इङलिस प्रिमियर लिग- चेल्सीको अपराजित यात्रा टुंगियो, सिटी शीर्षस्थानमै
इङलिस प्रिमियर लिगमा चेल्सीको अपराजित यात्रामा १३ औं खेलमा आएर विराम लागेको छ ।
चेल्सीले लन्डन प्रतिद्वन्द्वी क्लब टोटनहम हटस्परसँग यो सिजनको पहिलो हार व्यहोरेको हो । र, यो हारसँगै डेब्यु सिजनमै लिग उपाधि जित्ने प्रशिक्षक माउरिजियो सारीको लक्ष्यमा केही धक्का लागेको छ ।
शनिबार राति टोटनहमको अन्तरिम घरेलु मैदान वेम्बलीमा सम्पन्न खेलमा चेल्सीले ३-१ को हार व्यहोर्यो । चेल्सीका निम्ति यो पहिलो त्यस्तो खराब खेल थियो, जुन खेलपछिको सारीको प्रतिक्रियाबाट पनि प्रष्ट हुन्थ्यो । खेलपछि उनले चेल्सीको रक्षापंक्ति नराम्ररी चुकेको प्रतिक्रिया दिए ।
घरेलु मैदानमा आठौं मिनटमै डेली अलीको गोलमा अग्रता लिएको टोटनहमले १६ औं मिनटमा ह्यारी केनको गोलमा अग्रता दोब्बर पारेको थियो । पहिलो हाफमा चेल्सीको प्रदर्शन बिर्सनलायक रह्यो ।
दोस्रो हाफमा ‘सारी बल’ शैलीलाई निरन्तरता दिँदै चेल्सीले सुधारिएको प्रदर्शन गर्यो । चेल्सीले बलमा नियन्त्रण राख्दै लगातार आक्रमण गरिरहेका बेला सन ह्युङ मिनले काउन्टर अट्याकमा गोल गरेपछि खेलमा फर्कने चेल्सीको सम्भावना समाप्त भएको थियो ।
सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका ओलिभियर जिरुडले ८५ औं मिनटमा गरेको गोलले भने चेल्सीलाई थोरै भए पनि राहत दियो ।
यो हारसँगै चेल्सी लिगको अंक तालिकाको चौथो स्थानमा झरेको छ । १३ खेल खेल्दा चेल्सीको २८ अंक छ भने तेस्रो स्थानको टोटनहमको ३०, दोस्रो स्थानको लिभरपुलका ३३ र पहिलो स्थानको म्याचनेस्टर सिटीको ३५ अंक छ ।
शनिबार रातिको खेलमा डिफेन्डिङ च्याम्पियन सिटीले वेस्टह्याममाथि ४-० को जित हात पार्दै शीर्ष स्थान कायमै राखेको छ । यस्तै, लिभरपुलले वार्टफोर्डमाथि ३-० को जित निकाल्यो । लिभरपुलका तीन वटै गोल दोस्रो हाफमा भएका थिए ।