शहीद स्मारक ए डिभिजन लिग- च्यासलको पहिलो जित
शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत बिहीवार भएको तेस्रो चरणको पहिलो खेलमा च्यासल युथ क्लबले न्यूरोड टिम (एनआरटी)लाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा भएको प्रतिस्पर्धामा च्यासलले एनआरटीलाई ५-१ गोलअन्तरले पराजित गर्यो। यसअघि एक खेलमा हार र एकमा बराबरी खेलेको थियो। च्यासलले पहिलो खेलमा मछिन्द्र क्लबलाई गोलरहित बराबरीमा रोकेको थियो भने आर्मीसँग १-० गोलअन्तरले पराजित भएको थियो।
च्यासलको जितमा अमिर श्रेष्ठ र विमल घर्तीमगरले २-२ गोल गरे भने सन्तोष साहुखलले एक गोल थपे। अमिरले पहिलो हाफको १४ औं मिनटमा पहिलो गोल गर्दै खाता खोले।
यस्तै, पहिलो हाफको २९ औं मिनटमा व्यक्तिगत दोस्रो गोल गर्दै च्यासलको अग्रता दोब्बर बनाए। खेलको पहिलो हाफसम्म २-० ले अगाडि रहेको च्यासलले दोस्रो हाफमा तीन गोल थप्यो। खेलको ५६ औं मिनटमा विमलले गोल गर्दै च्यासलको अग्रता तेब्बर बनाए भने अर्का खेलाडी सन्तोषले खेलको ६३ औं मिनटमा एक गोल थपे। यसैगरी, विमलले खेलको ८६ औं मिनटमा व्यक्तिगत दोस्रो गोल गरे। एनआरटीका लागि विदेशी खेलाडी मोसुद अग्बोलाले दोस्रो हाफको अतिरिक्त समयमा एक सान्त्वना गोल फर्काए।
च्यासलका विमलको यो नै लिगको अन्तिम खेल हो। उनी ‘ट्रायल’का लागि बेल्जियम जाने भएपछि ‘ए’ डिभिजन लिगका बाँकी खेल नखेल्ने भएका छन्। क्लबले बेल्जियम जाने भएपछि उनको सम्झौता फुकुवा गरेको छ। यसअघि पनि विमलले बेल्जियमको आरएससी एण्डरलेच्टबाट पनि खेलेका थिए भने स्पेनको मार्वेला युनाइटेडमा ट्रायल दिएका थिए।
यस जितसँगै च्यासलले अंक तालिकामा चार अंक जोडेको छ भने एनआरटीको एक अंक छ। आजै हुने दोस्रो खेलमा थ्रीस्टार र मनाङमर्स्याङ्दी क्लब आमनेसामने हुँदैछन्।