छठ पर्वको समापन, जातीय विभेदको गुनासो
समानताको पर्वको रुपमा चिनिएको छठ पर्वमा बारामा भने विभेद गरिएको आरोप लागेको छ ।
बाराका विभिन्न स्थानमा दलितहरुलाई अन्यले आफूसँगै पूजा–आराधना गर्न नदिएपछि त्यहाँका दलितहरुले बेग्लै पूजास्थल बनाएर पूजा गरेका छन् ।
कलैया, सिमरा, डुम्मरवाना, जितपुर, आसपासका क्षेत्रहरुमा चौधरी, साह, क्षेत्री, ब्राम्हण, कोईरी तेली, सोनार, रोनियार कानू, लगायतले एकै ठाउँमा छठ गरेको तर पासवान, डोम, मल्लिक, मुसहर, माझी, चमार, राम लगायतका दलित जातिहरुले छुट्टै मण्डप खडागरी छठ पूजा गरेको स्थानीय बिदुर खडकाले जानकारी दिए ।
जातीय विभेद गैरकानूनी भएपनि बाराका गैरदलितहरुका कारण आफूहरुले छुट्टै छठघाट बनाएर पूजा गर्नु परेको स्थानीय राजकुमार रामले बताए ।
“विगतका वर्षहरुमा जस्तै हामीले यसपाली पनि छुट्टै छठघाट बनाएर पर्व मनायौं,” उनले भने, “एउटै पोखरीमा पनि हामीलाइै सँगै बस्न दिईदैन, हामी छुट्टै छठघाट बनाएर पूजा गर्छौ ।”
पर्वको मौलिकता र कानून विपरितको कार्य भएकोले यसलाई निस्तेज गर्नुपर्ने एमाले बारा अध्यक्ष सुन्दर बिश्वकर्माले बताए ।
“छुवाछुत र जातीय विभेद उन्मुलन घोषणा र भाषणमा मात्र सिमित छ । व्यवहारमा आउन सकेको छैन्,” जातिय मुक्ति समाजका उपाध्यक्ष समेत रहेका विश्वकर्माले भने ।
उदाउँदो सूर्यलाई अर्घ दिइ छठ समापन
आज विहान उदाउँदो सूर्यलाई अर्घ दिइ छठ पर्वको समापन भएको छ ।
मूल विधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा छ ।
व्रतालुले विभिन्न सरोवर, नदी लगायतका जलाशयमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाइ अक्षता, फूल लिई आफ्नो खेतबारीमा उत्पादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ अर्पण गरेका थिए ।
अर्घमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन छ ।
सूर्यलाई दिइने अर्घमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ ।
छठपर्व महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो ।
अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो ।
ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी व्रतालुले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ ।
सुरेश बिडारी, वीरगञ्ज