका थिए भने प्रधानमन्त्री ओलीका तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सम्वादमा बसेका थिए। बालुवाटार स्रोतका अनुसार, भेटवार्तामा दुवै तर्फबाट आ–आफ्नो कुरा राखिएका थिए। प्रधानमन्त्री ओलीले अब महाधिवेशनबाट निकास दिनुपर्ने तर्क दोहोर्याएका थिए। पुरानै अडानमा रहेका प्रम ओलीले महाधिवेशन गरेर पार्टी नेतृत्व परिवर्तन गर्नुपर्ने प्रस्ताव दोहोर्याएका थिए।
अर्का अध्यक्ष दाहालले भने जारी स्थायी कमिटी बैठक टुंग्याउनुपर्ने र केन्द्रीय कमिटी बैठकको समेत माग भएकाले यसबारे पनि छलफल हुनुपर्ने बताएका थिए। केही दिन यता अवरुद्ध दुई अध्यक्ष बीचको भेटवार्ता कायमै राख्न नेताहरु सहमत भएका छन्।
तर, दाहालले भने ‘वान अन वान’ वार्तामा भने नबस्ने अडान लिएका छन्। आज पनि एक्लै नआउने भनेपछि बरिष्ठ नेता खनाल सहित दाहाल बालुवाटार पुगेका थिए। शनिबार साँझ महासचिव बिष्णुप्रसाद पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेल वार्तामा बस्न आग्रह गर्न दाहाल निवास खुमलटार पुगेका थिए।
दाहालको सर्तअनुसार, बरिष्ठ नेता खनाल वार्तामा सहभागी भएका हुन्। प्रम ओलीको तर्फबाट भने संसदीय दलका उपनेता सुवास नेम्वाङ बसेका थिए। प्रम ओलीले १३ साउनमा एक्लौटी निर्णयमा स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गरेपछि दिउँसो दाहाल र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २९ स्थायी कमिटी सदस्यको बैठक बसेको थियो।
उक्त बैठकले दाहाललाई ओलीसँग वार्ता गर्ने जिम्मेवारी दिएको छ। तर, १४ साउन बिहान खुमलटार पुगेका महासचिव पौडेललाई दाहालले एक्लै वार्तामा नबस्ने सर्त राखेका थिए।
याे पनि पढ्नुहाेस्: नेकपाको शक्ति संघर्ष निष्कर्ष नजिक !