धरानमा पनि कोरोना भाइरस परीक्षणको तयारी
सरकारले कोरोनाभाइरस (कोभिड–१९) भाइरसको परीक्षण धरानस्थीत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पनि गर्ने तयारी थालेको छ। स्वास्थ्य मन्त्रालयले आइतबारबाट परीक्षण शुरु गर्ने गरी तयारी थालेको हो।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले धरानस्थित प्रतिष्ठानमा कोरोना भाइरस परीक्षण शुरु गर्न काठमाडौंबाट आवश्यक सामग्री पठाइसकिएको जानकारी दिएका छन्। उनी भन्छन्, “प्रयोगशाला सञ्चालनका लागि चाहिने सबै सामान बिहिबार नै धरान पठाइएको छ। केही दिनमै परीक्षण सुरु हुन्छ।”
उनका अनुसार परिक्षणका लागि चाहिने केही थान ‘रिएजेन्ट’ (परीक्षणमा प्रयोग हुने रसायन) पनि पठाइएको छ। त्यसले नपुगे चीनबाट आउने रिएजेन्ट पनि पठाइनेछ। अहिले प्रयोगशालाको मापदण्ड र नतिजाको वैधता जाँच भइरहेको छ।
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक वरिष्ठ चिकित्सकका अनुसार प्रतिष्ठानको प्रयोगशालामा कोरोना भाइरस परीक्षण गर्न चाहिने पोलिमरेज् चेन रियाक्सन (पीसीआर) मेसिन पहिलेदेखि नै थियो। प्रतिष्ठानले इन्फ्लुएन्जा परीक्षणका लागि उक्त मेसिन ल्याएको थियो।
प्रतिष्ठानका अनुसार कोरोना परीक्षण गर्न चाहिने माइक्रोबायोलोजिष्ट, भाइरोलोजिष्ट, टेक्नोलोजिष्ट लगायतको टिम तयारी अवस्थामा राखिएको छ।
रिएजेन्ट जुटाउने चुनौती
कोरोना परीक्षण गर्न पीसीआर मेसिन भएको प्रयोगशाला र प्राइमर र प्रोब नाम गरेका रसायन चाहिन्छ । ती रसायनलाई रिएजेन्ट भनिन्छ। प्राइमर र प्रोब रसायनले भाइरसको जीन अर्थात बंशाणु पत्ता लगाउँछ।
पीसीआर प्रयोगशालामा यस्ता रिएजेन्ट प्रशस्त भए कोरोना परीक्षण बढाउन सकिन्छ । त्यसैले अहिलेको मुख्य चुनौती नै रिएजेन्टको जोहो हो। त्यस अतिरिक्त एउटा प्रयोगशालामा दैनिक तीन चरणमा काम गर्न ६ जनाका दरले न्यूनतम १८ जनाको जनशक्ति चाहिन्छ।
अहिले काठमाडौं टेकूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) मा १८ जनाभन्दा बढीको टोली खटिइरहेको प्रयोगशालाका कन्सल्ट्यान्ट माइक्रोबायोलोजिष्ट डा. रञ्जित साह बताउँछन्। टेकूबाहेक अन्य पीसीआर प्रयोगशालामा रिएजेन्ट नहुँदा परीक्षण हुन सकेको छैन।
एनपीएचएल टेकू र धरानबाहेक इन्फ्लुएन्जा परीक्षण गर्न वीर अस्पताल, काभ्रेको धुलिखेल अस्पताल, ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र केही निजी मेडिकल कलेजमा पीसीआर मेसिन छ। ती प्रयोगशालामा आवश्यक जनशक्ति समेत भए पनि रिएजेन्ट नहुँदा परीक्षण हुन नसकेको हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटा केही दिनमै चीनबाट रिएजेन्ट ल्याएपछि परीक्षण गति बढाउने बताउँछन् । चीन सरकारले पठाउने चिकित्सा सामग्री शनिवारसम्ममा तातोपानी नाका आइपुग्ने भन्सार कार्यालयले जनाएको छ।
मन्त्रालयका अनुसार, चीनबाट झण्डै एक लाख जनाको कोरोना परीक्षण गर्न पुग्ने गरी रिएजेन्ट आउँदैछ।