वैकल्पिक सिकाइः प्रविधिमा विद्यार्थीको पहुँच नभएपछि घुम्ती कक्षा
सरकारले १ असारबाट वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइलाई निरन्तरता दिन निर्देशिका ल्यायो। तर, प्रविधिमा पहुँच नभएका सामुदायिक विद्यालयका विद्यार्थीलाई समेट्न सहज थिएन। अनि मोरङको बेलबारी नगरपालिकाले शुरु गर्यो, घुम्ती कक्षा।
कुनै पनि माध्यममा पहुँच नभएका एक हजार ८९१ विद्यार्थीका लागि सम्बन्धित विद्यालयले घुम्ति शिक्षा संचालन गरिरहेका छन्। यस्तो शिक्षा बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म चल्छ ।
नगरपालिकामा ३१ सामुदायीक विद्यालय र ३३ संस्थागत विद्यालय छन्। घुम्ती कक्षाअघि नगरपालिकाले विद्यार्थीको अवस्थाको वर्गीकरण गर्न निर्देशन दिएको थियो। बेलबारी नगरपालिकाको शिक्षा शाखा प्रमुख भुपेन्द्र प्रसाद कोइरालाका अनुसार विद्यार्थीको अवस्था सर्वेक्षण गरेर ६ वर्गमा विभाजन गरिएको छ।
प्रविधिमा पहुँच भएका, ‘मेमोरी कार्ड’ वा ‘पेनड्राइभ’ चल्ने स्मार्ट टिभी भए, स्मार्ट फोन भएका तर इन्टरनेट नभएका, रेडियोमा पहुँच भएका, छिमेकमा इन्टरनेट भएका र कुनै पनि माध्यममा पहुँचमा नभएका विद्यार्थी समूह छुट्याइएको छ। यी विद्यार्थीलाई उनीहरुको पहुँचको आधारमा अध्यापन थालिएको कोइराला बताउँछन्। कुनै पनि प्रविधिमा पहुँच नभएकाका लागि घुम्ती कक्षा संचालनमा छन्।
यो पनि पढ्नुहोस्— अनलाइन कक्षा बाध्यता कि नयाँ माध्यम ?
नगरपालिकाले विद्यार्थीको लागि नगरको ५० ठाउँमा केन्द्र तोकेर उच्च् गतिको इन्टरनेट राखिरहेको छ। कोइराला भन्छन्, “सम्बन्धित क्षेत्रले जिम्मेवारीका साथ आफ्नो काम गर्नुपर्छ, हामीले त्यहीँ गरिरहेका छौं। हाम्रो निष्कृयताले विद्यार्थीको जीवनमा नकारात्मक प्रभाव पर्नुहुँदैन।”
बेलबारीको बलुवाहीस्थित धीरनाथ सन्फूल विश्वास माविले जेठ अन्तिमदेखि घुम्ति शिक्षा शुरु गरेको छ। नगरपालिकाले निर्देशन दिनुअघि नै घुम्ति शिक्षा शुरु गरेको प्रधानध्यापक पुर्ण प्रसाद कोइराला बताउँछन्। विद्यालय भवनलाई भने नगरपालिकाले क्वारेन्टिनको रुपमा प्रयोग गरिरहेको छ।
विद्यालयलाई क्वारेन्टिन बनाएपछि अब शिक्षक र विद्यार्थीमा पनि कोरोनाभाइरस संक्रमण फैलन्छ भन्ने गलत सूचना अभिभावकमा प्रवाह भएको प्रधानाध्यापक कोइराला बताउँछन्। त्यो त्रास हटाउन पनि घुम्ति शिक्षा शुरु गरेको उनको भनाइ छ।
प्रधानाध्यापक कोइराला भन्छन्, “विद्यालयले एक गाउँ एक कक्षा अवधारणा अनुसार घुम्ति शिक्षा संचालन गरिरहेको छ। त्यही अनुसार १० ठाउँमा केन्द्र तोकिएको छ।” विद्यालयले तयार गरेको तालिका अनुसार शिक्षक सबै केन्द्रमा पुग्छन्। विद्यार्थी भने आफ्नै वा नजिकको तोकिएको गाउँको केन्द्रमा पढ्नुपर्छ। २६ शिक्षकले बिहान ७ देखि १० बजेसम्म र साढे १० देखि दिउँसो १ बजेसम्म आलोपालो बढाउँछन्।
घुम्ति कक्षामा शिक्षक तथा विद्यार्थीले अनिवार्य मास्क लगाउनुपर्छ। भौतिक दुरी कायम राख्नुपर्छ। सबै केन्द्रमा साबुन पानी राखिएको छ। कक्षा शुरु हुनुअघि अनिवार्य हात धुनुपर्छ। कक्षा सकिएपछि पनि हात धुनुपर्ने नियम बनाइएको छ।
दैनिक मास्क वितरण गर्दा दैनिक रु.२ हजारसम्म खर्च हुने गरेको छ। उनी भन्छन्, “विद्यार्थीले मास्क कहिले बाटोमा हराउँछन्, कहिले घरैमा छाड्छन्। सम्बन्धित शिक्षकले मौजुदा मास्क लिएर हिँड्नुपर्छ।”
मोरङमा ५३७ सामुदायिक र ३९८ संस्थागत विद्यालय छन्। बेलबारी नगरपालिका बाहेकका विद्यालयमा प्रविधि प्रयोग नगरी वैकल्पिक कक्षा सञ्चालन नभएको शिक्षा विकास तथा समन्वय ईकाइ मोरङका प्रमुख दीर्घध्वज चापागाईं बताउँछन्।
यो पनि पढ्नाुहोस्— प्रविधिमा असमान पहुँच: विद्यार्थीको ठूलो संख्या पढाइबाट वञ्चित
झापा, सुनसरी र अछामका केही विद्यालयले पनि घुम्ती कक्षा थालेका छन्। सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित आदर्श माविले पनि १ असारदेखि भौतिक दुरी कायम गरेर घुम्ती कक्षा गरिरहेको छ। १ देखि ५ कक्षासम्मका विद्यार्थीका लागि सात ठाउँमा केन्द्र तोकिएको छ। सहकारी भवन, क्याम्पस भवन लगायत खाली ठाउँमा कक्षा सञ्चालन गरिरहेको प्रधानाध्यापक प्रह्लाद भट्टराई बताउँछन्।
६ कक्षादेखि १२ कक्षासम्मका विद्यार्थीलाई सम्बन्धित शिक्षकले लिखित पाठ्यसामाग्री र ‘वर्क सिट’ दिएका छन्। विद्यार्थीले यस्तो गृहकार्य विद्यालयमै आएर बुझाउनुपर्छ। भीड नगर्नका लागि पालो तोकिएको छ। एउटा कक्षको पालो हरेक चार दिनमा आउँछ।
विद्यालयमा ११ सयभन्दा बढी विद्यार्थी छन्। छिमेकी जिल्ला भोजपुर, उदयपुर र धनकुटाका नजिकका गाउँबाट पनि विद्यार्थी पढ्न आउँछन्। लामो समय विद्यालय बन्द हुँदा अभिभावकको गुनासो आउन थालेपछि विद्यार्थीको सर्वेक्षण गरेरै घुम्ती कक्षा चलाएको भट्टराई बताउँछन्।
मेसेन्जर, टिभी, रेडियोबाट पाठ्यसामाग्री वितरण तथा प्रशारण गर्दा १५ प्रतिशतको मात्र पहुँच भएको उनी बताउँछन्। अहिले सामान्य दिनमा करिब ६५ प्रतिशत विद्यार्थी सिकाइमा सहभागी हुन्छन्। ठूलो झरी पर्दा भने ३५ प्रतिशत मात्रै सहभागी हुने गरेका छन्। चार किलोमिटर टाढाबाट हिँडेर आउने हुँदा वर्षामा विद्यार्थी कम हुने उनको भनाइ छ।
प्रधानध्यापक भट्टराई भन्छन्, “हामीले अपनाएको विधि अहिलेसम्म प्रभावकारी देखिएको छ। हामीले गरिरहेको उपाय नगरपालिकालाई सुझाएपछि अन्य विद्यालयलाई पनि यसैगरी कक्षा संचालन गर्न निर्देशन दिइएको छ।” घुम्ती कक्षामा सबैले मास्क अनिवार्य लगाउनुपर्छ। शिक्षकलाई स्यानिटाइजरको सुविधा दिइएको छ। हरेक केन्द्रमा साबुन पानी राखिएको छ। थर्मल गनले विद्यार्थीको ज्वरो जाँच गरेपछि मात्रै कक्षामा प्रवेश गर्न पाइन्छ।
यो पनि पढ्नाुहोस्— 'शुल्क लिन अनलाइन कक्षा चलाइएको होइन'
बराहक्षेत्र नगरपालिकामा ५२ सामुदायीक र ३१ संस्थागत विद्यालय छन्। त्यस्तै एउटा विद्यापीठ र चार मदरसा पनि छन्। अहिले करीब ५० विद्यालयमा विभिन्न तरिकाले अध्यापन भईरहेको नगरपालिका शिक्षा शाखा प्रमुख डिल्लिराम अधिकारी बताउँछन्। सबै विद्यालयलाई वैकल्पिक सिकाई प्रणाली शुरु गर्न परिपत्र गरेको उनले जानकारी दिए।
सुर्खेतको वीरेन्द्रनगरस्थित अमरज्योति नमूना माध्यमिक विद्यालयले ७ असारदेखि भौतिक दूरी कायम गरी विद्यालयमा नै पठनपाठन शुरु गरेको छ। १ देखि ९ कक्षासम्म पठनपाठन सञ्चालन गरेको विद्यालयले ११ कक्षामा ज्योमिट्रिक सव इन्जिनियरिङ र सिभिल इन्जिनियरिङको कक्षा पनि शुरु गरेको छ । अब १२ कक्षाको पनि पढाई शुरु गर्ने तयारी गरिरहेको प्रधानाध्यपक खगेन्द्र थापा बताउँछन्।
टोल शिक्षा भन्दा विद्यालयमा नै भौतिक दुरी कायम राख्न फराकिलो स्थान हुने उनको भनाइ छ। सदरमुकाम र जिल्ला बाहिर रहेका करीब २० प्रतिशत विद्यार्थी अझै सम्पर्क बाहिर रहेको उनी बताउँछन्। “शिक्षकले मात्रै वैकल्पिक सिकाइ प्रणाली प्रभावकारी बनाउन सम्भव भएन। ठूला कक्षाका विद्यार्थीलाई साना कक्षाका विद्यार्थीको सिकाइमा सघाउन उनीहरुलाई प्रशिक्षण दिएका छौं”, उनी भन्छन्।
वीरन्द्रनगर नगरपालिकामा ६४ सामुदायीक विद्यालय र ६१ संस्थागत विद्यालय छन्। केही विद्यालयले मात्रै वैकल्पिक सिकाइ थालेको नगरपालिकाको शिक्षा शाखा प्रमुख ललितविक्रम सिंह बताउँछन्। जुम, मेसेन्जर, स्थानीय रेडियो, टेलिभिजनबाट सिकाइ प्रक्रिया शुरु गरे पनि भौतिक दूरी कायम राख्दै पढाउने अमरज्योति नमूना मावि मात्रै भएको उनको भनाइ छ।