कला/साहित्यआइतवार, मंसिर १६, २०७५

रजनीकान्त-अक्षयको '२.०' ले दुई दिनमा कमायो ३८ करोड

हिमालखबर

दक्षिण भारतीय सुपरस्टार रजनीकान्त र बलिउड अभिनेता अक्षय कुमार अभिनित फिल्म '२.०' ले सिनेमाघरमा दर्शकको राम्रो साथ पाइरहेको छ।

बिहीवार रिलिज भएको फिल्मले दुई दिनमा भारतीय बक्स अफिसमा भारु ३८ करोड २५ लाख कमाएको छ। यो कमाइ हिन्दी भर्सनको हो। हिन्दी भर्सनमा फिल्मले पहिलो दिन २० करोड २५ लाख र दोस्रो दिन १८ करोडको व्यापार गरेको छ।

बलिउडका व्यापार विश्लेषक रमेश बालाले '२.०' फिल्मले शनिबार करीब भारु २५ करोड व्यापार गरेको आकलन गरेका छन्। फिल्मले पहिलो दिन विश्वभरिमा सबै भाषामा गरी भारु ११५ करोडको व्यापार गरेको छ। मूल रूपमा तमिल भाषाको यो फिल्म हिन्दीसहित १५ भाषामा रिलिज गरिएको छ। पहिलो दिन कमाइ भएको ११५ करोडमध्ये ८५ करोड भारत र ३० करोड विभिन्न देशमा भएको कलेक्सन हो।

भव्य भिजुअल इफेक्ट्सका कारण '२.०' ले विशेष चर्चा र तारिफ बटुलिरहेको छ। फिल्म समीक्षकहरूले पनि यसलाई रुचाएका छन्। बलिउडका व्यापार विश्लेषक तरण आदर्शले '२.०' लाई ब्लकबस्टर भन्दै रेटिङमा पाँच स्टार दिएका छन्।

करीब ६०० करोडको बजेटमा निर्माण भएको फिल्मले ३७० करोड रिलिज अगावै कमाएको थियो। एस शंकर निर्देशित फिल्ममा रजनीकान्त र अक्षय कुमारसँगै एमी ज्याक्सन मुख्य भूमिकामा देखिएका छन्। यो फिल्म सन् २०१० मा रिलिज भएको फिल्म 'रोबोट' को सिक्वल हो। एजेन्सी

प्रतिकृया दिनुहोस