१३ दिने मृत्यु संस्कार पाँच दिनमै !
बन्दाबन्दीकै समयमा चोभारस्थित बस्नेत परिवारलाई शोक पर्यो । आफन्तलाई शोकमा साथ दिन समस्या भयो । मृत्यु संस्कारको व्यवस्थापनमा पनि समस्या थियो । त्यही कारण बस्नेत परिवारले १३ दिने मृत्यु संस्कारलाई पाँच दिनमा झार्यो ।
परिवारमा पहिलो पटक पाँचदिने मृत्यु संस्कार शुरू गरिएको देववीर बस्नेत बताउँछन् । कोरोना भाइरस संक्रमणबाट बच्न सामाजिक (व्यक्तिगत) दूरीको पालना पनि गर्नुपर्ने भएकाले सरल पद्धतिको सांस्कारिक विधि थालिएको उनी बताउँछन् । बस्नेत भन्छन्, “छोटो समयमा विधिपूर्वक किरिया–कर्म सकेर रोजगार र कार्यस्थलमा फर्कन वा अन्य जिम्मेवारी पूरा गर्न पाँचदिने मृत्यु संस्कार विकल्पको रूपमा स्वीकार्नु आवश्यक छ ।”
समय र अवस्था अनुसार संस्कारको पालना गर्नुपर्ने उनको भनाइ छ । संस्कार समय अनुसार परिवर्तन पनि हुँदै जाने उनी बताउँछन्। बस्नेत भन्छन्, “मृत्यु संस्कारलाई सरल अवधारणा र दशदान विधिसहित पाँच दिनमा झारेर लामो संस्कार विधिवत् छोट्याउनुपर्छ।”
धुलिखेलकी विष्णुकुमारी कार्कीकै सल्लाहमा दुई वर्षअघि बूढाससुराको मृत्यु हुँदा परिवारले पाँच दिनमा किरिया सिध्याए । उनले आफन्त मार्फत पाँचदिने मृत्यु संस्कारबारे जानकारी पाएकी थिइन् । “मैले पाँचदिने मृत्यु संस्कार गर्ने प्रस्ताव राख्दा सबैले स्वीकार गर्नुभयो, मृत्यु संस्कारलाई समय अनुकूल बनाउनुपर्छ”, उनी भन्छिन् ।
“मैले पाँचदिने मृत्यु संस्कार गर्ने प्रस्ताव राख्दा सबैले स्वीकार गर्नुभयो, मृत्यु संस्कारलाई समय अनुकूल बनाउनुपर्छ ।”
– विष्णुकुमारी कार्की, धुलिखेल
वागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालकी आमाको २०७२ सालको भूकम्पमा मृत्यु भयो । भूकम्पको विषम परिस्थितिमा धेरै आफन्त समस्यामा थिए । आफन्तसँगको छलफलपछि उनले पनि आमाको किरिया पाँच दिनमै टुङ्ग्याए ।
पौराणिककालको मृत्यु संस्कारलाई समय अनुसार रूपान्तरण गर्नुपर्ने नेपाल बताउँछन् । उनी भन्छन्, “अनावश्यक रूपमा फजुल खर्च गर्ने परम्पराको अन्त्य गर्नुपर्छ । मृत्यु संस्कार मात्र होइन, दाइजो प्रथा, तीजका तडकभडक लगायत गलत परम्परा पनि हटाउनुपर्छ।”
बदलिंदो जीवनशैली, व्यस्त समय र सांस्कृतिक सचेतनाका कारण मृत्यु संस्कार छोट्याउनै पर्ने आवाज उठिरहेको थियो । संस्कार सुधार समाज अभियानले २०६४ सालमै मृत्यु संस्कार घटाउने प्रस्ताव गरेको थियो । खोज अनुसन्धान र विज्ञहरूसँग छलफल गरेर नै मृत्यु संस्कारलाई पाँच दिनको बनाउन प्रस्ताव गरिएको समाजका अध्यक्ष शम्भु पोखरेल बताउँछन् ।
शास्त्रीय पद्धति र समाजको आवश्यकता अनुसार ठीक हुने ठहर गरेर यस्तो प्रस्ताव गरिएको पोखरेल बताउँछन् । उनी भन्छन्, “लाखौं नेपाली विदेशी भूूमिमा छन्, नेपालमा भएका आफन्तको किरियाकर्मकै लागि लामो समय बस्न पाउँदैनन् । नेपालमै पनि लामो समयको मृत्यु संस्कार निम्न वर्गका लागि उपयुक्त हुँदैन ।”
संस्कार सुधार समाजलाई २०७२ सालमा विधिवत् दर्ता गरेर पाँचदिने मृत्यु संस्कार शुरू गरिएको थियो । शास्त्रीय सूत्र नघटाई पाँचदिने संस्कार कायम गरिएको उनी बताउँछन् । अहिले कोरोना भाइरसका संक्रमित देखिन थालेको अवस्थामा शोकाकुल परिवारलाई सुरक्षित रूपमा किरिया सम्पन्न गर्न पनि मृत्यु संस्कार घटाउनुपर्ने उनी बताउँछन् ।
अहिलेसम्म संस्कार सुधार समाजको सम्पर्कमा आएर करीब २०० परिवारले पाँचदिने मृत्यु संस्कार गरिसकेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका र खोटाङको कार्की समाजले पाँचदिने मृत्यु संस्कार मान्ने प्रतिबद्धता समेत जनाएका छन् ।
“गलत परम्परा र धार्मिक विकृति हटाउनुपर्छ, तर तत्कालै १३ दिनको परम्परा बिथोलिन दिनुहुँदैन । विस्तारै सुधारहरू गर्दै जानुपर्छ ।”
– संस्कृतिविद् गोविन्द टण्डन
संस्कृतिविद् गोविन्द टण्डन भने अप्ठ्यारो समय र भवितव्यमा मृत्यु संस्कार घटाए पनि १३ दिने संस्कार तुरुन्तै हटाउन नसकिने बताउँछन् । उनी भन्छन्, “गलत परम्परा र धार्मिक विकृति हटाउनुपर्छ, तर तत्कालै १३ दिनको परम्परा बिथोलिनदिनुहुँदैन । विस्तारै सुधारहरू गर्दै जानुपर्छ ।”
उता पण्डित अमृतमणि आचार्य समय अनुसार संस्कारहरूलाई सुधार गर्दै जानुपर्ने बताउँछन् । छोटो समयमा सकिने मृत्यु संस्कार विपत् र महामारीको समयमा उचित हुने उनको भनाइ छ । उनी भन्छन्, “पाँचदिने मृत्यु संस्कार पद्धतिमा किरिया–कर्मका विधि नघटाई रीत पुर्याएर गर्न सकिन्छ । जबरजस्ती लादिएका पौराणिक मान्यताहरूलाई समयक्रम अनुसार परिवर्तन गर्दै लैजानुपर्छ ।” संस्कृतिको रक्षाका लागि पनि कष्टकर संस्कार सरल बनाउनुपर्ने उनको भनाइ छ ।
“सरकारले नै केही कदम नलिएसम्म छिट्टै स्वीकार्ने जमात ठूलो हुँदैन । धर्म र संस्कार मानव जीवनका निम्ति भएकाले दैनिक जीवनलाई सरल र सुव्यवस्थित बनाउन पाँचदिने मृत्यु संस्कार अवाश्यक छ ।”
– पण्डित माधवप्रसाद कोइराला
पण्डित माधवप्रसाद कोइराला पनि पौराणिक मान्यता अनुसारका पुराना संस्कारहरू परिमार्जन हुँदै आएको बताउँछन् । पाँचदिने मृत्यु संस्कारलाई प्रयोगमा ल्याउन सकिने उनको भनाइ छ । धेरै मानिसका मानसिकतामा छाप बसेको पुरानो संस्कार एक–दुई जनाले गरेर तुरुन्तै परिमार्जन हुँदैन। उनी भन्छन्, “सरकारले नै केही कदम नलिएसम्म छिट्टै स्वीकार्ने जमात ठूलो हुँदैन । धर्म र संस्कार मानव जीवनका निम्ति भएकाले दैनिक जीवनलाई सरल र सुव्यवस्थित बनाउन पाँचदिने मृत्यु संस्कार अवाश्यक छ ।”
पण्डित खिमानन्द पोखरेल पाँचदिने मृत्यु संस्कार आर्थिक कारणले पनि उपयुक्त भएको बताउँछन् । उनी भन्छन्, “यो विषयमा धेरै मतभेद भएकाले सबै शास्त्रीय व्यक्ति बसेर पुरानो विधिलाई थोरै दिनमा कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने छलफल गर्नुपर्छ ।” पाँचदिने मृत्यु संस्कार गर्दा हिन्दूधर्मको पद्धतिलाई ठेस पुग्न नहुने उनको भनाइ छ ।