ओम्नी मार्फत स्वास्थ्य सामग्री खरीद गर्दा भ्रष्टाचार भएको छानबिनको निष्कर्ष
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) मार्फत चीनबाट गरिएको स्वास्थ्य सामग्री खरीदमा भ्रष्टाचार भएको छानबिनबाट देखिएको छ।
प्रधानमन्त्री कार्यालय अन्तर्गतको सार्वजनिक खरीद अनुगमन कार्यालयले गरेको छानबिनबाट १ करोड ३ लाख ३३ हजार अमेरिकी डलर (रु.१ अर्बभन्दा बढी) बराबरका स्वास्थ्य सामग्री खरीद गर्दा भ्रष्टाचार भएको पाइएको हो। ओम्नीले गरेको खरीदबारे कार्यालयको खरीद अनुगमन महाशाखाका निर्देशक सुवासचन्द्र सिवाकोटीको संयोजकत्वमा गठित समितिले छानबिन गरेको थियो।
यो पनि पढ्नुहोस् - कसरी पायो ओबीसीआईले अर्बौंको स्वास्थ्य सामग्री ठेक्का ? को हुन् तुलबहादुर सिंह (हरि) ?
कार्यालयले छानबिन प्रतिवेदन प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिलाई बुझाएको छ। लेखा समितिका सचिव रोजनाथ पाण्डेले ओम्नी मार्फत गरिएको खरीदमा भ्रष्टाचार भएको देखिएको भन्दै यस सम्बन्धमा एक साताभित्र समितिमा छलफलका लागि पेश हुने बताए। “छलफलपछि खरीद प्रक्रियामा भएको भ्रष्टाचारको विषयमा आवश्यक निर्णय लिइनेछ”, पाण्डे भन्छन्।
पाण्डेका अनुसार, प्रतिवेदनमा स्वास्थ्य सेवा विभाग र मन्त्रालयले प्रक्रिया नपुर्याई तथा लागत अनुमान नै नगरी स्वास्थ्य सामग्री खरीद गरेको लगायत विषय उल्लेख छन्।
सार्वजनिक खरीद नियमावली, २०६४ मा विशेष परिस्थितिमा खरीद गर्ने सम्बन्धमा ‘सार्वजनिक निकायले खरीदको आवश्यकताको लिखित विवरण, गुणस्तर, परिमाण, शर्त र कार्य सम्पन्न गर्ने अवधि जस्ता विवरण तयार गरी आकस्मिक परिस्थितिको सामना गर्न आवश्यक परिमाण र समयावधिका लागि मात्र यथासम्भव प्रतिस्पर्धा गराई वा एउटा मात्र निर्माण व्यवसायी, आपूर्तिकर्ता, परामर्शदाता वा सेवा प्रदायकसँग लिखित दरभाउ वा प्रस्ताव लिई स्वच्छ र उचित मूल्यको लागि वार्ता गरी खरिद गर्नुपर्ने’ व्यवस्था छ।
तर, विभाग र मन्त्रालयले यो व्यवस्थालाई नअपनाई स्वास्थ्य सामग्री खरीद गरेको उनी बताउँछन्।
यस्तै, विभाग र मन्त्रालयले लागत अनुमान नै नगरी खरीद प्रक्रिया अगाडि बढाउँदा स्वास्थ्य सामग्री महँगोमा खरीद भएको प्रतिवेदनमा उल्लेख छ। स्वास्थ्य सेवा विभागले ओम्नीसँग प्रचलित बजार मूल्यभन्दा ४८ गुणासम्म बढीमा स्वास्थ्य सामग्री खरीद गरेको थियो।
प्रतिवेदनले स्वास्थ्य सामग्री खरीदको नेतृत्व विभागीय प्रमुख अर्थात् स्वास्थ्य सेवा विभागका महानिर्देशकले गर्नुपर्नेमा स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले गरेको पनि औंल्याएको छ। “अधिकार नै नभएको व्यक्तिले स्वास्थ्य सामग्री खरीद प्रक्रियाको नेतृत्व गर्नु अख्तियारको दुरुपयोग हो”, लेखा समितिका सचिव पाण्डे भन्छन्।
यसरी भएको थियो खरीद
स्वास्थ्य मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरीद गर्न भन्दै १२ चैत २०७६ मा ओम्नीसँग १ करोड ३ लाख ३३ हजार अमेरिकी डलरभन्दा बढीको खरीद सम्झौता गरेको थियो।
ओम्नीले र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) किट, पोर्टेबल पीसीआर मेशिन, पीपीई, रिएजेन्ट, थर्मल गन, स्क्यानर लगायत सामग्री खरीद गरेको थियो । विपद्को वेला भन्दै सरकारले ओम्नी मार्फत खरीद गरेका सामग्री ल्याउन १६ चैत २०७६ मा नेपाल वायुसेवा निगमको विमान चार्टर्ड गरेको थियो।
यो पनि पढ्नुहोस्- गुणस्तरहीन पोर्टेबल पीसीआर मेशिन र किट खरीदमा २३ करोड खर्च
मुलुकमा कोभिड–१९ को संक्रमण बढ्न थालेपछि बन्दाबन्दी लागू भएकै दिन ११ चैतमा स्वास्थ्य मन्त्रालयमा बसेको उच्चस्तरीय प्राविधिक समितिको बैठकले थप १५ सय व्यक्तिको परीक्षण र उपचारका लागि चाहिने सामग्री खरीद गर्न मन्त्रालयकै आपूर्ति व्यवस्थापन शाखालाई निर्देशन दिएको थियो। उक्त बैठकमा सीमित कम्पनीका प्रतिनिधिलाई निम्त्याइएकोमा ओम्नी पनि एक थियो।
ओम्नीका प्रतिनिधिलाई छलफलका लागि मन्त्रालयमा बोलाउने लगायत काम मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले गरेका थिए। बैठक बसेकै दिन विभागले १५ चैतसम्म सामान उपलब्ध गराइसक्नुपर्ने भन्दै केही घण्टाको मात्र समय दिंदै सामग्री खरीदका लागि बोलपत्र आह्वान गर्यो । तर, यसका लागि शाखाले इमेल र खामबन्दी मार्फत त्यसअघि नै ‘सर्ट लिस्टेड’ सात कम्पनीलाई प्रस्ताव आह्वान गरेको थियो।
यस क्रममा सातमध्ये ओबीसीआई र अनिता सप्लायर्स गरी दुई कम्पनीको मात्र बोलपत्र पर्यो । अनिता सप्लायर्सले भन्दा कम मूल्य प्रस्ताव गरेको भन्दै विभागले ओम्नीसँग खरीद सम्झौता गर्यो। तर, ओम्नीले ल्याएको सामान प्रचलित बजार मूल्यभन्दा ४८ गुणासम्म महँगो परेको थियो। यस्तै, पोर्टेबल पीसीआर मेशिन र आरडीटी किट गुणस्तरहीन भएको पुष्टि भएको थियो।
आपूर्ति व्यवस्थापन शाखाका तत्कालीन निर्देशक भोगेन्द्रराज डोटेलले हिमालखबरसँग कुरा गर्दै तत्काल अत्यावश्यकीय सामान भएकाले गुणस्तर जाँच्न र मूल्य हेर्नतिर नलागेको तर्क गरेका थिए।
यो पनि पढ्नुहोस्- अवैज्ञानिक आरडीटीः डब्लूएचओले सिफारिश नगरेको कम्पनीबाट किट किनियो, हतारमा सिध्याइयो
स्वास्थ्य मन्त्रालयले ओम्नी मार्फत खरीद गरेको रु.२३ करोड मूल्यका पाँच थान पोर्टेबल पीसीआर मेशिन र किट गुणस्तरहीन भएको पत्ता लागिसकेको छ । मन्त्रालयले प्रदेशहरूमा पठाएको ती मेशिनहरूले काम नगरेपछि फिर्ता ल्याइसकेको छ।
यस्तै, मन्त्रालयले गुणस्तर जाँच नभएका आरडीटी किट खरीद गरेको थियो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र विज्ञहरुले तिनको प्रयोग नगर्न सुझाव दिंदादिंदै मन्त्रालयले ओम्नीले पहिलो चरणमा ल्याएको ७५ हजार थान आरडीटी किट प्रयोग गरेर सिध्याइसकेको छ।
यो पनि पढ्नुहोस्- ओम्नी प्रकरणका ‘जिम्मेवार’ मानिएका अधिकारीको सरुवा