उपसभामुख राजपालाई !
समाजवादी पार्टी, नेपाल मंगलबार सरकारबाट बाहिरिएको छ । उपप्रधानमन्त्री सहित दुई मन्त्रालय लिएर सत्ता साझेदारी गरिरहेको समाजवादी पार्टी आफ्नो माग सम्बोधन नभएको भन्दै बाहिरियाे ।
तर, संविधान संशोधनकै माग राखिरहेको अर्को दल राष्ट्रिय जनता पार्टी (राजपा) भने सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नजिकिएको छ । राजपाका महासचिव केशव झा नेकपासँग सम्वाद हिनताको अवस्था तोडिएको बताउँछन् ।
“नेकपासँग सम्वाद हिनताकै अवस्था थियो, तर पछिल्लो राजनीतिक घटनाक्रमसँगै त्यो अवस्था रहेन”, झाले हिमाल खबरसँग भने । राजपाले ९ माघमा हुने राष्ट्रियसभा निर्वाचनमा नेकपासँग गठबन्धनकै सहमति गरिसकेको छ ।
२ पुसमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायत शीर्ष नेताहरु सँग बालुवाटारमा राजपा अध्यक्ष मण्डलका सदस्यहरुले दुई नम्बर प्रदेशबाट निर्वाचित हुने राष्ट्रियसभाका लागि सहमति गरेका छन् । सहमतिअनुसार, नेकपा र राजपाले दुई–दुई जना उम्मेद्वार तय गर्नेछन् ।
यो सहमतिबाट रुस्ट बनेको समाजवादी पार्टी, नेपाल भने सरकारबाटै बाहिरिएको छ । नेकपा र राजपा बीचको सहमतिलाई समाजवादीका नेता बाबुराम भट्टराईले त दास र मालिककै संज्ञा दिएका थिए ।
भट्टराईले फुटाउ र राज गर भन्ने वाक्यांशमार्फत् नै राजपा नेकपासँग नजिकिएको संकेत दिएका थिए ।
यसको केही दिन नबित्दै ८ पुसमा समाजवादी सरकारबाट बाहिरिएको छ ।
जबकी, उपेन्द्र यादव विदेश भ्रमणमै रहेका बेला उनको मन्त्रालय हेरफेर हुँदा समेत आधिकारिक प्रतिक्रिया जनाएको थिएन ।
समाजवादी बाहिरिए सँगै, राजपा सरकारमा जाने चर्चा चलेको छ । तर, महासचिव झा भने सरकारमा जाने तत्काललाई संभावना नरहेको बताउँछन् । “उपसभामुखमा दावी स्वभाविक हुन्छ, तर सरकारमा तत्काललाई जाँदैनौं”, उनले भने ।
झाले भनेजस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा पनि राजपासँग उपसभामुखबारे छलफल भइरहेको बताउँछन् । प्रेस सल्लाहकार थापा भन्छन्, “उपसभामुखबारे सम्वाद गर्नु सामान्य भयो, छलफल भइरहेको छ ।”
राजपा पनि तत्काललाई उपसभामुख लिएर नेकपासँग नजिकिने प्रयासमा देखिन्छ । एउटै दलबाट सभामुख र उपसभामुख हुन नमिल्ने वैधानिक प्रावधानका कारण नेकपाले उपसभामुख अन्य दललाई दिनुपर्ने हुन्छ ।
सरकार नै छोडेको समाजवादीले उपसभामुख पाउने संभावना भने टरेको छ । यसबाहेक नेपाली कांग्रेस, राजपा, स्वतन्त्र सांसदहरु दुर्गा पाैडेल र राजेन्द्र लिङदेन नै संभावित उपसभामुखका दावेदार हुन् । पाैडेल र लिङदेन निर्वाचित दललाई संसदले चिन्दैन ।
उपसभामुख लिन कांग्रेस पनि तयार देखिन्छ । सभापति शेरबहादुर देउवाले ८ पुसमा यसबारे प्रधानमन्त्री सहित नेकपाका नेताहरुसँग एक चरणको कुराकानी गरिसकेका छन् ।
तर, नेकपाका एक नेताका अनुसार, तत्काललाई उपसभामुख राजपाले पाउने संभावना बढी छ । किनभने, राजपासँग सहकार्य गर्दा नेकपालाई दुई नम्बर प्रदेशमा सजिलो पर्नेछ भने संघीय संसदमा दुई तिहाइ मत पनि कायमै रहनेछ ।
“आज भोलिमै उपसभामुखको टुंगो लाग्छ, छलफल सबैसँग भइरहेको छ”, प्रचार विभाग उपप्रमुख समेत रहेका थापा भन्छन् ।
बलात्कार अभियोग पछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएकाले ११ पुसबाट उपसभामुख चयन प्रक्रिया शुरु हुँदैछ ।
त्यस अगाडि उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराएर सुवास नेम्वाङलाई सभामुख बनाउने नेकपाले तयारी छ ।