रत्नराज्यलक्ष्मी, मदन भण्डारी मेमोरियल र कलेज फर जर्नालिजम एण्ड मास कम्युनिकेसन (सीजेएमसी) ले आफ्नै एफएम रेडियो संचालन गरेका छन्। तर, बन्दाबन्दीमा मदन भण्डारी मेमोरियल कलेजको रेडियो मात्र विद्यार्थीका लागि उपयोग भयो।
मदन भण्डारी मेमोरियल कलेजले इन्टरनेटमा पहुुँच नभएका विद्यार्थीका लागि आफ्नै एफएम रेडियोबाट कक्षा सञ्चालन गर्यो। विभिन्न तहका पाठ्यक्रममा आधारित पाठ्य सामाग्री आलोपालो प्रणालीमा एफएम मार्फत प्रसारण गरिरहेको क्याम्पस प्रमुख डम्बर हमाल बताउँछन्।
उनी भन्छन्, “रेडियोबाट प्रसारित सामाग्री अनलाइनमा जस्तो प्रभावकारी नभए पनि विद्यार्थी पाठ्य सामाग्रीबाट बन्चित हुनु परेन।” भौगोलिक विकटताको कारण केही विद्यार्थीले भने एफएम स्पष्ट नसुनिएको गुनासो गरेका छन्।
उक्त कलेजले २०६६ सालदेखि ‘रेडियो श्वेत शार्दुल’ सञ्चालन गरिरहेको छ। ९३.६ मेगाहर्ज ब्याण्डविथमा बज्ने यो रेडियो ५०० वाट क्षमताको छ। पत्रकारिता तथा आमसंचारमा रेडियो विषय लिएर पढ्ने विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि यसको स्थापना गरिएको हो।
विभिन्न विषय लिएर पढिरहेका विद्यार्थीको पाठ्यक्रममा आधारित कार्यक्रम प्रशारण गर्दै आइरहेको क्याम्पस प्रमुख डम्बर हमालले बताए। तर, मानविकी, व्यवस्थापन, विज्ञान, आईटी पढ्ने विद्यार्थीका पाठ्यक्रममा आधारित कार्यक्रम पनि बज्ने गरेकाले सबै विद्यार्थीलाई उपयोगी भएको हमाल बताउँछन्।
रेडियोबाट पाठ्य सामाग्री प्रशारण गर्दा अन्य कलेजका विद्यार्थीलाई पनि फाइदा भएको उनको भनाइ छ। उनी भन्छन्, “रेडियोबाट अन्तरक्रिया नहुने हुँदा अनलाइनमा जस्तो प्रभावकारी हुँदैन। तर, अनलाइनमा पहुँच नभएका सबै विद्यार्थीलाई उपयोगी भएको पाएका छौँ।”
दैनिक १८ घन्टा संचालन हुने एफएममा कलेजका विद्यार्थी र शिक्षकहरुले शैक्षिक कार्यक्रम र पाठ्यक्रममा आधारित छलफल चलाउँछन्। विद्यार्थीहरुको रुचि अनुसार मनोरन्जनका लागि गीत, संगीत पनि बजाउने गरिएको छ।
तर, त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागकै रेडियोबाट बन्दाबन्दीमा पाठ्यक्रममा आधारित सामग्री बजेन। विभागले रत्नराज्यलक्ष्मी क्याम्पससँगको सहकार्यमा २०६६ सालदेखि नै ‘टीयू एफएम’ सञ्चालन गरिरहेको छ।
यो रेडियो १०७ मेगाहर्ज ब्याण्डविथमा सुन्न सकिन्छ। आफ्नो प्रसारण क्षेत्रका विद्यार्थी अनलाइनको पहुँचमा भएकाले पाठ्यक्रममा आधारित सामग्री प्रसारण नगरेको रेडियो सञ्चालक समन आचार्य बताउँछन्।
उनी भन्छन्, “हाम्रो रेडियोको क्षमता धेरै छैन। यसको क्षमता कम भएकाले धेरै टाढासम्म सुन्न सकिँदैन। हामीले बजाएको सामग्री ग्रामीण क्षेत्रका विद्यार्थीले सुन्न सक्दैनन्।” अहिले विद्यार्थीहरुले उत्पादन गरेको सामग्री पनि नभएकाले शैक्षिक समाचार बाहेकको समयमा गीत, संगीत बजाइरहेको उनी बताउँछन्।
रेडियो पत्रकारिता पढ्ने विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि खोलिएकाले विद्यार्थीले नै कार्यक्रम चलाउने उनी बताउँछन्। विद्यार्थीले रेडियोका लागि समाचार बनाउने, स्क्रिप्ट लेख्ने, कार्यक्रम उत्पादन गर्ने, कार्यक्रम संचालन गर्ने गर्छन्। यो रेडियो दैनिक बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुन्छ। आचार्य भन्छन्, “अन्य रेडियोमा इन्टर्नसीप गर्न पठाउँदा वास्ता नगरिदिने हुँदा कलेजले नै संचालन गरेको हो।”
दैनिक १८ घन्टा संचालन हुने एफएममा कलेजका विद्यार्थी र शिक्षकहरुले शैक्षिक कार्यक्रम र पाठ्यक्रममा आधारित छलफल चलाउँछन्। विद्यार्थीहरुको रुचि अनुसार मनोरन्जनका लागि गीत, संगीत पनि बजाउने गरिएको छ।
बन्दाबन्दीमा रेडियोबाट मात्र पाठ्यसामग्री प्रसारण गरे पनि विद्यार्थीका लागि पर्याप्त नहुने प्रा. रामकृष्ण रेग्मी बताउँछन्। रेडियो, टेलिभिजन, सामाजिक संजाल वा अन्य जुन माध्यममा विद्यार्थीको पहुँच छ त्यही माध्यम भरपूर प्रयोग गर्नुपर्ने उनी बताउँछन्।
विद्यार्थीलाई शैक्षिक गतिविधिसँग जोड्न रेडियोको मुख्य भूमिका भए पनि कलेजले नै संचालन गर्नु नपर्ने उनी बताउँछन्। अरु देशमा पनि व्यवस्थापकीय क्षमता बलियो भएका विश्वविद्यालयले मात्रै एफएम सञ्चालन गर्छन्।
प्रा.रेग्मीको अनुसार कलेजले संचालन गरेको एफएममा शैक्षिक सामाग्री बाहेकका सामग्री प्रसारण गर्न पाइँदैन। व्यावसायिक विज्ञापन पनि प्रसारण गर्न पाइँदैन। एफएम संचालनका लागि छुट्टै व्यवस्थापकीय समूह चाहिन्छ।
के हो रेडियोको आर्थिक स्रोत ?
नेपालमा पहिलो पटक शैक्षिक एफएम संचालन गरेको सीजेएमसीले अहिले आफ्नो रेडियो नै भाडामा लगाएको छ। त्यसैले बन्दाबन्दीमा रेडियोमार्फत पाठ्यसामग्रीमा आधारित कार्यक्रम बजाउनै सकेन।
कलेजले २०६२ सालदेखि नै १०० वाटको ‘सीजेएमसी कम्युनिटी रेडियो’ आफ्नै आर्थिक स्रोतमा संचालन गरेको थियो। त्यसबाट ‘रेडियो ट्युसन’ कार्यक्रम संचालन हुन्थ्यो। कार्यक्रमबाट धेरै विद्यार्थी लाभान्वित भएको संस्थापक प्रिन्सिपल डा. मन्जु मिश्र बताउँछिन्। रेडियोबाट विज्ञान, अंग्रेजी, हिसाब विषयको ट्युसन पढाएको उनले जानकारी दिइन्।
मन्डिखाटारमा भएको एफएमको स्टुडियोमा भूकम्पले क्षति पुर्याएपछि कपन पैयूँटारस्थित कलेजको आफ्नै भवनमा सारिएको थियो। कलेज टाढा भएको कारण विद्यार्थी घटेपछि रेडियोलाई डा. मिश्रले आफ्नै घर फैका चाेक सारिन्। तर, भौगोलिक अवस्थिति नमिल्दा टाढासम्म नसुनिएपछि भाडामा दिएको उनी बताउँछिन्।
मदन भण्डारी मेमोरियल कलेजले पनि आफ्नै स्रोतमा रेडियो संचालन गरेको हो। तर, यसमा विद्यार्थीले पनि प्रायोजक खोजेर कार्यक्रम चलाउने गरेका छन्।
विश्वका विभिन्न विश्वविद्यालयले एफएम मार्फत विद्यार्थीका लागि शैक्षिक सामाग्री, समाचार, कार्यक्रम प्रसारण गर्छन्। प्रायः विश्वविद्यालयका विभिन्न विभागले रेडियो संचालन गर्छन्। पत्रकारिता, सामाजिक विज्ञान, गणित, विज्ञान विभाग, इन्जिनियरिङ, भूगोल, वातावरण जस्ता विभागले रेडियो चलाएको पाइन्छ। त्यसबाहेक मेडिकल कलेजहरुले पनि रेडियो चलाउँछन्।
क्याम्पस प्रमुख हमाल भन्छन्, “विद्यार्थीले आफै प्रायोजक खोजेर ल्याएर पनि शैक्षिक कार्यक्रम चलाइरहेका छन्। त्यसबाट उनीहरुलाई पकेट खर्च भएको छ र कलेजलाई स्टुडियो सञ्चालनका लागि केही राहत मिलेको छ।” शैक्षिक विषयसँग सम्बन्धित विज्ञापनहरु समेत बजाउने गरेको उनी बताउँछन्।
टीयु एफएमले भने कुनै पनि किसिमको विज्ञापन बजाउँदैन। यो रेडियो त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पत्रकारिता विभाग र रत्नराज्यलक्ष्मी क्याम्पसले संयुक्त रुपमा चलाएका हुन्।
किन संचालन गरिन्छ रेडियो ?
विश्वका विभिन्न विश्वविद्यालयले एफएम मार्फत विद्यार्थीका लागि शैक्षिक सामाग्री, समाचार, कार्यक्रम प्रसारण गर्छन्। प्रायः विश्वविद्यालयका विभिन्न विभागले रेडियो संचालन गर्छन्। पत्रकारिता, सामाजिक विज्ञान, गणित, विज्ञान विभाग, इन्जिनियरिङ, भूगोल, वातावरण जस्ता विभागले रेडियो चलाएको पाइन्छ। त्यसबाहेक मेडिकल कलेजहरुले पनि रेडियो चलाउँछन्।
विभिन्न कार्यक्रम मार्फत पाठ्यक्रमसँग सम्बन्धित विषयलाई आन्तरिक तथा बाह्य विद्यार्थीको ठूलो समूहमा पुर्याउन रेडियो महत्वपूर्ण हुन्छ। विद्यार्थीले सिकेको ज्ञानलाई परीक्षण गर्न पनि रेडियो संचालन गरिएको हुन्छ। सम्बन्धित विषयका अध्ययन अनुसन्धानबाट आएको सूचनामा आधारित कार्यक्रम बनाइन्छ। तर, नेपालमा अहिलेसम्म केही पत्रकारिता तथा आमसञ्चार विषय अध्यापन गराउने कलेजले मात्रै शैक्षिक प्रयोजनका लागि रेडियो चलाएका छन्।
चितवन मेडिकल कलेजका अध्यक्ष तथा एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका पूर्व अध्यक्ष हरिश न्यौपाने नेपालमा कुनै पनि मेडिकल कलेजले एफएम नचलाएको बताउँछन्। उनी भन्छन्, “हालसम्म नेपालमा कुनै पनि मेडिकल कलेजले रेडियो चलाएको मलाई थाहा छैन। पिएसए चाहि विभिन्न एफएममा बजाउने गरिएको छ।”
यो पनि पढ्नुहोस्—प्रविधिमा असमान पहुँच : विद्यार्थीको ठूलो संख्या पढाइबाट वञ्चित