टिप्पणीशुक्रवार, मंसिर ७, २०७५

निराश कि अति आकांक्षी

विज्ञानबाबु रेग्मी

देशमा विकासको सुस्त गति र हरेक क्षेत्रमा अव्यवस्था रहँदा मध्यम वर्गको अझै धनी हुने मोहले सामाजिक मनोविज्ञान रोगी बनिरहेको छ। 

धेरै समयपछि नेपाल पुगेका यूरोप बस्ने मेरा एक जना आफन्तलाई केही दिनको बसाइमै निराश बनाएछ । अनुभव यस्तो थियो– ‘अव्यवस्थित शहरीकरण र जताततै धूलो, धुवाँ ।

न राम्रो स्वास्थ्य सेवा र खानेपानीको व्यवस्था छ, न गतिलो इन्टरनेट । धेरै दुःख लाग्यो देशको हालत देखेर ।’ एक साथीले भर्खर नेपालमै सफ्टवेयर इञ्जिनियरको अध्ययन पूरा गरे । अबको योजनाबारे सोध्दा ‘आइटी सम्बन्धी काम खोज्न हैदरावादतिर जान लागेको’ सुनाए । 

त्यस्तै, २० वर्षीया एक बहिनी अष्ट्रेलिया बस्ने केटा भेटियो भन्दै दंग थिइन् । ‘नेपाल बसेर केही प्रगति नहुने र अब यही वर्ष बिहे गरेर अष्ट्रेलिया जाने’ भन्दै उनले खुशी साटिन् । म आफैं पनि विगत चार वर्षदेखि देश बाहिर नै अध्ययनरत छु । आफन्त र साथीभाइसँग मैले नेपाल नै फर्किएर काम गर्ने कुरा गर्दा धेरैले अमेरिकामै जीवन राम्रो भएको र उतै ग्रीनकार्ड लिएर बस्न सल्लाह दिन्छन् ।

माथिका पात्रहरूले राखे जस्ता विचार नेपाली समाजमा नयाँ कुरा होइनन् । किन निराश देखिन्छ नेपाली समाज ? किन दिनानुदिन धेरै युवा शिक्षा र रोजगारीको नाममा पलायन हुन्छन् ? सुन्दर भनिने आफ्नो देशलाई लत्याउँदै किन पीआर र ग्रीनकार्डको खोजीमा धाउँछन् ? के अब नेपाल बन्छ वा बन्यो र अब यहीं बसेर केही गर्ने हो भन्ने दिन कहिल्यै आउला ? विश्वभरि छरिएको नेपाली सीप, ज्ञान र क्षमता नेपालमै सदुपयोग हुने दिन आउला ? यी प्रश्नका जवाफ झ्नै कठिन बन्दै गएका छन् ।

कर्मचारी, नेता र राज्य–व्यवस्था
केही वर्षअघि म नागरिकता बनाउन बुवासँग जिल्ला प्रशासन कार्यालय गएँ । धेरै समय लाइन बसेपछि पालो आयो । कर्मचारीहरू काम गर्दै थिए । एकछिन झ्यालमै कुरेर बसिरहँदा कसैले केही नबोलेपछि बुवाले सोध्नुभयो, “यो फर्म बुझउने यहीं होइन सर ?” एक जना कर्मचारीले घडी हेर्दै भने, “साढे दुई भइसक्यो, आज कहाँ भ्याइन्छ अब !” बुवाले अलि अपझर््ट परेकाले आजै गरिदिन अनुरोध गर्नुभयो । उक्त कर्मचारीले फाइल मागेर नाम चढाउने, नागरिकता कार्ड भर्ने आदि काम गरेर सिडिओको कोठामा जान निर्देशन दिए ।

सिडिओले एसएलसीको सर्टिफिकेट खोजे । मैले एसएलसी दिनै बाँकी भएकाले कक्षा ८ र ९ को सर्टिफिकेट पेश गरेको भनें । यस्तो मिल्दैन भनेर उनले फाइल मेरो हातमा थमाए । धेरै बेर कुराकानी गरेपछि र सबै सिफारिश र सर्टिफिकेट देखाइसकेपछि ‘यसपालिलाई भैगो’ भन्दै दस्तखत गरिदिए ।

कहिले अफिसमै कर्मचारी नहुने, कहिले सिस्टममा समस्या आएर काम ढिलो हुने, कहिले झ्र्कोफर्को गरेर सेवाको भावना नदेखिने, कहिले यो पुगेन र त्यो मिलेन भन्ने निहुँमा अड्काएर अर्को दिन आउनु भन्ने, चिनजानका व्यक्ति भए तत्काल काम बनिहाल्ने जस्ता प्रवृत्ति प्रायः सरकारी कार्यालयमा अझै व्याप्त छ । यसले आम नागरिकलाई सरकारी सेवाप्रति निराश बनाएको छ ।

कुनै समय सरकारी जागिरमा एक किसिमको ‘ग्ल्यामर’ थियो । स्थायी हुने, विभिन्न सेवा–सुविधा पाइने, बढुवा हुँदै माथिल्लो पदमा पुग्ने अवसर समेत मिल्ने भएकाले आकर्षक मानिन्थ्यो । अहिले पनि सरकारी कर्मचारीको माग हुँदा आवेदन धेरै आउँछन् । तर पनि सीप र क्षमता भएका धेरै युवा निजी संस्थातिर लाग्छन् ।

पहिले सरकारी जागिरको तलब र सुविधाले घरपरिवार चलाउन पर्याप्त हुन्थ्यो । तर, पछिल्लो समय महँगी बढेको हिसाबमा तलब–भत्ता बढेको छैन । सामान्य कर्मचारीलाई घर चलाउन धौ–धौ छ । यस्तो अवस्थामा आफूसँगै पढेको साथी विदेशमा महीनाको दुई÷चार लाख कमाउँदै छ भनेको सुन्दा मन कुँडिनु स्वाभाविक छ । यसैले सरकारी जागिरको आकर्षण अब बाँकी रहेन ।

राजनीतिप्रतिको वितृष्णा अझै बढ्दो छ । संघर्ष गरेर ल्याएको ‘परिवर्तन’ मा पनि विगतकै अवशेषको थुप्रो देख्दा जनताको मनोभाव थकित र गलित छ । जनताले सामान्य औषधि समेत पाउँदैनन्, नेतालाई भने सिङ्गापुर, थाइल्याण्ड र अमेरिका गएर उपचार गराउन कुनै नौलो कुरो छैन ।

नेताको उपचार हुनुहुँदैन भन्ने मान्यता कदापि होइन । तर, जनता ज्वरो र पखालाले नै मर्ने स्थिति कहिले टुङ्गिने र सबैको राम्रो उपचार हुने गरी देशकै स्वास्थ्य क्षेत्र कहिले सुधार्ने भन्ने प्रश्न हो ।

तल्लो तहदेखि केन्द्रीय तहसम्म नेता भनेपछि आफूलाई आम मानिसभन्दा माथिको र शक्तिशाली देख्ने प्रवृत्ति छ । यसले ‘जनताका नेता’ भन्दा पनि ‘कार्यकर्ताका नेता’ को सोच र अभ्यास चलिरहेको छ । नातावाद र कृपावादले गर्दा विभिन्न निकाय र ओहोदामा कम दक्ष व्यक्तिहरू पनि पुगेका छन् । यसबाट बौद्धिक वर्ग निराश बन्दै गएको छ ।

ठूलाले गरेको गल्तीमा कहिल्यै उचित दण्ड नहुने, घूसखोरी र भ्रष्टाचारको अन्त्य नहुने र राज्यको स्रोत र सम्पत्तिको सदुपयोग नहुने हो भने आम जनताको निराशा हटिहाल्ने देखिंदैन ।

जनताको दैनिक जीवन
सन् १९३३ मा फ्राङ्कलिन रुजवेल्ट अमेरिकाको राष्ट्रपति बने । उनले इतिहासकै भयानक आर्थिक मन्दी ‘द ग्रेट डिप्रेसन’ को त्यो बेला अब दीर्घकालीन विकासको योजना बनाउनुपर्छ भनी आफ्ना सल्लाहकार ह्यारी हप्किन्सलाई प्रस्ताव राखे । हप्किन्सले जवाफ दिए, “राष्ट्रपतिज्यू, जनतालाई हरेक बिहान–बेलुका खानेकुरा चाहिएको छ, दीर्घकालीन योजना होइन ।”

उक्त उदाहरण नेपालका लागि पनि सान्दर्भिक देखिन्छ । एउटा देशले ठूला महत्वाकांक्षा र योजना बोकेर अगाडि बढ्नुपर्छ, यसमा दुईमत छैन । तर, जनता दैनिक अनुभूति हुने ठोस विकास खोज्छन् । बितेको दशकमा देशमा विकास नभएको पक्कै होइन । १० वर्षअघि भन्दा अहिले धेरै जनता शिक्षा र सञ्चार–प्रविधिसँग जोडिएका छन् । सडक देशका कुनाकाप्चासम्म पुग्ने क्रम जारी छ ।

लोडसेडिङको समस्या हटेको छ, नयाँ जलविद्युत् आयोजनाहरू बनिरहेका छन् । ब्यांक तथा वित्तीय सेवा विकेन्द्रीकृत हुँदै देशभर पुगेको छ । नेपालीको औसत आयु बढेको छ भने प्रतिव्यक्ति आयमा पनि वृद्धि भएको छ । तर, यस्ता अधिकांश प्रगतिले जनताको दैनिक जीवनमा प्रत्याभूति गर्ने परिवर्तन दिन सकेको छैन ।

जस्तो कि, वित्तीय क्षेत्रको जतिसुकै विकास भए पनि ब्यांकसँग कारोबार गर्ने क्षमता नै नभएको गरीब वर्गले त्यसबाट लाभ लिन सक्दैनन् । साँझ्–बिहान हातमुख जोर्न धौ–धौको अवस्था रहिरहँदा यो वर्गलाई देशका ‘म्याक्रो’ तहका विकासले केही फरक पार्दैन ।

देश विकासको सपना देख्नु र देखाइनु पनि पर्छ । तर, त्योसँगै काम पनि हुनुपर्छ । काठमाडौं–तराई जोड्ने ‘फास्ट ट्रयाक’ (द्रुत मार्ग) बन्दैछ भन्ने कुराले जनता खुशी त हुन्छन्, तर दिनहुँ हिंड्ने बाटोको धूलो र खाल्डाखुल्डीको समस्याले उनीहरू सधैं रुनुपरेको हुन्छ ।

सिंचाइ योजना गाउँगाउँसम्म पुग्दैछ रे भनेर आशावादी त बन्लान्, तर किसानले कृषि कर्ममा अनेक अभाव खेप्दै उत्पादन गरेको अनाज र तरकारीले राम्रो मूल्य नपाएर पिरोलिनुपरेको छ । अर्कातिर, आफ्नै गाउँलेले रु.१५ मा बेचेको साग शहरमा रु.८० मा किन्नुपरेको पीडा पनि छ । दैनिक जीवनमा आइपर्ने यी समस्या रहुन्जेल विकासका ठूला नाराले जनतामा उत्साह ल्याउन सक्दैन ।

मध्यम वर्ग र नेपाली समाज
अमेरिकी उद्यमी तथा लेखक रोबर्ट कियोसाकीले आफ्नो पुस्तक ‘रिच ड्याड पुअर ड्याड’ मा लेखेका छन्, “सौखिन चिजहरू धनी वर्गले भन्दा मध्यम वर्गले पहिले खरीद गर्छन्, किनकि उनीहरू धनी देखिन चाहन्छन् ।” नेपाली समाजमा मध्यम वर्गीय जनसंख्या बढ्दो छ ।

यो वर्गलाई कियोसाकीले भने जस्तै एकातर्फ अरूभन्दा धनी कसरी देखिने भन्ने चिन्ता छ, अर्कोतर्फ पारिवारिक जीवनस्तरको वृद्धिलाई कसरी कायम राख्ने र अझै माथि पुर्‍याउने भन्ने चिन्ता छ । सामाजिक एवम् आर्थिक दृष्टिकोणबाट हेर्दा निराशा र पलायनवादी सोचको जड नै यही हो ।

एउटा परिवार जब गरीबबाट मध्यम वर्गमा उक्लन्छ, तब ऊ मीठो–मसिनो खाने, शिक्षा र स्वास्थ्यको गुणस्तर, सुविधाका कुरा लगायत बुझदै गएर झ्नै विलासी जीवनशैलीतिर मोहित हुँदै जान्छ ।

यो वर्गले छोराछोरीले कस्तो पढ्दैछ भन्दा पनि महँगो बोर्डिङमा पढ्दैछ भन्न पाउनुमा खुशी मान्छ, कुन ठाउँ कसरी पुगियो भन्दा पनि, ट्याक्सी वा कार चढेर पुगियो भन्ने कुरामा गर्व गर्छ र कसको विवाह कति रमाइलो भयो भन्दा पनि आफूले कस्तो गहना कति लगाइयो भन्ने कुरामा धेरै ध्यान दिन्छ । यसैले उनीहरूलाई कसरी घर, गाडी, गरगहना जोडौं भन्ने कुराले डोर्‍याइरहेको हुन्छ । फलस्वरूप आफूभन्दा अर्काको पारिवारिक स्थिति उच्च देख्दा स्वाभाविक रूपमा आफ्नो अवस्थाप्रति निराश हुने गर्छन् ।

नेपाली मध्यमवर्गीय समाजले पलायनवादी सोचलाई पनि बढावा दिएको छ । छोराछोरी अमेरिका, जापान, बेलायत लगायत विकसित देशमा छ भन्न पाउनुलाई निकै गर्वको विषय मानिन्छ । बाहिर उनीहरूको स्थिति के छ, के काम गर्छन्, सामाजिक रूपमा कत्तिको घुलमिल भएर बस्न पाएका छन् भन्ने कुरा विषय बन्दैन ।

छोराछोरी बस्ने देशको नामले नै यता परिवारको प्रोफाइल बढाइदिएको हुन्छ । यसले गर्दा नेपालमा आफ्नो सामाजिक मान पनि बढ्ने, विदेशमै तुलनात्मक रूपमा तनावरहित जीवन बिताउन पाइने भन्दै धेरै नेपाली पीआर र ग्रीनकार्डको खोजीमा लाग्छन् । राम्रो देशमा गएका परिवारलाई हेर्दै आफूहरू पिछडिएको महसूस गरेर निराश हुने जमात पनि कम छैन ।

देशमा हामीले आश गर्दागर्दै नभएका कुरा धेरै छन् । युरोप बस्ने मेरा नातेदारले नेपाल बसाइबारे पोखेको गुनासो झैं हरेक दिन यी समस्या भोग्दै आएकाहरूलाई सधैं यस्तै अवस्था रहने हो कि भनेर निराशा लाग्नु अन्यथा होइन । तर, यति कुरा भन्दै गर्दा फेरि पनि मध्यमवर्गीय समाज भएकैले हुनुपर्छ, हामीले नयाँ पुस्तामा परिवर्तनको भोक र महत्वाकांक्षा जगाउन सकेनौं ।

हामी चोकमा चिया पिउँदा वा गाडीमा यात्रा गर्दा देश बनेन भन्दै हिंड्छौं, तर नयाँ पुस्तालाई देश बनाउने नेता बन्छु भनेर सोच्ने वातावरण नै नदिई डाक्टर र इञ्जिनियर नै बन्न भन्छौं । राजनीतिको कुरै गरेमा पनि यो त फोहोरी खेल हो, टाढै बस भनेर पन्छाउँछौं । हामी युवा वर्ग रोजगारीका लागि विदेश पलायन हुँदैछन् भन्दै खिन्न मान्छौं, तर नयाँ पुस्तालाई उद्यमी बनेर रोजगारी सिर्जना गर्ने सपना देख्न दिंदैनौं । बरु देशमा धेरै चुनौती रहेको भन्दै विदेशिन नै हौस्याउँछौं ।

युवा खर्बपति तथा फेसबुकका संस्थापक मार्क जुकरवर्गले भनेका छन्, “चुनौती लिन नसक्नु नै आजको विकासको सबैभन्दा ठूलो चुनौती हुनेछ ।” हामीले नयाँ पुस्तालाई चुनौती लिनुहुँदैन भन्ने अप्रत्यक्ष सन्देश दिंदै गर्दा कतै हामीले चाहेको विकसित समाज झनै टाढा धकेलिएको त छैन ?

प्रतिकृया दिनुहोस