अनलाइनबाटै योग कक्षा, हानिकारक पनि हुनसक्छ
बन्दाबन्दीले धेरै मानिसमा मानसिक तथा शारीरिक समस्या हुनसक्ने सम्भावनालाई कम गर्न निःशुल्क अनलाइन कक्षा भइरहेका छन् । तर उमेर र वजन अनुसार योगासन तथा श्वासप्रश्वास प्रक्रिया नमिल्दा उल्टै समस्या हुनसक्ने प्रशिक्षकहरू बताउँछन् ।
योग प्रशिक्षक शैली बस्नेत करीब दुई महीनादेखि विदेशमा रहेका नेपाली तथा विदेशी साथीहरूलाई अनलाइनबाटै योग सिकाइरहेकी छिन्। ‘जीवन विज्ञान योग ध्यान केन्द्र’ बाट प्रशिक्षक प्रशिक्षण लिएकी बस्नेतले साथीहरूकै आग्रहमा अनलाइन कक्षा शुरू गरेकी हुन् । उनी भन्छिन्, “मैले सीमित साथीहरूलाई मात्रै सिकाइरहेकी छु । बन्दाबन्दी अघि व्यस्तताले आफूलाई समय दिन नपाएका साथीहरूको आग्रहमा कक्षा शुरू गरेकी हुँ।”
प्रशिक्षकको तालिम लिए पनि बन्दाबन्दी अघि उनले कसैलाई प्रशिक्षण दिएकी थिइनन् । उनी अनलाइन योग कक्षा प्रभावकारी भएको प्रतिक्रिया पाइरहेको बताउँछिन् । योग सिक्न चाहनेहरूले अनलाइन कक्षालाई गम्भीरतापूर्वक लिएर उनको कक्षामा नियमित उपस्थित भइरहेका छन्।
यो पनि पढ्नुहोस्–अनलाइन कक्षा बाध्यता कि नयाँ माध्यम ?
जीवन विज्ञान प्रतिष्ठानले पनि जुम तथा फेसबूक लाइभबाट हरेक दिन बिहान र बेलुका योग र ध्यान निःशुल्क सिकाइरहेको छ। उक्त संस्थाका जीवन विकास विशेषज्ञ एलपी भानु शर्मा भन्छन्, “अप्ठ्यारो समयमा मानिसको मनोबल कमजोर हुन्छ। रोग प्रतिरोधात्मक शक्ति पनि कम हुन्छ। योग र ध्यानले मनोबल बलियो बनाउन मद्दत गर्ने हुनाले बन्दाबन्दीपछि अनलाइनबाटै सिकाउन थालेका हौं।”
यो संस्थाले विभिन्न टेलिभिजनबाट पनि योग र ध्यान सिकाउँछ । कान्तिपुर, एपी वान र नेपाल टेलिभिजन लगायतबाट पनि कक्षा लिइरहेको शर्मा बताउँछन्। योग तथा ध्यानको अनलाइन कक्षा भौतिक रूपमा उपस्थित भएर सिकाए जस्तो प्रभावकारी भने नभएको उनको भनाइ छ। विश्वका कुनै पनि ठाउँबाट सिक्ने र सिकाउन सकिने पक्ष भने सकारात्मक भएको उनी बताउँछन्।
यो पनि पढ्नुहोस्– भाँति पुर्याएर मात्रै गरौं ‘कपालभाति’
जीवन विज्ञान प्रतिष्ठानसँग आबद्ध योग प्रशिक्षक विन्दा भट्टराईले बन्दाबन्दी शुरू भएपछि जेठ अन्तिमसम्म दैनिक बिहान–बेलुका अनलाइन प्रशिक्षण दिइन् । उनको अनलाइन कक्षामा नेपालबाट मात्र नभई विदेशबाट पनि सहभागी भएका थिए । अनलाइन प्रशिक्षणमा चुनौती पनि रहेको उनी बताउँछिन् । भट्टराई भन्छिन्, “अनलाइनमा जो–कोहीले हेरेर गर्न सक्ने भएकोले उमेर, वजन अनुसारको योगासन, श्वासप्रश्वास प्रक्रिया नमिल्न सक्छ । त्यसले स्वास्थ्यमा उल्टै समस्या थपिन्छ।”
जीवन विज्ञान योग ध्यान केन्द्रको विद्यार्थी लक्षित कार्यक्रम नव प्रतिभा विज्ञानले बिहान र बेलुका जुम तथा फेसबूक लाइभबाट बालबालिकालाई योग सिकाइरहेको प्रशिक्षक आरती ढकाल बताउँछिन्। १० जना प्रशिक्षक रहेको केन्द्रले सात वर्षमाथि १२ कक्षासम्म पढ्ने विद्यार्थीलाई योग सिकाउँछ।
भौतिक रूपमा पुग्न नसकेको विद्यार्थी माझ अहिले प्रविधिको माध्यमबाट पुग्न सकिरहेको उनी बताउँछिन् । योग तथा ध्यानसँगै मनोरञ्जनात्मक क्रियाकलाप पनि गराउने भएकोले विद्यार्थी नव विज्ञानसँग जोडिन उत्साहित भएको ढकालको भनाइ छ।
योगमान्डुले पनि बन्दाबन्दी शुरू भएपछि जेठसम्म ‘घरबाट घरमै योग’ योग तथा तनाव व्यवस्थापन सम्बन्धी निःशुल्क अनलाइन प्रशिक्षण दिएको सञ्चालक तथा योग प्रशिक्षक अर्जुन रखाल मगर बताउँछन् । जुमबाट दिइएको प्रशिक्षणमा ३०० भन्दा बढी सहभागी छन्।
योगमान्डूले विभिन्न कलेज तथा संस्थाहरूमा पनि तनाव व्यवस्थापन सम्बन्धी तालिम दिन्छ । उक्त संस्थामा ३५ जना प्रशिक्षक छन् । हाल २० भन्दा बढी देशका नागरिकलाई योगको निःशुल्क प्रशिक्षण दिइरहेको संचालक तथा प्रशिक्षक मगर बताउँछन्।
बन्दाबन्दीमा घरभित्रै बसिरहनु पर्दा मानसिक तथा शारीरिक रूपमा असर पर्न सक्ने भएकोले अनलाइनबाट योग निःशुल्क सिकाएको उनी बताउँछन् । योगमान्डूले १ असारदेखि भने सशुल्क तालिम शुरू गरेको छ।
अष्टांग योगा नेपालले अहिले सशुल्क योग प्रशिक्षण दिइरहेको संस्थापक तथा योग प्रशिक्षक रूपक खड्का (योगी याम) बताउँछन्।
बन्दाबन्दीमा शुरू दुई हप्ता जुम र फेसबूक लाइभ मार्फत निःशुल्क प्रशिक्षण दिएको थियो । अष्टांग योगा नेपालले अनलाइनबाटै प्रशिक्षक प्रशिक्षण पनि गरेको खड्का बताउँछन् । शुक्रबारदेखि एक महीना र १५ दिनको सशुल्क प्रशिक्षक प्रशिक्षण दिने तयारी गरिरहेको छ।
यो पनि पढ्नुहोस्– प्रतिरक्षात्मक प्रणाली बलियो बनाउने पाँच योगासन