नेपालमा किन सुस्त भइरहेको छ कोरोनाभाइरस परीक्षण ?
कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने एक मात्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) टेकूमा शुक्रबारसम्म करीब ८०० जनाको परीक्षण भएको छ। त्यसमध्ये चार जनामा ‘पोजेटिभ’ देखिएको छ।
कोभिड–१९ परीक्षण गर्ने देशको यो एक मात्र प्रयोगशालामा अहिले दैनिक ६० देखि ६५ जनाको ‘स्वाब’ परीक्षणका लागि आउँछन्। तर, दैनिक ६०० देखि एक हजार जनासम्मको परीक्षण गर्न सक्ने क्षमता भएको प्रयोगशालाका कन्सल्ट्यान्ट माइक्रोबायोलोजिष्ट डा. रञ्जित साह बताउँछन्।
प्रयोगशालामा आएका जति सबै नमुना दैनिक परिक्षणका लागि राख्ने गरेको डा. साह बताउँछन्। उनी भन्छन्, “प्रयोगशालामा दैनिक एक हजारसम्मको परीक्षण गर्नसक्ने क्षमता भए पनि त्यस अनुसार स्वाबको नमुना आएको छैन।”
तर, पर्याप्त रिएजेन्ट (प्राइमर र प्रोब नाम गरेका रसायन) नहुँदा क्षमता अनुसार परीक्षण हुन नसकेको हो। टेकूस्थित प्रयोगशालासँग अब एक हजार जनाको परीक्षण गर्न पुग्ने रिएजेन्ट मात्र छ। कोभिड–१९ परीक्षणका लागि रिएजेन्ट अनिवार्य हुन्छ।
प्रयोगशालाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र अनुसन्धान गर्ने संस्था सेन्टर फर मोलिक्युलर डायनामिक्स नेपाल मार्फत रिएजेन्ट खरीद गरेको थियो। त्यसबाहेक प्रयोगशलालाले १२ हजार थान रिएजेन्ट खरीद प्रक्रिया थालिसकेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार चीनबाट झण्डै एक लाख जनाको कोरोना परीक्षण गर्न पुग्ने गरि रिएजेन्ट आउँदैछ। ती रिएजेन्ट ल्याएपछि परीक्षण गति बढाउने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा बताउँछन्। चीन सरकारले पठाउने चिकित्सा सामग्री शनिवारसम्ममा तातोपानी नाका आइपुग्ने भन्सार कार्यालयले जनाएको छ।
टेकूबाहेक कोभिड–१९ परीक्षण गर्न सक्ने मेसिन भएका अन्य प्रयोगशाला रिएजेन्ट अभावमा उपयोग हुन नसकेका हुन्। सरकारले आइतबारदेखि भने धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पनि परीक्षणको तयारी गरेको छ। त्यहाँ रिएजेन्ट पठाइसकेको स्वास्थ्य मन्त्रलायले जनाएको छ।
त्यसबाहेक वीर, काभ्रेको धुलिखेल अस्पताल, ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र केही निजी मेडिकल कलेजका प्रयोगशालामा कोभिड–१९ परीक्षण गर्न सक्ने मेसिन छन्। ती प्रयोगशालामा आवश्यक जनशक्ति समेत छन्।
एउटा नमुनाको नतिजा आउन अधिकतम् ६ घन्टा लाग्छ। अहिले टेकुस्थीत प्रयोगशालामा तीन ‘सिफ्ट’ मा काम भइरहको छ । हरेक सिफ्टमा ६ जनाको दरले जनशक्ति आवश्यक हुन्छ। एनपीएचएलमा १८ जनाभन्दा बढीको टोली खटिइरहेको प्रयोगशालाका कन्सल्ट्यान्ट माइक्रोबायोलोजिष्ट डा. साह बताउँछन्।