आठौं राष्ट्रिय खेलकूदका लागि खेलाडी छनोट शुरु
प्रदेश-५ मा हुने आठौं राष्ट्रिय खेलकूदका लागि विभिन्न जिल्लामा छनोट प्रतियोगिता १४ मंसीरदेखि शुरु भएको छ।
जुम्ला, भोजपुर, सल्यान, संखुवासभा, तेह्रथुम, गुल्मी, स्याङ्जा, हुम्ला, बाग्लुङ, बर्दिया, डोल्पा, बैतडी, डडेल्धुरालगायत १४ जिल्लामा छनोट शुरु भएको आठौं राष्ट्रिय खेलकूद २०७५ तयारी सचिवालयले जनाएको छ। छनोट कार्य २१ मंसीरसम्म चल्नेछ।
आठौं राष्ट्रिय खेलकूदमा समावेश ३५ खेलमध्ये २० को जिल्ला छनोट शुरु भएको हो। त्यसअन्तर्गत बक्सिङ, भारोत्तोलन, क्रिकेट, बास्केटबल र ह्यान्डबलको महिला जिल्ला छनोट भने हुने छैन। यी पाँच खेलको भने सीधै प्रदेश छनोट सञ्चालन गरिनेछ।
जिल्ला छनोटमा ३१ हजार ८४५ खेलाडीले सहभागिताका लागि नाम दर्ता गराएका छन्। जिल्ला छनोटका लागि ७७ जिल्लामा रु २ करोड ७८ लाख ४० हजार बजेट पठाइसकेको सचिवालयले जनाएको छ।
मंसीरमै आयोजना गर्नेगरी तय भएको आठौं राष्ट्रिय खेलकूद पूर्वाधार अभावका कारण २ महिना पर सारिएको हो। २५ माघदेखि १ फागुनसम्म नयाँ मिति तय भएको छ। रासस