पाँचदिने मृत्युसंस्कारः खर्च कटौतीको उपयुक्त विधि
संस्कार सुधार समाजका अध्यक्ष शम्भु पोखरेलले बुबा, आमा र दाजुको मृत्युसंस्कार पाँच दिनमा नै सकाए । उनको परिवार नै संस्कार सुधारको अभियानमा लागेकाले पाँच दिनमा किरिया सक्दा खर्च पनि कम भयो।
१३ दिनको काम पाँच दिनमा झार्दा घाटा हुने भएकाले कतिपय पुरोहितले नमान्ने अध्यक्ष पोखरेल बताउँछन् । तर, निम्न आय भएका परिवारलाई आर्थिक समस्याबाट पार पाउन पनि मृत्युसंस्कार पाँच दिनमा झार्नुपर्ने उनी बताउँछन्।
पाँच दिनमा मृत्युसंस्कार सक्दा १० दिनको काम तेस्रो दिनमा नै गरिन्छ । त्यसैगरी चार दिनमा ११औँ दिनको र पाँच दिनमा १२औँ दिनको काम गरिने भएकाले विधि र प्रक्रियामा कमजोरी नहुने पोखरेल बताउँछन् । उनी भन्छन्, “धार्मिक विधिमा कुनै कमजोरी हुँदैन, तर सात दिनसम्म गर्नुपर्ने अतिरिक्त खर्च भने घट्छ ।”
संस्कार सुधार समाजले २०६४ देखि नै मृत्युसंस्कारलाई १३ बाट पाँच दिनमा घटाउने बहस चलाएको हो । समाजको २०७१ सालमा विधिवत् गठनपछि ‘पाँचदिने अन्त्यपद्धति’ नामक पुस्तिका नै प्रकाशन गरेर अभियान अघि बढायो । त्यस यता करीब २०० परिवारले पाँचदिने मृत्युसंस्कार गरेको जानकारी आएको समाजका अध्यक्ष पोखरेल बताउँछन्।
खासगरी वैदेशिक रोजगारीमा गएका व्यक्तिलाई बिदा मिलाउन समस्या हुन्छ । लामो समय किरिया बस्दा शरीर कमजोर हुने र स्वास्थ्यमा समस्या आउने जोखिम पनि हुन्छ । जसकारण समयमा नै रोजगारीमा फर्कन पाँचदिने संस्कार उपयुक्त हुने पोखरेल बताउँछन्।
पूर्व प्रधानमन्त्री बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपालसहितले १३ दिने मृत्युसंस्कार गरेनन् । त्यहीकारण संस्कार सुधारको विधि खोजी गरिन थालिएको पोखरेलको भनाइ छ।
संस्कार सुधार समाजका सहअध्यक्ष धरणीप्रसाद गौतम समय र आर्थिक दृष्टिले १३ दिने मृत्युसंस्कार बोझिलो भएको बताउँछन् । खर्चको दृष्टिबाट मात्र नभई विपत् र प्राकृतिक प्रकोपका वेला पनि छोटो मृत्युसंस्कार उपयुक्त हुने उनी बताउँछन् । गौतम भन्छन्, “कोरोनाभाइरस संक्रमणको जोखिम घटाउन भइरहेको बन्दाबन्दीमा आफन्त भेटघाट गाह्रो छ । यस्तो वेला पाँचदिने संस्कार झनै उपयुक्त देखिएको छ ।”
बन्दाबन्दीले धेरैलाई आर्थिक संकटतिर पनि धकेलिरहेको छ । व्यापार ठप्प छ । निजी क्षेत्रका मजदूरको आम्दानी घटेको छ । दैनिक ज्यालादारीका मजदूर काममा जान पाएका छैनन् । यस्तो वेला १३ दिने मृत्युसंस्कार झनै संकट थप्ने गौतमको भनाइ छ । त्यसैले अब संस्कार सुधार गर्नै पर्ने उनी बताउँछन्।
“पुरोहित र पण्डितलाई नै पढाउनुपर्छ”
अर्थशास्त्री केशव आचार्य १३ दिनसम्म गरिने मृत्युसंस्कार व्यावहारिक रुपमा बोझिलो र अनावश्यक खर्चिलो भएको बताउँछन् । छोटो मृत्युसंस्कारबारे बुझाउन नसक्दा फजुल खर्च भइरहेको र पुरोहित र पण्डितबाटै छोटो संस्कारबारे चेतना फैलाउन सके प्रभावकारी हुने उनको भनाइ छ ।
“परम्परादेखि चलेको चलन परिवर्तन गराउन पुरोहित र पण्डितलाई त्यही अनुसार तयार गर्नुपर्छ ।”
– अर्थशास्त्री केशव आचार्य
यसका लागि कर्मकाण्डको पाठ्यक्रम नै सुधार गर्नुपर्छ । महेन्द्र संस्कृत विश्वविद्यालय अन्तर्गत वाल्मीकि क्याम्पस, पशुपति वेद विद्याश्रम सहितका शैक्षिक संस्थाले पाँचदिने मृत्युसंस्कारलाई स्वीकार गर्नुपर्ने आचार्य बताउँछन् । “अन्यथा परम्परादेखि चलेको चलन परिवर्तन गराउन सकिंदैन । त्यसैले पुरोहित र पण्डितलाई त्यही अनुसार तयार गर्नुपर्छ”, उनी भन्छन्।
पाँच दिनमा मृत्युसंस्कारको काम सकेपछि आठ दिन बाँकी छँदै काममा फर्किन सक्ने हुनाले कामकाजीहरुका लागि उपयुक्त भएको आचार्य बताउँछन् । त्यस्तै श्रमसम्बन्धी गतिविधिले आर्थिक क्रियाकलाप बढाउने हुँदा देशलाई पनि फाइदा पुग्ने उनको भनाइ छ।
तर, छोटो संस्कार गर्न चाहनेले पनि समाजको डरले १३ दिनकै मृत्युसंस्कार गर्न बाध्य भएको उनी बताउँछन् । आचार्य भन्छन्, “मेरो बुबाको मृत्यु हुँदा छोटो संस्कार गर्न प्रस्ताव गरेको थिएँ । तर, परिवारका अन्य सदस्यले समाज देखाएर १३ दिन नै गर्नुपर्ने बताए ।”
जो उदाहरणीय बने
संस्कार सुधार समाजले पाँचदिने अन्त्य पद्धतिको पुस्तिका ल्याएपछि त्यसलाई पहिलो पटक १६ पुस २०७१ मा प्रयोगमा ल्याइएको थियो । ब्रजमोहन पोखरेलको मृत्युसंस्कारलाई उनका छोराहरु तारा र चण्डेश्वरले पाँच दिनमा सकाएका थिए । सबै धार्मिक विधि पूरा हुने भएपछि बुबाको मृत्युसंस्कार पाँच दिनमा नै सकेको चण्डेश्वर पोखरेल बताउँछन् । उनका दाइ ताराप्रसाद पोखरेल ब्राजिलका लागि पूर्व राजदूत पनि हुन्।
चण्डेश्वर भन्छन्, “परिवर्तनको सुरुवात पहिला कसै न कसैबाट हुनै पर्छ । आर्थिक हिसाबले कम खर्चिलो हुने भएपछि निम्न आय भएका समस्यामा पर्दैनन् । त्यसैले उदाहरण पेश गर्न बुबाको किरिया छोटो विधिबाट गरेका हौं ।” फजुल खर्च घट्ने र छिटै काममा फर्कन सकिने हुँदा यो विधि उपयुक्त भएको उनी बताउँछन् ।
नेपाल पुरोहित संघका उपमहासचिव देवी लम्साल परम्परादेखि चलिआएको आस्थालाई एकै पटक परिवर्तन गर्न नसकिने बताउँछन् । पुरोहित संघले अहिलेसम्म पाँचदिने मृत्युसंस्कारको पुस्तक नपाएकाले १३ दिनलाई नै मान्यता दिइरहेको उनको भनाइ छ । खर्च घटाउनका लागि मात्र विधि छोट्याउन नहुने पुरोहित संघको अडान छ । तर, खर्च गर्न सक्ने क्षमता नहुनेले आफ्नो गच्छे र इच्छा अनुसारको पद्धति अपनाउन सक्नेमा भने संघ लचिलो भएको एक सदस्य बताउँछन्।
अन्य समुदायमा पनि संस्कार खर्चिलो
हिन्दूको मात्र नभई बौद्ध धर्म मान्ने कतिपय समुदायमा पनि मृत्युसंस्कार खर्चिलो छ । तामाङ समुदायमा कम्तीमा तीनदेखि सात दिनसम्म शव घरमै राखेर पूजापाठ हुन्छ । त्यसपछि मात्र दाहसंस्कार गरिन्छ । खर्च गर्ने क्षमता अनुसार कसैले २१ र कसैले ४९ दिनसम्म हरेक साता पूजा गर्ने प्रचलन रहेको रसुवाका फुर्वा तामाङ बताउँछन्।
उनका अनुसार एक, तीन र पाँच दिनमा घेवा गर्ने प्रचलन छ । तर, पछिल्लो समय धेरैले एकै दिनमा सक्ने गरेका छन् । खर्च र समयको दृष्टिले एकै दिनमा सक्न थालिएको तामाङको भनाइ छ । एकै दिनमा सके पनि हरेक परिवारले आफ्नो क्षमता अनुसार पाहुना बोलाएर घेवा गर्छन् । तामाङ समुदायको मृत्युसंस्कारमा रु.१ लाखभन्दा बढी नै खर्च हुने उनी बताउँछन्।
शेर्पा समुदायले भने आफ्नो गच्छे अनुसार मृत्युसंस्कार गर्ने भएकाले हुनेखानेले बढी र नहुनेले कम खर्च गर्छन् । मृत्युपछि परिवारका सदस्यले शवलाई दुईदेखि तीन दिन घर वा गुम्बामा राखेर पूजापाठ गरेपछि मात्र दाहसंस्कार गरिने पर्यटन व्यवसायी मिङ्मा शेर्पा बताउँछन् । २१ वा ४९ दिनमा अन्तिम पूजा हुन्छ।
यस्तो पूजामा हुनेखानेले जति पनि खर्च गर्न सक्छन् भने नहुने वर्गले थोरै गर्छन् । त्यसैले कसैले रु.१० हजारमै किरिया सक्छन् । मृत्युसंस्कारमा कडिकडाउ नभएकाले मितव्ययी भएर खर्च गर्न सकिने उनी बताउँछन्।
यो पनि
१३ दिने मृत्यु संस्कार पाँच दिनमै !