ब्यांकमा पैसा छेलोखेलो, छैनन् ऋण माग्ने
कोरोनाभाइरस संक्रमण रोक्न लगाइएको बन्दाबन्दीका कारण अर्थतन्त्रमा नयाँ लगानीको विस्तार सुस्त भएको छ। लगानीका लागि ऋण माग्न जाने ह्वात्तै घटेपछि ब्यांकहरुमा रकम थुप्रिन थालेको छ । बन्दाबन्दीको साढे तीन महीनाको अवधिमा ब्यांकमा करीब रु.१ खर्ब ३५ अर्बजति निक्षेप थपिएको छ भने ऋण करीब रु.३५ अर्बले घटेको छ।
गत चैत मसान्तसम्ममा वाणिज्य ब्यांकहरुले करीब रु.२८ खर्ब ४५ अर्ब ऋण प्रवाह गरेका थिए । तर, चैत यता ऋण रकम झन् घटेको छ । अहिले वाणिज्य ब्यांकहरुको कुल कर्जा लगानी रु.२८ खर्ब १० अर्बको हाराहारीमा ओर्लिएको छ । जबकि, यही अवधिमा ब्यांकको निक्षेपमा भने व्यापक सुधार भएको छ । अहिले ब्यांकहरुमा रु.३३ खर्ब २५ अर्ब निक्षेप छ । जुन, गत चैत मसान्तमा रु.३१ खर्ब ९० अर्बजति थियो।
अहिले ब्यांकसँग ऋणयोग्य लगानी रकम झण्डै पौने दुई खर्बजति थुप्रिएको छ । व्यवसाय विस्तारको योजना बनाइरहेका तथा नयाँ लगानीको अवसर खोजिरहेका व्यवसायीहरुले लगानी योजनालाई स्थगित गर्दा ब्यांक ऋण प्रवाह हुन सकेको छैन । अर्थतन्त्रको अधिकांश क्रियाकलाप सुस्ताएकाले ब्यांक ऋणको मागमा चाप छैन।
पछिल्ला वर्षहरुमा ऋणको माग अत्यधिक धेरै तर निक्षेप कम हुँदा तरलता अभावको सामना गर्दै आएका थिए । अर्थात, ब्यांकहरुसँग ऋणीले मागेजति ऋण दिने क्षमता नै थिएन । अहिले भने ब्यांकहरुमा ऋण दिने रकमको थुप्रो लागेको छ, तर ऋण माग्न आउने छैनन्।
नेपाल ब्यांकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी वाणिज्य ब्यांकहरुको औसत पुँजी–कर्जा–निक्षेप अनुपात (सीसीडी रेसियो) ७१ प्रतिशतमा ओर्लिएको बताउँछन्।
नाफामा असर पर्ने भएपछि ब्यांकहरुले निक्षेपको ब्याजदर घटाउने तयारी थालिसकेका छन्। नेपाल ब्यांकर्स संघमा भएको छलफलमा ब्यांकका प्रमुख कार्यकारी अधिकृतहरु निक्षेप ब्याजदरका विषयमा लचक हुँदै ब्यांक आफ्नै स्वविवेक प्रयोग गर्न सहमत भएका छन्। यसअघि ब्याजदरका विषयमा ब्यांकर्स एशोसिएसनले भद्र सहमतिका नाममा अघोषित बन्देज लगाएका थिए।
लगानीयोग्य तरलताको अभावका बेला ब्यांकहरुको पुँजी–कर्जा–निक्षेप अनुपात ८० प्रतिशतको सीमा पुग्छ । वर्षान्तमा सरकारी खर्च भुक्तानी बढेको तथा बाह्य ऋण परिचालन पनि बढेकाले ब्यांकहरुको निक्षेपमा सुधार आएको हो । तर, त्यसको अनुपातमा ऋण प्रवाह हुन सकेको छैन।
लगानीयोग्य पुँजी निस्क्रिय भएर थुप्रिंदा ब्यांकहरुको नाफामा असर पर्छ । निक्षेपको ब्याजमा खर्च गरिरहनुपर्ने तर ऋण प्रवाह नहुँदा उनीहरुको आम्दानी घट्छ । त्यसैकारण, ब्यांकरहरुले राष्ट्र ब्यांकले ब्यांकहरुसँग भएको अधिक तरलतालाई ब्याज दिएर खिचिदिनुपर्ने माग गर्दै आएका छन्।
नाफामा असर पर्नेभएपछि ब्यांकहरुले निक्षेपको ब्याजदर घटाउने तयारी थालिसकेका छन्। नेपाल ब्यांकर्स संघमा भएको छलफलमा ब्यांकका प्रमुख कार्यकारी अधिकृतहरु निक्षेप ब्याजदरका विषयमा लचक हुँदै ब्यांक आफ्नै स्वविवेक प्रयोग गर्न सहमत भएका छन्। यसअघि ब्याजदरका विषयमा ब्यांकर्स एशोसिएसनले भद्र सहमतिका नाममा अघोषित बन्देज लगाएका थिए।
ऋण प्रवाह नभएर लागत बढी परेका कारण ब्यांकरहरु निक्षेपको ब्याजदर घटाउने योजनामा छन् । अहिले औसतमा संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७ प्रतिशत र व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ८.२५ प्रतिशत छ ।
त्यस्तै, साधारण बचतमा अधिकतमा ५.५ प्रतिशत ब्याजदर दिने सहमति छ । ब्यांकहरुले निक्षेपको ब्याजदर झण्डै २ प्रतिशत विन्दुसम्मले घटाउनसक्ने अनुमान गरिएको छ । निक्षेपको ब्याजदर घटाउँदाको असर ब्यांकमा निक्षेप राखेका सर्वसाधारणको ब्याज आम्दानी घट्छ । अहिले कुल निक्षेपको झण्डै आधा मुद्दती निक्षेप छ । ब्यांकमा २६ लाख ५६ हजार बचत खाता खोलिएका छन्।
लगानीको तयारी गरिरहेकाहरुले बन्दाबन्दीपछि आफ्नो योजना थाती राखेका कारण ब्यांकको ऋण प्रवाह सुस्त भएको हो। ब्यवसायीहरु लगानी विस्तारभन्दा कसरी टिक्ने भन्नेमा मात्र केन्द्रित भएको बताउँछन् । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा भन्छन्, “बन्दाबन्दीपछि व्यवसायीहरुको जोखिम लिने क्षमता घटेको छ, अब नयाँ र ठूलो लगानीमा आँट आउँदैन (हे.अन्तर्वार्ता)।”
बन्दाबन्दीपछि उद्योग दर्तामा ब्यापक कमी आएको छ । उद्योग विभागको तथ्यांकअनुसार, बन्दाबन्दी शुरु भएको अघिल्लो दिन अर्थात गत चैत १० गतेदेखि २५ असारसम्ममा २३ वटा मात्र उद्योग दर्ता भएका छन् । यी उद्योगले रु. ७ अर्ब ३ करोड लगानीको प्रतिबद्दता जनाएका छन् । जबकि, यही अवधिमा गत वर्ष ११३ उद्योगले रु. १ खर्ब १० अर्ब लगानीको प्रतिबद्दता जनाएका थिए।