खानपानप्रति अति सचेत हुनुहुन्छ ? होस गर्नुस् अर्थोरेक्सिया हुनसक्छ
स्वस्थ खानपानप्रति सचेत हुनु राम्रो कुरा हो । तर, केही मानिस आफ्नो शरीर र खानपानमा यति धेरै सतर्क हुन्छन् कि यसले उनीहरुको स्वास्थ्य र जीवनशैलीमै नकारात्मक प्रभाव पारिरहेको हुन्छ। चिकित्सकीय भाषामा यस्तो समस्यालाई अर्थोरेक्सिया भनिन्छ।
भोजन स्वस्थ छ भने स्वास्थ्यमा धेरै राम्रो सुधार हुन्छ तर स्वस्थ भोजन गर्ने ध्याउन्नले केही मानिसमा एक खालको मनोवैज्ञानिक समस्या पनि विकसित भएको हुनसक्छ, त्यसैलाई अर्थोरेक्सिया भनिन्छ ।
खानपान सम्बन्धी अन्य विकार जस्तै अर्थोरेक्सियाको परिणाम पनि गम्भीर हुनसक्छ ।
यो आलेखले अर्थोरेक्सियाका बारेमा तपाईंले जान्नुपर्ने सबै कुरा वर्णन गर्दछ।
अर्थोरेक्सिया के हो ?
अर्थोरेक्सिया वा अर्थोरेक्सिया नर्भोसा भोजनसम्बन्धी एक समस्या हो । अर्थात् स्वस्थ चिज मात्र भोजन गर्ने सनकद्वारा सिर्जित एक अस्वस्थ शैली वा आनिबानी हो । नाकनिक गर्ने प्रवृत्ति हो ।
खानासम्बन्धी अन्य विकारजस्तै अर्थोरेक्सिया भोजनको मात्रा होइन, गुणस्तरमा केन्द्रित भएको हुन्छ । अर्थोरेक्सिया भएका मानिसले बिरलैमात्र शरीरको वजन कम गर्न ध्यान दिनु परेको हुन्छ ।
यस्ता मानिस भोजनको शुद्धता भन्दा यसले शरीरमा गर्ने लाभ, हानि बारे बढी नै सचेत देखिन्छन् । खाद्यपदार्थमा उनीहरुको पूर्वधारणा, सोच धेरै हदसम्म अवैज्ञानिक समेत हुने गर्दछ ।
चिकित्सा समुदायले अर्थोरेक्सियालाई समस्या मान्न थालेको छ । तर, भोजनसम्बन्धी यो समस्यालाई आधिकारिक रुपमा परिभाषित गर्न भने बाँकी नै छ ।
अमेरिकी चिकित्सक स्टिभ ब्राटमनले सन् १९९७ मा पहिलो पटक ‘अर्थोरेक्सिया’ भन्ने शब्दावली प्रयोग गरेका थिए । यो शब्द ‘अर्थोस्’ बाट आएको हो । ग्रीक भाषामा यसको अर्थ हो— सही ।
अर्थोरेक्सियाको कारण
तपाईंले स्वस्थ खाना खाएर स्वास्थ्य सुधार गर्ने अभिप्रायले केही सीमित भोजन मात्र गर्न थालेको हुनसक्छ ।
समयक्रमसँगै राम्रो मनसाय विस्तारै पूर्णरुपमा विकसित अर्थोरेक्सिया बनिसकेको हुनसक्छ ।
अर्थोरेक्सिया किन हुन्छ भन्नेबारेमा केन्द्रित अनुसन्धान बिरलैमात्र भएका छन्, तर मन लागेको मात्र खाने ध्याउन्न, बाध्यकारी प्रवृत्ति र पूर्व वा हालका भोजनसम्बन्धी विकारहरु जोखिमका कारक हुन् ।
जोखिमका अन्य कारणहरु, शुद्ध मात्र खान्छु भन्ने प्रवृत्ति, अत्यधिक चिन्ता, मनलाई नियन्त्रण गर्न नसक्नु आदि पनि हुन् ।
कतिपय अध्ययनले आफ्नो पेशाका लागि स्वास्थ्यमा ध्यान केन्द्रित गर्ने व्यक्तिहरुलाई पनि अर्थोरेक्सिया हुने जोखिम बढी हुने औंल्याएका छन् । जस्तै कि, स्वास्थ्यकर्मी, ओपेरा गायक, ब्याले नर्तक, सिम्फोनी आर्केस्ट्रा संगीतकार र खेलाडी ... ।
त्यस्तो जोखिम उमेर, लिङ्ग, शैक्षिक स्तर र सामाजिक तथा आर्थिक स्थितिमा पनि निर्भर हुनसक्छ तर कुनै निष्कर्षमा पुगिहाल्नु अघि थप अनुसन्धान भने आवश्यक छ ।
के अर्थोरेक्सिया सामान्य हो ?
केही अवस्थाहरुमा व्यक्तिमा अर्थोरेक्सिया नै भएको हो वा स्वस्थ भोजनबारे सामान्य चिन्तामात्र हो भन्ने भिन्नता छुट्याउन कठिन हुन्छ ।
त्यसैले पनि अर्थोरेक्सिया कति सामान्य समस्या हो भन्ने निर्धारण गर्न गाह्रो छ । अध्ययनहरुमा यसको दर ६ देखि ९० प्रतिशतसम्म देखिएको छ ।
तथ्य के हो भने, स्वस्थ भोजन गर्ने ध्याउन्न नै पछि सनकमा बदलिन्छ र पछि समस्या, अर्थोरेक्सियाको चरणमा आइपुग्छ ।
यसबाट मानिसको दैनिकी प्रभावित हुन्छ । जस्तै अनपेक्षित रुपमा शरीरको तौल घटाउनु र साथीहरुसँग बाहिर खानपिन गर्न जानै नमान्नु ।
अर्थोरेक्सियाको पहिचान
स्वस्थ भोजन र अर्थोरेक्सियाका बीचको अन्तर स्पष्ट पार्न चिकित्सकद्वय ब्राटमन र डनले हालै निम्न दुई पहिचान मापदण्ड प्रस्ताव गरेका छन्ः
पहिलोः स्वस्थ भोजन गर्ने सनक
ड्ड बानी व्यवहार वा विचारः हाम्रो बानीबेहोरा वा मानसिक पूर्वाग्रहप्रेरित यस्तो खाद्य छनोट जुन सबैभन्दा स्वस्थकर छ भन्ने कुरामा हामी विश्वस्त हुन्छौं ।
आफूले थोपरेको चिन्ताः भोजन सम्बन्धमा आफैले बनाएका नियम तोडिने चिन्ता, लाज, बिरामी हुने डर, अशुद्ध हुन्छ भन्ने भावना वा नकारात्मक शारीरिक संवेदनशीलता पनि व्याप्त हुन्छ ।
ड्ड निषेध: समयसँगै नखाने खाद्य पदार्थको सूची बढ्दै जान्छ र मानिस ती सबै र त्यससँग जोडिएका अन्य खानेकुरा निवारण गर्न थाल्छन् । आफूलाई त्यस्ता खानाबाट मुक्त गर्ने, उपवासमा बस्ने वा दुवै गर्न थाल्छन् ।
दोस्रोः दैनिकीमा बाधा पु¥याउने आनिबानी
ड्ड चिकित्साजन्य समस्याः कुपोषण, अनपेक्षित तवरले तौल घट्नु, र अन्य चिकित्साजन्य जटिलता यसबाट सिर्जित स्वास्थ्य समस्याका उदाहरण हुन् । आनिबानीकै कारण यसखालको परिणाम देखिन सक्छ ।
ड्ड जीवनशैलीमा अवरोध ः स्वस्थ भोजनसँग सम्बन्धित विश्वास वा आनिबानीका कारण व्यक्तिगत समस्या आइपर्न सक्छ । सामाजिक वा शैक्षिक क्रियाकलापले यस्तो जीवनशैलीमा अवरोध निम्त्याउन सक्छ ।
ड्ड भावनात्मक निर्भरताः व्यक्ति आफ्नो शारीरिक छवि, महत्व, पहिचान वा सन्तुष्टि, भोजन सम्बन्धमा आफैले बनाएका नियम पालना आदिमा अधिक निर्भर हुन सक्छ ।
अर्थोरेक्सियाको नकारात्मक स्वास्थ्य प्रभाव
१. शारीरिक प्रभाव
उदाहरणका लागि नखाने भोजनको सूची बढ्दै जाँदा आवश्यक पोषक तत्वहरुको अभाव भई कुपोषण, रक्तअल्पता वा मुटुको धड्कन ढिलो वा असामान्य हुन सक्छ ।
गम्भीर कुपोषणले पाचन प्रणालीमा समस्या, इलेक्ट्रोलाइट र हार्मोनल असन्तुलन, मेटाबोलिक एसिडोसिस र हड्डी कमजोर हुने स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।
यी समस्यलाई बेवास्ता गर्नुहुँदैन ।
२. मनोवैज्ञानिक प्रभाव
अर्थोरेक्सियाले आफ्नो खानपान आफूले चाहे अनुसारको नभए चरम निराशा अनुभूत गराउन सक्छ ।
आफैले बनाएको नियम तोड्नुपरे आफूलाई दोषी, आत्मग्लानि, शुद्धीकरणको नाममा उपवास र अन्य विभिन्न प्रयत्न गर्ने संभावना बढी हुन्छ।
यस्ता मानिसको धेरै समय खानेकुरा राम्रोसँग सफाइ, शुद्धता र मात्राको हिसाबकिताब र भोलिपर्सि के खाने भन्नेमै खर्च हुन्छ ।
३. सामाजिक प्रभाव
अर्थोरेक्सियाको समस्या भएका मानिस के खाने, नखाने भनेर आफूले बनाएका नियमहरु कडा ढंगले पालना गर्छन् । यस्ता नियम पालना गर्न अरुलाई पनि कज्याउन, कर गर्न खोज्छन् ।
खाना सम्बन्धी यस्तो कठोर प्रवृत्तिले उनीहरुमा सामाजिक गतिविधिहरु (डिनर, पार्टी वा घरबाहिरको खानपान) मा सहभागी हुन समस्या पर्दछ । यस्ता व्यक्तिलाई अरुले सही कुरा नबुझेको भन्ने लाग्छ भने अन्यलाई आफूहरुले जस्तै खानेकुराका लागि आग्रह गर्न, व्यवहार र कुराकानी गर्नै अप्ठेरो हुन्छ ।
कसरी मुक्त हुने ?
अर्थोरेक्सियाको समस्या गम्भीर हुनसक्छ । समयमै यसको समाधान खोजिएन भने घातक स्वास्थ्य समस्याका रुपमा देखिनसक्छ ।
अर्थोरेक्सियाबाट मुक्त हुन सबैभन्दा पहिले आफूमा त्यस्तो समस्या छ, छैन भनी पहिचान गर्नुपर्छ । तर, यो चुनौतीपूर्ण हुनसक्छ । किनभने, समस्यामा परेकाहरुले आफूमा समस्या भएको र यसले समाजमा परेको नकारात्मक प्रभाव थाहा पाउने संभावना कमै हुन्छ ।
उपचारका सामान्य तरिका
– जोखिम र प्रतिक्रिया रोकथाम
– बानी–व्यवहार परिवर्तन
– संज्ञानात्मक पुनर्गठन
– रिल्याक्सेसन तालिमका विविध स्वरुपहरु
यद्यपि अर्थोरेक्सियाको उपचार गर्ने यी तरिका र प्रभावकारिताको वैज्ञानिक पुष्टि भने भएको छैन । तर, विज्ञानले पुष्टि गरेका खाद्यपदार्थको प्रभाव र असरबारे विशेषज्ञसँगको सल्लाहबाट अर्थोरेक्सिया समस्या भएकाहरुलाई आफ्ना गलत मान्यताहरु हटाउन मद्दत त गर्नेछ नै ।
न्यूनतम सीमा निर्धारण गर्नुहोस् । तपाईंले खानुभएको खाद्य पदार्थको बारेमा सचेत हुनु र यसले तपाईंको स्वास्थ्यमा कस्तो प्रभाव पार्छ भन्नेबारेमा ध्यान दिनुलाई सामान्यतः राम्रै मानिन्छ ।
यद्यपि केही मानिसहरुमा स्वस्थ खाना र खानासम्बन्धी विकार विकसित गर्ने आनिबानीबीच एउटा लक्ष्मण रेखा छ।
यदि अहिले खाइरहेको स्वस्थ खानपानले तपाईंको स्वास्थ्य, मनोवैज्ञानिक कल्याण र सामाजिक जीवनमा नकारात्मक प्रभाव परेको छ भने अर्थोरेक्सिया भइसकेको पनि हुनसक्छ ।
यो विकारले जीवनमा गम्भीर परिणाम ल्याउन सक्छ त्यसैले यसलाई बेवास्ता गर्नुहुँदैन । तपाईंले चिकित्सक, मनोवैज्ञानिक वा भोजन विशेषज्ञसँग सरसल्लाह गर्न विशेष सिफारिस गरिन्छ ।
स्रोतः हेल्थअनलाइन
याे पनि हेर्नुहाेस्– भाङ र दिउल खाऔं, स्वस्थ जीवन जिऔं