‘ल्याडर डाउन’ प्रवृत्तिले कहिलेसम्म घटाउला शेयर बजार ?
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को पछिल्लो एक वर्षको रेखाचित्र नियाल्ने हो भने भर्याङ ओर्लिंदै गरेजस्तो आकृति बन्छ। यस्तो आकृतिलाई ‘ल्याडर’ अर्थात् भर्याङ आकृति पनि भन्ने गरिन्छ। प्राविधिक विश्लेषणमा यो औजारको प्रयोग सामान्यतया अल्पकालीन अर्थात् ७ दिनको विश्लेषणका लागि बढी गरिने भए पनि यदाकदा दीर्घकालीन बजार प्रवृत्तीको विश्लेषणमा पनि यसको प्रयोग गरेको पाइन्छ।
यस्तो आकृतिले घट्दो बजारलाई संकेत गर्छ। यसरी घटिरहेको बजारलाई उचाल्न ठूलै धक्का आवश्यक पर्छ। पछिल्लो समय बजारको घट्दो प्रवृत्ती केही मत्थर हुँदै गएजस्तो देखिएकाले आगामी दिनमा बजारले प्रवृत्ती बदलेर बढ्नसक्ने देखाए पनि प्राविधिक रूपमा त्यसको ठोस आधार भने देखिइसकेको छैन।
पछिल्लो एक महिनाको व्यापारलाई हेर्दा केही ढिलाइ गरेरै भए पनि नेप्सेले ‘हेड एण्ड सोल्जर’ आकृति पूरा गरेको छ। मानिसको दुईतिर कुम र बीचमा शीर भएजस्तै आकृति नेप्सेको रेखाचित्रमा देखिएकाले यसलाई ‘हेड एण्ड सोल्जर’ भनिएको हो।
यस्तो आकृति तयार भएमा शेयर बजार ओरालो लाग्ने संकेत गर्छ। तर, ढुक्कले यो तर्क गर्न भने नेप्से अझै कम्तिमा १८ अंक घट्नुपर्छ। ४ पुसमा ११६२ अंकबाट उकालो लागेर नेप्सेले यस्तो आकृति तयार गरेकाले उक्त विन्दुलाई तोडेर नेप्से ओर्लिएमा शेयर बजार थप घट्ने विश्लेषण गर्न सकिन्छ। त्यसपछि ओरालो लागेमा नेप्सेले १११८ अंकसम्म घट्न सक्ने देखिन्छ।
साताको पहिलो दिन आइतवार भने शेयर बजार ८.६० अंक ओर्लिएर ११७९.१७ अंकमा झरेको छ। व्यापार, होटेल र वित्तीय संस्थाबाहेक सबै समूहगत परिसूचक ओरालो लागेपछि समग्र नेप्सेमा नकारात्मक दबाब परेको देखिन्छ।
आइतवार नेप्सेको अनलाइन प्रणालीमा समस्या आएपछि दिउँसो १५ मिनटका लागि कारोबार स्थगित पनि गरिएको थियो। पछिल्लो समय पूर्ण अनलाइन कारोबार सञ्चालनमा ल्याएपछि नेप्सेको प्रणालीमा प्राविधिक समस्या बढ्न थालेका छन्। यसअघि पनि नेप्सेको प्रणालीले काम प्रभावकारी नगर्दा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर मूल्य नियमविपरित बढेको थियो। प्राविधिक समस्याका बावजुद आइतवार नेप्सेमा ३६ करोड ४५ लाख रुपैयाँभन्दा बढीको व्यापार भएको छ।