जलाउने निर्णय उल्ट्याउँदै राष्ट्र ब्यांकले पुराना नोट चलनचल्तीमा ल्याउने
नेपाल राष्ट्र ब्यांकले जलाउने निर्णय गरेको ठूलो संख्याका पुराना नोटलाई फेरि चलनचल्तीमा ल्याउने भएको छ । कोरोनाभाइरसले सिर्जना गरेको परिस्थितिका कारण नोटको अभाव हुनसक्ने अवस्थालाई आकलन गर्दै जलाउन तयार नोटलाई फेरि बजारमा पठाउन लागिएको हो ।
गभर्नर महाप्रसाद अधिकारीले आफ्नो ट्विटरमार्फत ‘सफा नोट नीतिलाई पुनरवलोकन गरी जलानमा जाने गरेको ठूलो संख्याका नोटलाई पुन: बजारमा ल्याउने निर्णय गरिएको’ बताएका छन् ।
राष्ट्र ब्यांकले ठूला दरका नोटको अभाव हुनसक्ने अवस्थालाई आकलन गर्दै पुराना नोटलाई जलाउन गरिएको निर्णयलाई फिर्ता लिएको एक अधिकारीले बताए । बजारमा ठूला दरका नोटको माग नघटेको तथा छपाइको प्रक्रियामा रहेका नोट आउन ढिला हुनसक्ने सम्भावनाका कारण पुराना नोट नै फेरि प्रयोगमा ल्याउन लागिएको हो।
राष्ट्र ब्यांकका एक अधिकारीका अनुसार, विभिन्न देशमा कोरोनाभाइरसको संक्रमण विस्तार रोक्न लगाइएको बन्दाबन्दीका कारण छापिइसकेका नोट समेत नेपाल आउन पाएका छैनन् । रु. ५० दरसहितका नयाँ नोट कलकत्तामा रोकिएका छन् । छपाइको प्रक्रियामा रहेका नोट समेत छापिन ढिलाइ हुने निश्चित देखिएको छ ।
चिनियाँ कम्पनी चाइना ब्यांक नोट प्रिन्टिङ कम्पनीले रु. ५ र १० दरका नोट छाप्ने ठेक्का पाएको छ । राष्ट्र ब्यांकले रु. पाँच सय दरका १९ करोड थान नयाँ नोट छाप्न बोलपत्र आह्वान गरेको छ । “नोट छपाइसँग सम्बन्धित कम्पनीहरुले काबुबाहिरको परिस्थितिलाई देखाएर नोट छाप्न र पठाउन ढिला हुने बताएका छन्,” ती अधिकारीले भने ।
रु. २० का दरका नोट छपाइको विषयमा राष्ट्र ब्यांक सञ्चालक समितिमा विवाद भएपछि यसको छपाइ प्रक्रियामा पनि ढिलाइ हुने जोखिम छ । राष्ट्र ब्यांकले दशैंतिहारमा ठूलो मात्रामा नयाँ नोट वितरण गर्दै आएको छ ।
अहिलेलाई पुरानै नोट चलनचल्तीमा ल्याएर दशैंमा मात्रै नयाँ नोट बजारमा ल्याउने राष्ट्र ब्यांकको तयारी छ । त्यसैले, अहिलेलाई जलाउन भनी निर्णय गरिएका तर सफा नोटलाई फेरि प्रचलनमा ल्याउन लागिएको हो।
राष्ट्र ब्यांकले पुराना झुत्रा नोटलाई जलाउने गर्छ । ब्यांकहरुले यस्ता झुत्रा नोट राष्ट्र ब्यांकलाई जिम्मा लगाउँछन् ।
अहिले बजारमा रु. ५ खर्ब ४५ अर्ब बराबरका विभिन्न दरका नोट चलनचलतीमा छन् । बन्दाबन्दीपछि आर्थिक क्रियाकलाप ह्वात्तै घट्दा समेत नोटको माग तुलनात्मक रुपमा घटेको छैन ।
गत चैत १ मा रु. ५ खर्ब २८ अर्ब मूल्य बराबरका नोट चलनचल्तीमा रहेकोमा १० दिनमा थप रु. ११ अर्ब बराबरको नोटको माग बढेको थियो । तर, त्यसयता नोटको माग सो अनुपातमा नबढेपनि आर्थिक क्रियाकलाप नहुँदा समेत नोटको माग घटेको छैन । यसको अर्थ, सर्वसाधारणले नोट होल्ड गरेर राखेका छन् ।
राष्ट्र ब्यांकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक विश्रृत थापा सर्वसाधारणले नोट बढी जम्मा गरेर घरैमा राख्न थालेका कारण माग बढेको बताए । उनले भने, “भविष्यमा नोटको व्यवस्थापनमा समस्या नआओस् भनेर पुराना तथा सफा नोटलाई फेरि चलनचल्तीमा ल्याइन लागेको हो ।”
राष्ट्र ब्यांकका प्रवक्ता डा. गुणाकर भट्ट ब्यांक तथा वित्तीय संस्थाले चल्न सक्ने सफा नोट पनि रातो स्लिपले बाँधेर चल्न अयोग्य झुत्रो नोट भनी राष्ट्र ब्यांकमा पठाउन थालेकाले नोटका सम्बन्धमा नयाँ व्यवस्था गरिएको बताए ।
देशभित्र बन्दाबन्दीका कारण यातायात नचलेकाले एक ठाउँबाट अर्को ठाउँमा नोट पुर्याउन पनि सजिलो नभएकाले पुराना तर सफा नोटलाई चलनचल्तीमै रहन दिने निर्णय गरिएको उनले बताए ।
राष्ट्र ब्यांकले झुत्रा भनिएका नोटका कयौं बण्डल हेर्दा चलनचल्ती योग्य नोट भेटेको थियो । “एटीएमले लिने नयाँ खालका नोट मात्रै चलाउन खोज्ने ब्यांकहरुको प्रवृत्ति छ । ग्राहकलाई भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य नोट जलाउनुको सट्टा केही समय बजारमै पठाउने निर्णय गरिएको हो,” उनले भने ।
बजारमा चलनचल्तीमा रहेका नोटबाहेक राष्ट्र ब्यांकले पनि नयाँ नोट छापेर भण्डार गरी राखेको हुन्छ । तर, यसको परिमाण सार्वजनिक गरिदैन । राष्ट्र ब्यांकको मुद्रा व्यवस्थापन विभागका प्रमुख रहेका पूर्व कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला भुक्तानी प्रणालीलाई नियमित सञ्चालन हुन आवश्यक नयाँ नोट राष्ट्र ब्यांकले छपाइ गरेर राख्ने बताउँछन् । “एक–डेढ वर्ष पुग्ने नोट मौजदात हुन्छ,” उनी भन्छन् ।
सामान्यतया, नोटको आयु ४–५ वर्षको मानिन्छ । रु. १ हजार र ५ सय दरको यौटा नोट छाप्न औसत रु. ३ भन्दा बढी खर्च लाग्ने निरौला बताउँछन् । नेपालमा सुरक्षण मुद्रण नभएका कारण नेपाली नोटहरुको छपाइ विदेशमा हुन्छ ।
राष्ट्र ब्यांकले नोट छपाइको यस्तो खर्च जोगाउन नोटको सुरक्षा गर्न र सफा राख्न सर्वसाधारणलाई आह्वान गर्दै आएको छ । अपेक्षाअनुसार नगदरहित (क्यासलेस) कारोबार बढ्न नसकेका कारण अझै नोटको माग नेपाली समाजमा धेरै छ ।
राष्ट्र ब्यांकले चलनचल्तीका नोटलाई तीन वर्गमा वर्गीकरण गर्दै एटीएम मेसिनबाट चल्ने, काउन्टरबाट भुक्तानी गरी चलनचलतीमा ल्याउन मिल्ने र चलनचल्तीमा पठाउन अयोग्य गरी तीन भागमा बाड्न ब्यांक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
ब्यांकले मक्किएको, गलेको, झुत्रिएको, किराले खाएको, भिजेको तथा अक्षर नबुझिन वा पूर्व राजाको तस्वीर अंकित नोटलाई भने भने बजारबाट खिचेर त्यसको सट्टा नयाँ नोट पठाउने बताएको छ ।
याे पनि हेर्नुहाेस्– आर्थिक संकट समाधानका लागि बढी नाेट छाप्ने विकल्प !