दस्तावेजशनिवार, मंसिर ८, २०७५

जंगबहादुरको एक पन्थ दुर्इ काम

ज्ञानमणि नेपाल

भीमसेन थापाले राजनीतिक चातुर्यको अभावमा आफूभन्दा बलशाली अंग्रेजसँग जुध्दा देशको धेरै भाग गुमाए। जङ्गबहादुरले युद्घ लडेर गुमेको भूभाग फिर्ता ल्याउन संभव नदेखी ब्रिटिशलाई आपत् आइलागेका बेला मद्दत दिएर केही जमीन फिर्ता लिए।

कोतपर्वदेखि जङ्गबहादुरले आफ्ना मावलीबाट चिढिएका जनतालाई सुविधा दिएर रिझउने र राजालाई ठेगानमा राख्ने काम गरे। भीमसेन थापाले राजालाई नजरबन्दजस्तै गरेर राखेको भए पनि दरबारबाट लालमोहर लगाउने छाप र ढुकुटीको साँचो आफ्नो हात पार्न भने सकेका थिएनन्; जङ्गबहादुरले ती दुवै हात पारे।

मावली बाबु भीमसेन थापाले राजनीतिक चातुर्यको अभावमा आफूभन्दा बलशाली अंग्रेजसँग जुध्दा हात्तीसँग लाप्पा खेल्नुजस्तै भो; अंग्रेजसँग युद्धमा देशको धेरै भाग गुम्यो।

जङ्गबहादुरले मावलीले गुमाएको देशको भूभाग लडेर फिर्ता ल्याउन संभव नदेखी मेलमिलापकै नीति अपनाए। अंग्रेजलाई कथंकदाचित आपत् पर्‍यो भने उसको सहयोगी बनेर गुमाएको जमीन फिर्ता ल्याउन सक्छु भन्ने धारणा बनाए। आखिर ब्रिटिशलाई आपत् आइलागेका बेला उसलाई मद्दत दिएर केही जमीन फिर्ता ल्याए। ती चार जिल्लालाई अहिले नयाँ मुलुक भनिन्छ। यसले गर्दा युद्धमा हारबाट पीडित जनताको हृदयमा लागेको चोटमा मलमपट्टी पनि लाग्यो। उता उर्लेको गोरखाली वीरहरूको युद्ध–आकांक्षालाई परिपूर्ति गर्ने ठाउँ एकमात्र उत्तर भोट नै बन्यो।

भोटसँग नेपालको सम्बन्ध हार्दिक मात्र थिएन, विशेष पनि थियो। बेलाबेलामा नेपाली व्यापारीसँग कलह भइरहन्थ्यो। सिमाना व्यापारमा पनि बराबर कचपच परिरहन्थ्यो। यस्तो अवस्थामा जङ्गबहादुरले भोटमा सोझै चढाइ गर्दा चीनबाट दंगा होला भनेर तत्काल हात हाल्न सकेनन्। त्यसैबेला चीनमा ताइपिङ विद्रोह उर्लिरहेको थियो। जङ्गबहादुर सत्तामा आएकै अर्को साल चीनमा पाँचवर्षे प्रतिनिधिमण्डल पठाउने पालो आयो।

विसं १९०४ मा काजी सुरथसिंह पन्थर र सरदार अहिवर्ण बस्नेतको नेतृत्वमा प्रतिनिधिमण्डल पठाइयो। काजीचाहिं आकाशचलीको व्यथाले बाटैमा परलोक भए। सरदार र अरूहरू सौगातको सामान लिएर आइपुगे। यसको पाँच वर्षपछि पुनः अर्जी सौगात लिएर गएका काजी गम्भीरसिंह र सरदार शमशेरबहादुर थापा बल्लतल्ल चीन पुगे, आउँदा ताइपिङ विद्रोहको रापताप, खानेपिने सुविधा, घोडा-खल्माको व्यवस्था नहुँदा र बिस्याहारले गर्दा काजी, सरदार र अरू सदस्य पनि बाटैमा बिते।

सुब्बा भीमसेन रानाले ‘चीन बादशाहका रैतीले विद्रोह गरी लड्न लागेको र यहाँ अव्यवस्था मच्चिरहेको’ भन्ने अर्जी लेखी श्री ५ मा खबर पठाएछन्। यस्तो विद्रोहको खबर सुनेपछि विसं १९१० पौष सुदी ५ मा जङ्गबहादुरले टाढाका हामीले पनि मानेका बादशाहलाई यस्तो अवस्थामा मद्दत गर्नुपर्छ भनेर १० हजार फौज र ४० तोपका गोला हान्न जान्ने साधिएका सिपाहीले एक लाख विद्रोहीलाई परास्त पार्न सक्छन् भनेर पठाएछन्।

‘यिनलाई चाहिने बारुद गोली गिराफ गोला पनि यहींबाट साथै लानेछन्, जुन-जुन जग्गामा विद्रोहीसँग लड्नु छ, त्यहीं पुगेर लड्नेछन् । जुन दिन बादशाहबाट अब काम सकियो फर्की जाऊ भन्ने हुकुम हुन्छ त्यसैदिन फर्की आउनेछन्। हिउँ नपरेको बेलामा मात्र जान सकिने हुँदा हाम्रा सिपाहीलाई दुई छाक खान महीनाको ५ रुपैयाँ र खाने सामान, चाहिने भाँडावर्तन, बिछ्याउने लुगाफाटो र लडाइँमा चाहिने सामान बोक्ने भरिया पच्चीस हजार जवानको जोहो त्यहींबाट होस्, विद्रोही परास्त गर्नलाई अरू फौज चाहिएमा यताबाट थप सैनिक पठाइनेछ दौलत-धनको चाहिं कमी नहोस्। कुल्याहालाई तह लगाउन हाम्रो फौज समर्थ छ। जुनसुकै बेला बादशाहको भलो गर्न तयार रहनेछ’ भनी लेखी पठाए।

जङ्गबहादुरले चाहेजस्तै ताकेजस्तै एक पन्थ दुई काम हुनेभयो। एकैपल्ट यसै फौजी अभियानले भोट पनि जितिने विद्रोही कुल्याहालाई पनि पाखा लगाएर बादशाहको मन राख्ने काम पनि सम्पन्न हुनेभयो।

लासाहाका मुन्तारिन टुनतारिन अम्बा दुईलाई श्री ५ गोर्खा सरकारबाट लेखी गयाको वेहोरा यसपटक पैचीन श्री ५ वातशाहका हजूरमा अर्जि सौगात चह्राउन जान्या सुवा भीमसेन रानाले हामिलाई लेख्याका अर्जिमा अघिदेखि श्रीवातशाहलाई मानिरहन्याले श्रीवातसाहसग कुलगरि लड्न लाग्याको रहेछ भन्या खबर विन्ती गरि पठाउँदा हामी र हाम्रा मुख्य बजीर श्रीमद राजकुमार कुमारात्मज श्री प्राइममिनिस्टर यान कमाण्डर इनचीफ जनरल जङ्गबहादुर कुवँर राणाजीका मनमा बहुतै ठुलो फिक्रि लाग्यो। यो खबर सुन्यापछि श्री ५ वादशाहका शरणपिच्छा परि मानिरह्याकाहरूले यस बखतमा पुग्यासम्मको मद्दत टहल गर्नु हाम्रो धर्म हो।

यस निमित्त हाम्रा बजीर र १० हजार सिफाही ४० तोप गोली गोला हान्न जान्या साधियाका सिपालु यस्ता यति फौजले १ लाख फौज सँग लड्न सक्न्या छन् येतिलाई चाहिन्या वारुद गोली गिराफ गोला पनि यहाँबाट जान्या छ। श्री ५ वादशाहबाट जाहा लडाई गर्नुभन्या हुकुम बक्सनुहोला श्री ५ बादशाहको हुकुम शिरचह्राई बादशाहका हुकुम बमोजिम उसै जग्गामा गई लड्न्या छन् जसदिन फर्किजाऊ भन्ने हुकुम होला उसै घडीमा फर्कि हाम्रा मुलुकमा आउनन् यी सिपाहिका विहान बेलुकालाई खाना खर्च महिना १ के ५ रुपैयाका दरले भत्ता खर्च र सिपाहिलाई खान्या भाडा सुत्न्या बिछ्याउना समेत लड्न्या सराजम वोकन्या २५ हजारको अन्दाजा भरिया चाहिन्या छन् यति कुराको श्री ५ बादशाहबाट मेहर भयो भन्या कुल गर्न्यासँग लडाई गर्नालाई हाम्रा बजीर फौज यहाँबाट पठाउछु हामि सग दौतल कम छ।

दौलतको मेहेरभया यस्तै लड्न सक्न्या फौज अरु पनि जति सम्म हुकुम हुन्छ उति फौज तयार हुन्याछन् भन्या व्यहोराको श्री बादशाहका हजुरमा अर्जिचह्राई पठाएको छ। आफुहरूले तलमाथि पर्न गएका व्यहोरा सचाई यो अर्जि श्री बादशाहका हजुरमा चह्राई पठाउने काम गर्नु भया बढिया होला। मामुलीबाहेक अरू कुराको अर्जि चह्राई पठाउन्या छैन भन्या आफुहरूको चित्तमा शंका पर्न जाला यस्तो खबर आजसम्म सुनियाको थिएन यो खबर सुनियापछि हामीले बादशाहका हजुरमा जाहेर गन्र्या अर्जि चह्राई पठाउन्या धर्म हो भनि चह्राई पठाएको छ।
यो अर्जि श्री बादशाहको हजुरमा चह्राई पठाउन्या काम गर्नु भया बढिया होला। १९१० साल माघ बदि २ रोज ल्हासाका श्री टुंनतारिन अम्बाबाट श्री ५ गोर्खा सरकारलाई लेखी आयाको श्री ५ चीन बादशाहको हजुरमा चह्राई पठाउन्या अर्जि बढिया लेखि बिन्ति गरि पठाएको रहेछ तर पैचीन आकाशसमान श्री ५ बादशाहलाई कुल गन्र्या सँग लडनलाई सिपाहि भारदार फौज बाँकी रह्याका पनि धेरै छन् अब बन्दोबस्त पनि हुन लाग्यो। मुलुक मुलुक पनि लिई सक्यौं भन्या लेखि आएको छ।

ति कुल्याहाहरू जम्मा भई आउँदा डरलाग्दो जस्तो पनि छ देवताको कोपले वैरिको सुर पनि घटि जान्छ। लडन सक्न्या छैन। बादशाहका सिपाहिले भस्म गरि छोडला आफू वाङ टाढाराज्यकाले सिपाहिहरू पठाउला भन्दा बाटघाटमा दुख पाउला तै पनि श्री बादशाहका टहल सक्यासम्म गरौला भनि चित्तमा राख्याको हुनाले ५ बर्षको मामुली अर्जि देखि बाहेक वीचमा अर्जि चह्राई पठाउन्या दस्तुर छैन त पनि अर्जि यहाँ नछेकी श्री ५ बादशाहको हजुरमा चह्राई पठाएको छ सो जो हुकुम आउला लेखि पठाउला।
हाङफुङ ४ साल ५ महिना नाका ७ दिन जाँदा

प्रतिकृया दिनुहोस