डिभिजन ‘ए’ लिग- जावलाखेल र फ्रेन्ड्सले अंक बाँडे (अंक तालिकासहित)
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत चौथो चरणको अन्तिम खेलमा फ्रेण्ड्स क्लब र जावलाखेल युथ क्लबले अंक बाँडेका छन्।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा १२ मंसिरमा भएको दोस्रो खेलमा दुवै टोलीले ३-३ गोलको बराबरी खेलेका हुन्। निकै प्रतिष्पर्धात्मक देखिएको खेलमा जावलाखेलका लागि अरुज सिंह, फाडो फोफाना र सुमन डंगोलले १-१ गोल गरे। फ्रेन्ड्सका लागि विकास लामा, फोफाना ब्राहिमान र धिरज श्रेष्ठले १-१ गोल गरे।
खेलमा शुरुआती अग्रता खेलको २६ औं मिनटमा विकासको गोलमार्फत फ्रेन्ड्सले १-० को अग्रता लिएको थियो। तर, पहिलो हाफको इन्जुरी समयमा जावलाखेलका अरुजले गोल गर्दै जावलाखेललाई १-१ गोलको बराबरीमा ल्याए। पहिलो खेलमा १-१ गोलको बराबरी खेलेका दुवै टोलीले दोस्रो हाफमा थप दुई दुई गोल गरे।
खेलको ४७ औं मिनटमा विदेशी खेलाडी फोफानाले गोल गर्दै जावलाखेललाई २-१ को अग्रता दिलाए। खेलको ५२ औं मिनटमा सुमन डंगोलले गोल गर्दै जावलाखेललाई ३-१ मा ल्याए। तर, खेलको ६८ औं मिनटमा फ्रेन्ड्सका ब्राहिमानले गोल गर्दै खेल ३-२ मा ल्याए। त्यसपछि खेलको ८२ औं मिनटमा फ्रेन्ड्सका धिरजले गोल गर्दै खेल ३-३ को बराबरीमा ल्याएका थिए।
दुवै लिगको पुछारका टोली हुन्। यअसघि सबै खेलमा पराजित दुवै टोलीले १२ मंसिरको बराबरीसँगै अंक तालिकामा १-१ अंक बनाएका छन्। जावलाखेल लिगको १३ औं र फ्रेण्ड्स १४ औं स्थानमा छ। १२ मंसिरमा चौथो चरणका खेलहरू सकिएका छन्। पाँचौं चरणका खेल १४ मंसिरदेखि हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।
मनाङ् लिगको शीर्ष स्थानमा यथावत
चौथो चरणका खेलहरू समाप्त हँदासम्म जारी लिगमा शत प्रतिशत नजिता निकाल्दै मनाङ मर्याङ्दी क्लब लिगको शीर्ष स्थानमा छ। लिग खेलको चारै खेल जित्दै मनाङ १२ अंक साथ तालिकाको शीर्ष स्थानमा छ।
त्यसैगरी तीन खेलमा जित तथा एकमा बराबरी नतिजासहित त्रिभुवन आर्मी क्लब १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ। सोही नतिजा निकालेको हिमालयन शेर्पा पनि १० अंकका साथ तालिकाको तेस्रो स्थानमा छ।
चार खेल खेलेको थ्रीस्टार तीन खेलमा जित तथा एकमा पराजित हुँदै नौ अंकका साथ चौथो तथा सोही नतिजा निकालेको संकटा क्लब पनि ९ अंकसहित तालिकाको पाँचौं स्थानमा छन्। चार खेल खेलेको नेपाल पुलिस क्लब दुईमा जित, एकमा बराबरी र एकमा पराजित हुँदै सात अंकका साथ तालिकाको छैटौं स्थानमा रहँदा सरस्वती क्लब दुई खेलमा जित तथा दुई खेलमा पराजित हुँदै ६ अंकका साथ सातौं स्थानमा छ।
यस्तै, च्यासल युथ क्लबले खेलका चार खेलमध्ये एकमा जित, दुई हार र एक बराबरीका साथ चार अंक जोड्दै तालिकाको आठौं र सोही नतिजा निकालेको एपीएफ पनि चार अंकका साथ नवौं स्थानमा छ।
यस्तै, चार खेलबाट एकमा जित र तीन हारका साथ ब्रिगेड ब्वाइज १० औं, दुईमा जित तथा दुईमा बराबरी खेलको मछिन्द्र क्लब ११ औं, तीनमा पराजित र एक खेलमा बराबरीका साथ तीनमा पराजित हुँदै १२औं, तीन खेलमा पराजित तथा एकमा बराबरीका साथ फ्रेन्ड्स १३ औं र सोही नतिजासाथ न्युरोड टीम एनआरटी १४औं स्थानमा छन्। रासस