न्यूजील्याण्डमा १४५ वटा ह्वेल मृत भेटिए
न्यूजील्याण्डको समुद्री किनारमा १४५ वटा ह्वेल मृत अवस्थामा भेटिएका छन्।
स्टेवार्ट आइल्याण्डमा शनिबार अपरान्ह एक यात्रीले मृत ह्वेलहरू देखेका थिए। स्टेवार्ट आइल्याण्डका लागि संरक्षण विभागका व्यवस्थापक रेन लिप्पेनले बाँचेका ह्वेललाई अन्यत्र लैजान पनि कठिन रहेको बताए।
एक साताभित्रै न्यूजील्याण्डमा ह्वेलको यो चौथो सामूहिक मरण हो। न्यूजील्याण्डका सामुद्रिक किनारामा ह्वेलहरु अलपत्र भेटिने क्रम सामान्यझैं बनेको छ। संरक्षणकर्मीहरूका अनुसार वर्षमा औसतमा ८५ वटा घटना ह्वेलसँग जोडिएका हुन्छन्।
२५ नोभेम्बरमा १० वटा साना आकारका तर निकै हिंस्रक ह्वेलहरू उत्तरी आइल्याण्डमा अलपत्र भेटिएका थिए। तीमध्ये दुइटा मरिसकेका छन् भने बाँचेका अरूको उद्धार प्रयास जारी छ ।
ह्वेल र डल्फिन किन अलपत्र हुन्छन् भन्ने यथार्थ जानकारी छैन। तर, बिरामी पर्ने, बाटो बिराउने, भौगोलिक अवस्था, ठूला छाल, अरू जनावरले गर्ने आक्रमणलगायत संकटपूर्ण अवस्थाका कारण भीमकाय समुद्री जीवले मृत्युवरण गर्ने अनुमान छ। एएफपी-रासस