रुकुम घटनाका पीडित आमाहरु भन्छन् - ‘छोरा मारे, सहारा खोसे’
गएको १० जेठमा जाजरकोटबाट प्रेमिका भनिएकी किशोरी भगाउन गएका युवाहरूमाथि रुकुम पश्चिमको चौरजहारी–८ सोतीमा गरिएको सामूहिक आक्रमणमा ६ युवाले ज्यान गुमाए।
घटनामा संलग्न भएको आरोपमा जिल्ला अदालत रुकुमले १० असारमा वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा र दुई जनालाई बाल सुधारगृहमा राख्न आदेश दिएको छ । आरोपितहरू सजाय नपाई छुट्ने हुन् कि भन्दै मृतक युवाका आमाहरूले अदालतमै धर्ना कसेका थिए। पीडितले न्यायका लागि आन्दोलन गरिरहँदा रुकुम पश्चिमकाे सोती पुगेकी हिमालखबरकर्मी शुष्मा बरालीले मृतकका आमाहरूसँग गरेको कुराकानीमा आधारित रिपोर्ट–
दुई वर्षअघि माइतीगाउँ जाजरकोटको ठाटीबाट घर मटेला फर्किने क्रममा गाडी दुर्घटनामा लक्ष्मी सुनार (३९) का श्रीमानकाे मृत्यु भयो । सँगै रहेकी कान्छी छोरी अपाङ्ग बनिन् । लक्ष्मी एक्लैको जिम्मामा दुई छोरा र छोरीको जिम्मेवारी आइपर्यो।
कमाउने एक्ला बुवा बितेपछि लक्ष्मीका जेठा छोरा रामबहादुर मलेशिया जान बाध्य भए । घर जसोतसो दुःखले चलिरहेकै थियो। तर, गएको १० जेठमा लक्ष्मीको जीवनमा कहिल्यै नपुरिने अर्को पीडा थपियो।
पश्चिम रुकुमको सोती गाउँमा भएको सामूहिक हत्याकाण्डमा उनले कान्छा छोरा लोकेन्द्र (१८) लाई गुमाइन्।
घटनामा प्रेमी भनिएका नवराज विक लक्ष्मीकी आफ्नै दिदीका छोरा हुन् । नवराजकै विवाहको लागि केटी भगाउन १७ जना साथीसहित गएका थिए, लोकेन्द्र पनि।
यो पनि पढ्नुहोस्— ‘यति चाँडै एक्लो हुँला भन्ने थिएन’
“भेरीमा नवराजको लाश भेटिएको चार दिनपछि छोरो भेटियो तर उसको लाश त मैले चिन्न पनि सकिनँ” लक्ष्मीले हिमालखबरसँग भनिन्।
सोती काण्डमा मारिएका अर्का युवा हुन्, गणेश बुढामगर (१७) । आमा हुन्, राधिका बुढामगर।
कुशे गाउँमा भएको जग्गाले खान समेत नपुगेपछि सदरमुकाम खलंगा आएको बुढामगर परिवार अहिले विक्षिप्त छ । जेठा छोरा भरत गाडी चलाउँछन् । गणेश भने साथी नवराज जस्तै सैनिक बन्न चाहन्थे । मृत्यु हुनुअघिसम्म अरूको घर बनाउने ज्याला मजदूरीको काम गर्थे।
छोराको हत्यापछि न्यायका लागि लडिरहेकी राधिका पोस्टमार्टम रिपोर्ट गलत निकालिएको भन्दै विरोधमा उत्रँदा प्रहरीको कुटाइबाट घाइते पनि भइन् । तर, त्योभन्दा गहिरो जवान छोरो गुमाउनुको चोट हृदयमा छ।
नवराजकै साथ लागेर जाने अर्का युवा थिए गोविन्द शाही (१९)। जब नवराजको शव भेटियो, आमा भीमाकुमारीको मनमा पनि चिसो पस्यो । उनले गोविन्दका दाजु सन्देशलाई सोधखोज गर्न अह्राइन्।
यो पनि पढ्नुहोस्—“मान्छे त मारिसके, न्याय पनि मार्छन् कि ?”
१० दिनसम्म पनि शव फेला नपरेपछि उनलाई छोरो जिउँदै त छैन भन्ने आश पनि पलाएको थियो । “डरले जंगलमा लुकेर बसेको छ कि भनी त्यता पनि खोज्न पठायौं” उनले भनिन्।
तर, ११ औं दिनमा अरूको जस्तै गोविन्दको पनि प्राणपखेरु उडेको शव मात्र भेटियो । “मेरो छोराको ज्यान लिएर के पाए अझै बुझ्न सकेको छैन”, उनी भन्छिन्।
सविता विकले १६ वर्षको कलिलो उमेरमै १५ वर्षीया किशोरीसँग छोराको मागी विवाह गरिदिएकी थिइन् । अर्को वर्ष नाति जन्मियो। त्यही नातिको चौथो जन्मदिन मनाउने तरखरमा थिए, सञ्जु विक।
“सबै साथी जम्मा गरेर जन्मदिन मनाउने भनेको थियो, आफैं हामीलाई छाडेर गयो” शोकमा सविता भन्छिन् । सञ्जुको लक्ष्य पनि सैनिक बन्ने थियो । अर्को वर्ष सैनिक भएपछि घर आइपुग्ने ठेगान नहुने भएकाले यस वर्ष छोराको जन्मदिन धुमधामले मनाउने सञ्जुको योजना थियो।
छोराको असामयिक निधनले सवितालाई परेको दुःखको हिसाब छैन । तर, भर्खर २० वर्ष पुगेकी बुहारी वेलावेला मूर्छा पर्दा, नातिले ‘बाबा खोई ?’ भन्दा सम्हाल्ने जिम्मा उनलाई नै आइपरेको छ।
“बुहारी बालखै छ । बुहारीको काखमा अर्को बालख । कलिलै उमेरमा सेतो साडी लगाउनुपर्यो” सविता भन्छिन्, “बुहारी र नातिको बिजोग हुने पिरलोले सुत्न पनि सकेकी छैन।”
त्यो दिन श्रीमती र दुई वर्षकी छोरीसहित ससुरालीबाट फर्कने योजनामा थिए, टीकाराम सुनार (२०) । आमा गीतालाई फोन गरेर आउँदैछौं है पनि भनिसकेका थिए।
तर, नवराजबाट केटी भगाउने योजना सुनेपछि उनी साथीको खुशीमा साथ दिन पश्चिम सोतीतिर सोझिए । गीताले त्यसपछि छोराको शव मात्र भेटिन्।
दुईवर्षे छोरी र बहिनीलाई पढाउने टीकारामको सोच थियो । “मोबाइल बनाउने पसल खोल्छु, अब बुवाले धेरै दुःख गर्नुपर्दैन भन्थ्यो, तर अब सबै सपना भयो”, गीता भक्कानिन्छिन्।
छोरो गुमाउनुको पीडामा रहेकी गीतालाई न्याय नपाइएला कि भन्ने चिन्ता छ । दोषीले हदैसम्मको कारबाही भोगे मात्रै छोराको आत्माले शान्ति पाउला भन्ने लागेको छ।
छोरा नवराजको व्यवहार, प्रतिभाप्रति आशावादी थिइन्, उर्मिला विक।
तीन छोरीपछि अब नवराजकै विवाह बाँकी थियो । बुवाआमाका लागि उनी नै बुढेसकालको सहारा थिए।
“छोरो मात्र होइन, सहारा पनि मर्यो, अब न्याय दिन्छन्, दिन्नन् हेर्न बाँकी छ”, उर्मिलाले भनिन्।