‘निगममा सुधार हुन थाल्दा कतिपयलाई छटपटी भएको छ’
नेपाल वायुसेवा निगमले गएको साउनमा ल्याएको एयरबस ३३० विमानको खरीद प्रक्रियामा अनियमितता भएको भन्दै छानबिन भइरहेको छ । अर्कातिर, वाइडबडी विमान प्रभावकारी रूपमा चलाउन नसक्दा निगमको वित्तीय अवस्था कमजोर हुँदै गएको खबरहरू आइरहेका छन् ।
निगमका कार्यकारी अध्यक्ष मदन खरेलको काँधमा दुई वटा न्यारो बडीसँगै वाइड बडी विमान सञ्चालन गर्ने जिम्मेवारी छ । विगतमा निगमको महाप्रबन्धक हुँदा (२०६८ पुस–२०७१ चैत) खरेलले न्यारो बडी विमान सञ्चालन गर्न नसकेको आरोप लागेको थियो ।
निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारको पदावधि ९ महिना बाँकी छँदै गएको १ असोजमा प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो प्रस्तावबाट खरेल कार्यकारी अध्यक्ष नियुक्त भएका थिए । निगमले गरिरहेको पछिल्लो काम र आगामी योजनाबारे कार्यकारी अध्यक्ष खरेलसँग हिमालखबरले गरेको कुराकानीः
दोस्रो पटक निगमको कार्यकारी जिम्मेवारी सम्हाल्नुभएको छ, कस्तो भइरहेकोे छ ?
संसारभरि नै एयरलाइन्स व्यवसायमा चासो हुन्छ, हाम्रोमा अलि बढी छ । एक–दुई महीनामा धेरै विषयमा सुधार हुँदै जान्छ । कामबाटै तपाईंहरूले जवाफ पाउनुहुन्छ ।
नेपाल वायुसेवा निगमका समस्याहरू फेरिएका छन् कि पहिला जस्तै रहेछन् ?
विगतमा पनि काम गरेको हुनाले मलाई यहाँका समस्या बुझ्न धेरै समय लागेन । निगम अहिले जुन गतिमा चलिरहेको छ, यसरी हुँदैन । उन्नत अवस्थामा जानैपर्छ । वाइड बडी आएपछि हाम्रो व्यवसायको आकार बढेको छ ।
व्यवसायको आकार बढेअनुसार पूर्वतयारी हुन नसक्दा केही अलमल देखिएको हो । म आएदेखि नै नयाँ तरीकाबाट काम गरिरहेका छौं । पूर्वतयारी भएको भए केही सहज हुन्थ्यो । तर, अहिले पनि हामी व्यवसाय सम्हाल्नै नसक्ने अवस्थामा छैनौं । संस्थालाई अगाडि लैजाने गरी काम गरिरहेका छौं, तर परिणाम देखिन केही समय लाग्छ ।
पुरानो व्यवस्थापनले केही काम गरेन भन्न खोज्नुभएको हो ?
कसैलाई आरोप लगाउनुभन्दा पनि विगतको कामको नतिजा हाम्रो अगाडि छ । पूर्वतयारी नभएकाले अहिले निगमसँग भएका विमानहरू पूर्ण क्षमतामा उडेका छैनन् । कमी–कमजोरी छन् । सबै विमानलाई पूर्ण क्षमतामा उडाउने हाम्रो चाहना हो ।
निगमलाई चुस्त बनाउन तपाईंसँग कस्ता रणनीति छन् ?
इञ्जिनियरिङ विभागलाई चुस्त बनाउने हाम्रो पहिलो प्राथमिकता हो । निगमका विमान सधैं ढिलो उड्छन् भन्ने गुनासो सुनिन्छ । हाम्रा विमान समयमै मर्मत हुन नसक्दा यस्ता समस्या बारम्बार देखिने गरेका छन् । यस्तो समस्या हटाउन निश्चित समय तोकेर काम गर्न थालेका छौं । समयमा काम नगर्नेलाई अब कारबाही हुन्छ ।
हामीसँग भएका विमानले यात्रुलाई सेवा दिने र कम्पनीले पनि आम्दानी गर्ने अवस्था बन्नुपर्छ । विमान ग्राउण्डेड भएपछि मात्र मर्मत गर्ने परम्परा अन्त्य गर्न विमान जिरोे एमईएल (मिनिमम इक्यूप्मेन्ट लिमिट) मा सञ्चालन गर्ने योजना बनाएका छौं । यात्रुको सुरक्षा र कम्पनीको विश्वसनीयताका लागि विभिन्न निकायले औंल्याएका विषयमा पनि सुधार हुनुपर्छ ।
म आउँदा सुधार गर्नुपर्ने विभिन्न ३०० विषय थिए, अहिले उक्त सूची २०० मा झरेको छ । त्यसलाई तीन महीनाभित्र शून्यमा पुर्याउनुपर्छ ।
अहिलेको मुख्य चुनौती वाइड बडी विमानलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने हो । त्यसका लागि आवश्यक तयारी शुरु गरिसकेका छौं । आउँदो माघ तेस्रो साताभित्र जापानको ओसाका र फागुन तेस्रो साताभित्र चीनको गोन्जाओमा उडान गर्ने योजना छ । त्यसको पूर्वतयारीका लागि कर्मचारी पनि पठाइसकिएको छ । यस्तै, चैतभित्र साउदी अरबको रियाद र बैशाखभित्र कोरिया उडान गर्ने हाम्रो योजना छ ।
वाइड बडी विमान भाडामा ल्याइएको भन्ने चर्चा छ, यथार्थ के हो ?
वाइड बडी हामीले खरीद नै गरेका हौं । बिल अफ सेल हाम्रो नाममा छ । केही सञ्चार माध्यमले तथ्य बंग्याएर लगातार प्रायोजित र षड्यन्त्रपूर्ण रूपमा समाचार लेखिरहेका छन् । जहाँसम्म खरीद प्रक्रियाको विषय छ, त्यसमा छानबिन भइरहेकाले यसमा मैले केही बोल्न उचित हुँदैन ।
तपाईंलाई केही व्यापारीको स्वार्थमा निगममा ल्याइएको आरोपबारे के भन्नुहुन्छ ?
यो आरोप निराधार र मप्रतिको अन्यायपूर्ण विश्लेषण हो । मलाई मन्त्रिपरिषद्ले निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । यो आरोप सत्य हो भने, प्रधानमन्त्रीदेखि सबै मन्त्री व्यापारीको स्वार्थमा चलेको हुनुपर्यो । मैले संस्थाको भलाइका लागि काम गर्न थालिसकेको छु ।
मलाई कसैले ल्याउनुपर्ने नै होइन । विगतमा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त भएर आउँदा संस्थाको हित विपरीतका काम गर्नुपर्ने अवस्था आएपछि पदावधि बाँकी रहँदै राजीनामा दिएर हिंडेको थिएँ । पद जाला कि भनेर मान्छे डराउने होे । मलाई पदको लोभ छैन, त्यसैले कुनै डर छैन ।
म निगममा आउनुअघि र पछि कति समय विमान उडेका छन्, तुलना गरेर हेर्न चुनौती दिन्छु । यस्तै, मेरो नियुक्तिअघि आन्तरिक उडानमा प्रयोग हुने ९ मध्ये ६ विमान ग्राउण्डेड थिए । अहिले तीमध्ये तीन विमान सञ्चालनमा आएका छन् ।
बाँकी तीन विमान पनि यही महीनाभित्र सञ्चालनमा आउँछन् । यसलाई निगम कमजोर बनाएको भन्ने कि बलियो बनाएको ? निगममा सुधार हुन थालेपछि धेरै मानिसलाई छटपटी भएको छ । म सुधारका लागि प्रतिबद्ध छु ।
निगम टाट पल्टिन लाग्यो भन्ने कुरा चाहिं कस्तो हो ?
४९ अर्ब सम्पत्ति भएको कम्पनी कसरी टाट पल्टिन्छ ? यो सरासर गलत हो । एकै पटक रु. २५ अर्ब कर्जा थपिंदा साँवा र ब्याज तिर्न समस्या भएको हो । निगममा अहिलेसम्म सरकारले गरेको लगानी रु. ३७ करोड मात्र हो ।
नागरिक लगानी कोष र सञ्चय कोषबाट लिएको रु. २५ अर्ब ऋणबाट व्यवसाय विस्तार गर्दा नगद प्रवाहमा समस्या देखिएको छ । त्यो पनि अल्पकालीन हो । वाइड बडीलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सक्यौं भने ऋणको साँवा र ब्याज तिरेर नाफा कमाउन सक्छौं ।
व्यवसायको आकार बढे अनुसार पूँजी बढाउन र नयाँ विमान किन्दा नगद प्रवाहमा असर नपरोस् भनेर हामीले सरकारसँग रु. २० अर्ब माग्यौं । तर, बुझाइको कमीका कारण निगम टाट पल्टिन लागेर पैसा मागियो भन्ने खबर मिडियामा आए ।
अब पनि निगमले चार वटा विमान उडाएर पुग्दैन, अहिले भएका विमानलाई पूर्ण क्षमतामा विस्तार गर्दै थप ६ वटा ट्विनअटर र दुई वटा न्यारो बडी विमान किन्ने पूँजी बढाउनुपर्छ भनेका हौं । ६० वर्षसम्म जसरी बस्यौं, त्यसरी हुँदैन । राष्ट्रिय ध्वजावाहक बलिलो नहुँदासम्म पर्यटन विकास हुन सक्दैन भन्ने सबैले बुझनुपर्छ । निगमभित्र पनि समस्या छन् भन्ने म स्विकार्छु, तर सधैं समस्या छन् भनेर मात्र हुँदैन, सुधार गर्नैपर्छ । त्यसकै लागि म निगममा आएको हुँ ।
त्यसो भए निगमले छिटै थप विमान किन्छ ?
विमान कम्पनीले विमान किन्नैपर्छ । नयाँ र नाफा हुने सेक्टरमा उडान गर्नुपर्छ । त्यसका लागि सरकारसँग रु.२० अर्ब पूँजी लगानी गर्न माग गरेका हौं । ६० वर्षको इतिहासमा दुई वटा विमान ल्याउने र उडाउने गर्दा नै निगमको विकास हुन नसकेको हो ।
छिटै दुई वटा न्यारो बडी विमान किन्ने प्रक्रिया शुरु हुन्छ । निगमको बोर्डले सैद्धान्तिक स्वीकृति दिइसकेको छ । सरकार निगमले सधैं दुइ वटा विमान उडाएर बसोस् भन्छ भने अर्काे कुरा, नत्र अब एक वर्षभित्र नयाँ विमान खरीद प्रक्रिया भइसक्छ ।
वाइड बडी विमान खरीद प्रक्रिया विवादित बन्दा निगमका कर्मचारीको मनोबल कमजोर भएको छ । अब नयाँ विमान किन्न कति सहज हुन्छ ?
वाइड बडी खरीद प्रक्रिया छानबिनको क्रममा रहेकाले यसले सत्यतथ्य कुरा बाहिर ल्याउला । मनोबलको कुरा गर्दा, नयाँ विमान किन्न अहिलेको विवादले असर गर्छ जस्तो लाग्दैन । नियम प्रक्रिया पूरा गरेर कुनै पनि काम गर्ने हो भने डराउनुपर्ने कारण हुँदैन । सरकारी कम्पनी भएकाले आम सरोकार हुनु स्वाभाविक नै मान्छु । छानबिन प्रक्रिया छिटो सकिए हामीलाई सजिलो हुन्थ्यो ।
कुन कम्पनीको विमान किन्ने, कसरी किन्ने, त्यो फरक विषय हो । विमान खरीदको मोडालिटीका विषयमा अहिल्यै केही भन्न सकिंदैन । सरकारको नियम कानून पालना गरेर विमान खरीद हुन्छ ।
आजको व्यवस्थापकीय क्षमताले भएका विमानलाई नै उडाउन नसकिरहेको अवस्थामा नयाँ विमान थप्नु कति उचित होला ?
पहिलो कुरा, नेपाल वायुसेवा निगमले गर्न सक्छ भन्ने विश्वास गर्नुप¥यो । सबै पक्ष इमान्दार भएर लाग्ने हो भने मैले सम्भव देखेको छु । अर्काे कुरा, अबको एक वर्षमा हामीले गर्ने कामले पनि धेरै जवाफ दिन्छ । हामी सुधार हुनुपर्छ भन्नेमा दुईमत छैन । जनताको विश्वास आर्जन गर्नैपर्छ ।
निगम सुधार गर्न रणनीतिक साझेदार भित्र्याउने वा अन्य विकल्पमा गइन्छ त ?
हरेक रोगको एउटै औषधि हुँदैन । निगममा रणनीतिक साझेदार भित्र्याउनु, निजीकरण गर्नु वा पब्लिक प्राइभेट पार्टनरशिपमा जानु मात्र समाधान हो भनेर सोच्नु हुँदैन । सबै मोडल आ–आफ्ना ठाउँमा ठीक छन् ।
यसकाे समाधान के हो ?
हाम्रो समाधान हामीभित्र छ । निगम सार्वजनिक संस्थानमै सञ्चालन गर्नु ठीक छ भन्ने मेरा धारणा हो । व्यवस्थापन र सञ्चालन ठीक तरीकाले गर्न सके सार्वजनिक संस्थानको रूपमा रहेको निगमले पनि लाभ दिनसक्छ । निजीकरणमा जानेबित्तिकै संस्था नाफामा जान्छ भन्ने हुँदैन । गत वर्ष भारतका निजी वायुसेवा कम्पनीले रु. १५०० करोडभन्दा धेरैको नोक्सानी बेहोरेका थिए । नेपालमै पनि निजी क्षेत्रले सञ्चालन गरेका विमान कम्पनी टाट पल्टेका उदाहरण छन् ।
एयरलाइन्स व्यवसाय भनेको मुख्य कुरा व्यवस्थापन कसरी गरियो भन्ने नै हो । हाम्रोमा व्यवस्थापकीय कमजोरी छ, त्यसमा सुधार गरेर अगाडि बढ्नुपर्छ ।
अर्थमन्त्रीले नेपाल एयरलाइन्सको ५१ प्रतिशत शेयर बिक्री गर्नुपर्ने बताइरहनुभएको छ नि !
विगतमा पनि धेरै संस्थान निजीकरण गरिएका थिए । तीमध्ये आज कति कम्पनी नाफामा चलेका छन् ? नेपाल सरकारले निगम निजीकरणमा जानुपर्छ भन्छ भने मेरो भन्नु केही छैन । तर, निजीकरण नै हाम्रो समाधान हो भन्ने पक्षमा म छैन । विगतमा सार्वजनिक संस्थानले काम गर्न सकेन भन्दै अब पनि गर्दैन भन्ने होइन ।
तपाई त सीधै प्रधानमन्त्रीको ठाडो आदेशबाट निगममा आउनुभएको, निजीकरणका विषयमा प्रधानमन्त्रीको धारणा के छ ?
म यहाँ आएपछि प्रधानमन्त्रीसँग भेट भएको छैन । तर, म निजीकरण मात्र समाधान होइन, हामीसँग विभिन्न विकल्प छन् भनेर प्रधानमन्त्रीज्यूलाई रिपोर्टिङ गर्छु ।
तालुकदार मन्त्री र सचिव भन्दा सोझै प्रधानमन्त्रीसँग भेट्नुहुन्छ भन्ने आरोप छ नि ?
यो झुटो हो । लगाउनलाई जे आरोप लगाए पनि भयो । मन्त्री र सचिवसँग नियमित सम्पर्कमा छु । हामी सल्लाह गरेरै काम गरिरहेका छौं ।
प्रस्तुतिः शरद ओझा
पढ्नुहाेस् ।